काठमाडौँ — नेपालका विभिन्न कलेजको शैक्षिक गुणस्तर, त्यहाँको वातावरण, अतिरिक्त क्रियाकलाप लगायतका विषयमा दर्शकलाई जानकारी दिँदै आएको ‘भीम्याग’ टिम यस पटक काठमाडौं बाहिर विराटनगरमा सञ्चालित विराटनगर इन्टरनेसनल कलेजमा पुगेको छ । जुन कलेज यूके युनिभर्सिटीबाट सम्बन्धन प्राप्त विराटनगरको पहिलो कलेज पनि हो ।
हाल अन्तर्राष्ट्रियस्तरको बिजनेस कोर्स ‘बीआईबीएम’ पढाइरहेको उक्त कलेजले विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको उपलब्धिका कारण यसै शैक्षिक सत्रदेखि नै आईटी र कम्प्युटर साइन्सका कोर्स पनि सुरु गर्न लागेको छ । यसबारेमा जानकारी दिँदै कलेजका ‘कोर्स लिडर’ विराज दुलालले उक्त कोर्सहरू यूकेको युनिभर्सिटी अफ उल्भरह्याम्प्टनसँगको सहकार्यमा पढाइने बताए ।
‘यस कलेजबाट अध्ययन सकेर जाने विद्यार्थीमा किताबी ज्ञान मात्रै नहोस्, सँगसँगै नेतृत्वदायी भूमिकामा पनि निपुण होस्, सहकार्यको भावना जागृत होस् र कलेजमा हुने रमाइलो वातावरणको पनि सम्झना सधैं रहोस् भन्नेमा बढी ध्यान दिने गरेका छौं,’ कलेजका एकेडेमिक अफिसर चिफ सचितमान श्रेष्ठले भने, ‘त्यसका लागि शैक्षिक आदानप्रदानका लागि कलेजले बर्सेनि विश्वका कलेजको भ्रमणसमेत गराउँदै आएको छ ।’
भीम्यागले ‘कलेज टु वाच’ को यस संस्करणमा बीआईटी कलेजमा सञ्चालित टेक फेस्टिभलमा विद्यार्थीले तयार पारेका रोबोटदेखि विभिन्न प्रविधिसम्बन्धी खोज सामग्रीका बारेमा पनि जानकारी दिएको छ ।
