पाँचथर — कलाकार विपिन कार्की र मिरुना मगरको अनस्क्रिन जोडी रहेको फिल्म ‘ऊनको स्विटर’ को छायांकन पुनः थालिएको छ । दोस्रो चरणको छायांकनका लागि फिल्म टोली सोमबार नै पाँचथरको फालेलुङ पुगेको हो ।
यस फिल्मको पहिलो चरणको छायांकन पनि पाँचथरकै नवमीडाँडा, सुकेपोखरी, पौवाभन्ज्याङ, साधुटार, निबुखोला र लब्रेकुटीमा गरिएको थियो । अभिनेता कार्कीलाई मातृशोक परेपछि रोकिएको फिल्मको छायांकन पुनः थालिएको हो ।
आर्टमान्डु नेपालको प्रस्तुति रहने यस फिल्मलाई नवीन चौहानले निर्देशन गर्न लागेका हुन् । चौहानकै पटकथा लेखन रहेको यस फिल्मको छायांकनका लागि सोमबार विपिन र मिरुनासहित ४२ जना कलाकार, प्राविधिकको टोली फालेलुङ आइपुगेको हो ।
यसअघि नै ७५ प्रतिशत छायांकन सकिएकामा बाँकी दृश्य खिच्नका लागि नेपाल र भारतको सीमावर्ती फालेलुङ–४ चाररातेलगायतका स्थान रोजिएको हो । कलाकारहरूको उक्त टोली एक सातासम्म चाररातेमा रहने निर्माण पक्षले जनायो ।
चारराते फालेलुङ गाउँपालिकामा पर्ने जिल्लाकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । फिल्म छायांकनका लागि पुगेको उक्त टिमलाई फालेलुङ–५ को वडा कार्यालयसहित स्थानीय संघसंस्थाले स्वागत गरेका थिए ।
