महिला कलाकारलाई अहिले पनि सहायक भूमिकामा मात्र सीमित गर्ने गरिएको तीतो यथार्थ सुनाउँदै केकी त्यसको असर पुरुष र महिला कलाकारबीचको असमान पारिश्रमिकमा देखिरहेको ठान्छिन्, बौद्धिक नायिकाका रूपमा पनि चिनिने उनी अचेल यही विभेदविरुद्ध आवाज उठाउन थालेको बताउँछिन्
काठमाडौँ — ‘हिरोइनको अनुहारले फिल्म चल्दैन’ भन्नेहरूका लागि गतिलो जवाफ बनिन्, केकी अधिकारी । उनको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’ ले बक्स अफिस मात्रै चलायमान बनाएन, अनपेक्षित दर्शकलाई हलसम्म डोर्यायो । राति अबेरसम्मका शोमा परिवारसहित फिल्म हेर्न आउने दर्शकको ओइरो देखेर हलवालासमेत छक्क परे । बालबालिकादेखि बूढी आमै, महिला दिदीबहिनीहरूको यस्तो समूहले फिल्म हेर्न पाइला टेक्यो, जुन समूहलाई अन्य फिल्मका लागि हल आएको विरलै देख्न पाइन्छ ।
केकी आफैंलाई पनि दर्शकको विविधता देख्दा अचम्म लाग्यो । हलका कर्मचारीसमेत दंग पर्दै केकीलाई फोन गर्थे । उनीहरूले पनि यस किसिमले फिल्म चल्छ भन्ने सोचेकै थिएनन् । गाउँ–गाउँबाट ट्रक रिजर्भ गरेर महिलाहरूको समूह हलसम्म आइपुग्थे । दर्शकका रूपमा ९० प्रतिशत महिलाको उपस्थिति देख्दा केकी आफैंलाई पनि विश्वास लागिरहेको थिएन । आमाहरू हल आएपछि छोराछोरीदेखि परिवारका अन्य सदस्य पनि हल प्रवेश गरेकाले ‘बोक्सीको घर’ ले ५१ दिन मनाएको केकी सुनाउँछिन् ।
‘एक किसिमको चहलपहल देखाउन वितरक टिमले पो हल बुक गरेका हुन् कि भनेर सोचेको थिएँ । फेरि वितरकहरूले चाहिँ हामीले त्यस्तो गर्यौं भन्ठान्नुभएको रहेछ,’ केकीले भनिन्, ‘तर, त्यो त अर्गानिक दर्शकको साथ पो रहेछ । यो खालको विषयगत फिल्म हेर्न पनि दर्शक आउनु हुँदोरहेछ भन्ने कुराले एक किसिमको नौलो ऊर्जा मिल्यो ।’ फिल्मले उठाएको विषयवस्तु, दर्शकले खोजिरहेको नयाँ स्वाद, प्रदर्शनको समय थुप्रै कारणले ‘बोक्सीको घर’ चलेको केकीको विश्लेषण छ ।
बक्स अफिसकै सवालमा सुरुवातमा फिल्म बिक्री गर्नकै लागि ‘बोक्सीको घर’ ले पनि केही समस्या खेपेको थियो । वितरकदेखि प्रदर्शकसम्मले पनि सुरुवातमा सोधेको एउटै प्रश्न थियो, ‘फिल्ममा को छ त खोइ ?’ फिल्म चलाउन उनीहरूले ‘हिरो’ खोजिरहेका थिए । निर्मातासमेत रहेकी केकी फिल्मको विषयवस्तुकै कारण महिलाप्रधान यो फिल्मले बक्स अफिसमा बलियो उपस्थिति जनाएको मान्छिन् ।
‘फिल्मको लेखाइ नै बलियो नभइदिएको भए, त्यस किसिमको चरित्र नमागिदिएको भए मैले मात्र जबर्जस्ती हिरोइनको अनुहारले फिल्म बिक्दैन भन्ने भाष्यलाई गलत प्रमाणित गर्छु भनेर अगाडि बढेको भए त्यो कुरा त्यति सही हुँदैन थियो होला,’ उनले भनिन्, ‘एउटा फिल्म चल्यो भन्दैमा मैले प्रमाणित गरिदिएँ भन्नु गलत हो । त्यस्तो भन्ने अधिकार त लगातार हिट फिल्म दिइरहेका निर्देशक, फिल्मकर्मीसँग हुन्छ ।’
नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीहरूले विगतदेखि नै भोगिरहेको एउटा विभेद पारिश्रमिकको हो । यो तीतो यथार्थको चपेटामा आफ्ना समकालीन पनि परिरहेको देख्छिन् केकी । ‘महिला चरित्रलाई गहिराइसम्म पुगेर नलेखिदिँदा पनि काम गर्नुपर्ने हाम्रो बाध्यता छ,’ केकी भन्छिन्, ‘महिला र पुरुष कलाकारमा हुने पारिश्रमिकको विभेदमाथि पनि हामी धेरै बोल्न सकिरहेका हुँदैनौं । ती फिल्ममा प्रमुख पात्र पुरुष हुन्छन्, तिनकै वरपर फिल्म घुमेको हुन्छ । फिल्ममा धेरै समय पनि तिनै चरित्रलाई दिइएको हुन्छ । त्यस्तोमा हामीले चित्त बुझाउनुबाहेक केही गर्न सक्दैनौं । कमसेकम काम पाइएको छ भन्ने हुन्छ ।’
महिलाप्रधान फिल्महरू बन्दै गए पारिश्रमिकमा हुने विभेदमाथि अभिनेत्रीहरूले आवाज उठाउन ठाउँ मिल्ने पनि उनको बुझाइ छ । लेखकले धेरैभन्दा धेरै महिलाप्रधान फिल्म लेखिदिए, ती फिल्ममा महिला कलाकारले थोरै पारिश्रमिकमा चित्त बुझाउनुपर्ने ठाउँ रहन्न । महिलालाई सामाजिक संरचनाले सधैं घरेलु गतिविधिमै अड्काइरहेको हुँदा पारिश्रमिकमा हुने असमानता पहिल्यैदेखि फिल्म क्षेत्रमा देखिँदै आएको उनको तर्क छ ।
महिलाका लागि घरभन्दा बाहिरको कामलाई ‘रहर’ का रूपमा हेरिदिए । पुरुषहरूका लागि भने कमाउनैपर्छ भन्ने भारी समाजले लादिदियो । जसको असर पारिश्रमिकमा पनि देखिँदै आएको उनी बताउँछिन् । ‘फिल्ममा अभिनेत्रीहरूको उपस्थिति पनि त्यति बलियो हुँदैन, जसका आधारमा उनीहरूले पारिश्रमिकका बारेमा आवाज उठाउन सकुन् । अभिनेत्रीहरूलाई अहिले पनि सहायक भूमिका दिइने गरिएको छ,’ केकी तीतो पोख्छिन् ।
उनका अनुसार फिल्ममा अभिनेताका लागि सहयोगी पात्रका रूपमा अभिनेत्रीहरू जोडिन्छन् । उक्त पात्रको विकल्पमा अन्य अभिनेत्री पनि हुन्छन्, एउटा नभए अर्को । पुरुष कलाकारकै दाँजोमा त्यस किसिमको विकल्प पनि हुन्न । ‘पारिश्रमिक दिँदा पनि अभिनेताको कुन–कुन फिल्म चल्यो भनेर उनीहरूलाई पारिश्रमिक दिइरहेका हुन्छन् । अभिनेत्रीहरूको त त्यसरी गणना नै हुँदैन । फेरि यो फिल्म महिला कलाकारकै कारण चलेको हो भन्ने आधार पनि हुँदैन,’ केकीले भनिन्, ‘करिअरको सुरुवातमा यसबारे बोल्न सक्ने स्थिति थिएन होला तर अहिले त बोल्नुपर्छ भनेर म बोलिरहेको हुन्छु ।’
फिल्म क्षेत्रलाई महिलाहरूका लागि सुरक्षित र समान व्यवहारको महसुस होस् भन्ने चेतनासहित नै केकीले पहिल्यैदेखि यस विषयमा बोल्दै आएकी छन् । केही समययता अभिनेताले लिने पारिश्रमिकको २५ प्रतिशत पनि नदिँदा आफूले थुप्रै प्रोजेक्ट नकारेको अनुभव उनीसँग छ । उनी यस मुद्दामा पुरुष कलाकारले पनि बोलिदिनुपर्ने धारणा राख्छिन् ।
‘उहाँहरूले पनि कहिलेकाहीँ आफ्ना लागि भन्दा पनि अन्य कलाकारका लागि पनि बोलिदिनुपर्छ भन्ने लाग्छ । तर त्यस्तो साथ उहाँहरूबाट हामीले नपाइरहेको जस्तो लाग्छ,’ बौद्धिक अभिनेत्रीको ट्याग पाएकी केकीले भनिन् । अबको १० वर्षमा केकी पारिश्रमिकमा हुने यस किसिमको विभेद हटेको देख्न चाहन्छिन् । अभिनेताहरूले एउटै फिल्मबाट ५० लाख लिन्छु भनिरहँदा अभिनेत्रीहरू १०–१५ लाखमै अड्किएको केकी सुनाउँछिन् ।
केकी महिलाप्रधान विषयवस्तुकै कथा फिल्ममार्फत भन्नकै लागि पनि यति बेला निर्माणमा जोडिएकी छन् । यसअघि केकीले ‘कोहलपुर एक्सप्रेस’ बनाएकी थिइन् । अर्को त फिल्म क्षेत्रमा लामो दौड गर्न पनि उनी निर्माणमा लागेकी हुन् । आफूले निर्माण गरेको यो फिल्मको व्यावसायिक सफलताले केकीलाई पुलकित बनाएको छ ।
‘बुझिन मैले’ भन्ने गीतकै कारण पनि सुरुवातमा दर्शकलाई हलसम्म तान्न मद्दत मिलेको उनको ठम्याइ छ । ‘फिल्मको कथासार नै यो गीतमा थियो । म बोक्सी, म देवी, म डार्लिङ, म बेबी । यही गीतमा थुप्रै महिलाहरूले आफूलाई पाउनुभयो । कसैका लागि हामी देवी हौं, कसैका लागि बेबी,’ केकीले विश्लेषण गरिन्, ‘यो गीतले महिलाले महसुस गर्दै आएको प्रश्नहरूलाई गीतमा गाइदिएको छ ।’
