करिअर बनाउन फिल्म अध्ययन

‘पढ्न नसके कलाकार’ वा ‘रंगमञ्च/फिल्मलाई नौटंकी पेसा’ ठान्ने नेपाली समाज पछिल्लो समय केही उदार हुादै गइरहेको छ भने यसलाई करिअर बनाउने सोचले पछिल्लो पुस्तामा फिल्मसम्बन्धी अध्ययन गर्ने लहर पनि बढ्दो छ, तिनैमध्येका हुन्, किरण, ईशा र सरिक

कार्तिक ३, २०८१

सुजाता मुखिया

Study film to make a career

काठमाडौँ — भविष्यमा के बन्छौं भन्दा स्कुले जीवनमा धेरैजसोको जवाफ हुन्छ, ‘डाक्टर, इन्जिनियर वा बैंकर बन्छु ।’ विद्यार्थी कालमा फिल्मकर्मी वा कलाकार बन्ने अधिकांशको सोच नै हुँदैन । हाम्रो समाज नै फिल्म मेकिङमा भविष्य छ भन्ने ठान्दैन ।

अझ कतिपय त यो पेसामा लाग्नुलाई गतिलो मान्दैनन् । त्यसैले पनि फिल्म क्षेत्रमा रुचि राख्ने र यसैमा करिअरको सपना देख्नेहरू खुलेर भन्न सक्दैनन् । 

धनगढीमा जन्मी हुर्केकी किरण शाहीको पनि सानैदेखि अभिनयमा रुची थियो । तर खुलेर कसैलाई आफ्नो रुचिको विषयबारे बताउन सकिनन् । ‘किनभने म भविष्यमा एक्टर बन्छुभन्दा खिसी गर्ने पो हुन् कि भनी डर लाग्थ्यो,’ उनी भन्छिन् । तर पनि किरणले आफ्नो लक्ष्य छोडिनन् । बरु, काठमाडौं आएर फिल्मसम्बन्धी पढाइ हुने अस्कर कलेजमा भर्ना भइन् । उनी अहिले यहाँ अभिनयसम्बन्धी कोर्स गरिरहेकी छन् ।

इशा सिंजालीलाई फिल्मप्रति खास लगाव थियो । सोच्थिन्, ‘भविष्यमा म पनि कलाकार बन्छु ।’ तर उनको यो चाहनालाई बुबाले ठाडै अस्वीकार गरिदिए । ‘कलाकार बन्नु राम्रो हैन’ भन्दै बुबाले उनलाई अरु नै क्षेत्र रोज्न सुझाए । यद्यपि इशाले आफ्नो कलाकार बन्ने अठोट छोडिनन् । उनी पनि यतिबेला अभिनयसम्बन्धी कोर्स गरिरहेकी छन् । सरिक विश्वकर्माको हकमा भने किरण र इशाको जस्तो अप्ठ्यारो परेन । उनलाई बुवाले नै फिल्मप्रतिको मोह जगाइदिए । त्यसबेला सीडी प्लेयर घरमा ल्याएर फिल्म हेर्ने चलन खुब थियो । बुबाले सीडीमा फिल्महरू ल्याउँथे । ‘फिल्म हेर्न असाध्यै मनपर्ने तर फिल्म कसरी बन्छ वा कसरी अभिनय गर्ने भन्नेमा चासो थिएन,’ सरिक सुनाउँछन्, ‘काठमाडौं आएपछि मण्डला थिएटरमा नाटक सिकें । नाटक सिकिरहँदा यहीँ विषय नै पढ्न पाए हुन्थ्योजस्तो लागिरह्यो ।’ नेपालमै फिल्म कलेज छ भन्ने थाहा पाएपछि भर्ना भए । 

‘त्यहीँ कलेज पढ्दा साथीहरूसँग मिलेर प्रोडक्सन हाउस पनि खोल्यौं,’ सरिकले थपे, ‘किनभने आफ्नो अवसर आफैं सिर्जना गर्नुपर्छ भन्ने लाग्यो ।’ कलाकारितामा औधि रुचि भए पनि किरणलाई यसमा दुई कुराप्रति सन्देह थियो । एक त, कलाकार बन्न चिटिक्क मिलेको रूपरंग हुनुपर्छ जुन आफूमा छैन भन्ने पीर । दोस्रो, नेपालमा फिल्मसम्बन्धी औपचारिक पढाइ हुने वा तालिम लिने ठाउँ छैन भन्ने लाग्थ्यो । तर, एक दिन दाइले उनको त्यो सन्देह मेटाइदिँदै भने, ‘नेपालमा फिल्म कलेज छ, त्यही पढ ।’

‘हाम्रो समाज अलि रुढिवादीजस्तो लाग्छ, त्यसमाथि आफू झन् छोरी मान्छे,’ सुदूरपश्चिमकी किरण सुनाउँछिन्, ‘त्यही समाजमा हुर्किएकाले मेरै पनि फरक सोच र दृष्टिकोण थियो । पछि फिल्म पढ्न थालेपछि त्यो बुझाइ र सोचाइमा परिवर्तन आयो ।’ सिनेमा पढ्न थालेपछि उनले अरूको ‘स्पेस’ लाई सम्मान गर्ने, अरुलाई असर नपुग्ने काम गर्ने, उदार भएर सोच्ने र हरेक कुरालाई सामान्यीकरण गर्न सिकिन् । फिल्मसम्बन्धी कोर्स गरिरहँदा अभिनय, फिल्मनिर्माण प्रक्रिया, निर्देशन, ध्वनि, प्रकाश आदि मात्र बुझिँदैन । इशा भन्छिन्, ‘समाज र जीवनको आयमलाई पनि फरक ढंगबाट बुझ्ने मौका मिल्छ । फिल्म हेरिरहँदा हामीले कलाकारहरूलाई मात्र देख्छौं वा हेर्छौं । तर जीवनलाई हेर्ने नजर पनि फरक हुँदो रहेछ ।’ 

Study film to make a career

फिल्म बुझ्नका लागि सबैभन्दा पहिले समाज बुझ्न जरुरी हुन्छ । ‘फिल्म पढ्दा मैले समाजलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा सिकें,’ सरिक भन्छन्, ‘पहिले मलाई कुनै पनि पात्रलाई आफ्नो मनोमानी ढंगले प्रयोग वा प्रस्तुत गर्दा हुन्छ भन्ने लाग्थ्यो, जुन गलत रहेछ ।’ फिल्ममा दुई–अढाइ घण्टाको कथा भनिरहँदा त्यहाँ पात्रहरू हुन्छन्, तिनले कुनै न कुनै समाजको प्रतिनिधित्व गरिरहेका हुन्छन् । तिनका थर, लिंग, धर्म र पृष्ठभूमि हुन्छन् । ‘अब ती पात्रको कथा भनिरहँदा त्यहाँ भित्रको समाजलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा बुझुन्पर्ने रहेछ,’ सरिक थप्छन् । 

फिल्म कोर्स गरिरहँदा सरिकलाई शिक्षकहरूले सयवटा फिल्मको सूची दिएका थिए । फिल्म कसरी बनाउने भन्दा पनि कसरी हेर्ने भन्ने कुरा महत्त्वपूर्ण रहेछ । पछिल्लो समय नेपाली फिल्ममाथि जसरी बहस हुन थालेको छ, त्यो सकारात्मक ठान्छन्, यसैमा अध्ययनरतहरू । फिल्मलाई अनेक कोणबाट व्याख्या र विमर्श गर्न सकिन्छ । यद्यपि फिल्म भनेको यस्तै हुनुपर्छ, यसरी नै बनाउनुपर्छ भन्ने एउटै सर्वमान्य सूत्र भने हुँदैन । किरण भन्छिन्, ‘फिल्मको आफ्नै सौन्दर्य हुन्छ, जसलाई मेकरले आफ्नो ढंगले प्रस्तुत गर्न पाउनुपर्छ ।’

इशालाई अझै पनि नेपाली फिल्म बलिउडको ह्याङओभरबाट मुक्त हुन नसकेको लाग्छ । ‘हामी नेपालीपन बोकेको फिल्म बनाउनुपर्छ भनेर बहस त गर्छौं तर बलिउडलाई पछ्याउन पनि छाड्दैनौं,’ उनी भन्छिन्, ‘बलिउडले जे गर्छ, त्यसैको सिको गरिरहेका छौं । वास्तवमै हामीलाई थाहा पनि छैन कि नेपालीपन भनेको के हो ?’ नेपाली एक्सन फिल्म हेर्दा त्यो नेपाली हो वा बलिउड हो भनी द्विविधा हुने उनी बताउँछिन् । नेपाली फिल्ममा कहीँकतै बलिउडको प्रभाव देखिनु त्यती अनौठो ठान्दिनन्, किरण । ‘हाम्रो फिल्मको सुरुवात नै बलिउडसँग निकट रहेर भयो । सुरुवातमा अधिकांश कलाकार, प्राविधिक, प्रविधि सबै उतैका राखेर नेपाली फिल्म बन्थे,’ उनी थप्छिन्, ‘अब हाम्रो फिल्मले बलिउडको नक्कल गर्ने भन्दा पनि आफ्नोपन खोज्नुपर्छ, अनि मात्र विश्वमाझ हाम्रो फिल्म पुग्नेछ ।’ 

अन्तर्राष्ट्रिय दर्शकमाझ हाम्रा फिल्म र कन्टेन्ट पृथक र रोचक विषय हुन सक्छन् । चाहे त्यो हाम्रो वास्तुकला होस् वा रहनसहन । तुलनात्मक रूपमा पछिल्लो समय भने नेपाली फिल्मको स्तर बढेको छ । व्यावसायिक आँकडाको हिसाबले होस् वा उपलब्धिकै हिसाबले, केही आशा लाग्दा नतिजा प्राप्त भएका छन् । विश्व बजार बनाउनेदेखि विश्व प्रतिष्ठित महोत्सवहरूमा प्रतिस्पर्धा गर्नेसम्मका काम भएका छन् । किरणको निचोड छ, ‘क्रमशः राम्रो हुँदै गएको छ । तर, जुन गतिमा हुनुपर्ने त्यो भने अझै भएको छैन ।’

सुजाता मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully