सराय नाचेर दसैंको बिदाइ

कार्तिक १, २०८१

वीरेन्द्र केसी

Say goodbye to Dasain by dancing in Sarai

दाङ — सयौं मान्छेको भीडमा टिलिक्क टल्कने खुकुरी, खुँडा, तरबार र अर्को हातमा ढाल वा रातो रुमाल र घाँटीमा जमरा वा मन्दिरको तोरण बाँधेर ‘वाख्खै, हो’ भन्दै बाजाको तालमा नाचिने नाच हो सराय । लुम्बिनी प्रदेशका आठै जिल्लामा नाचिने यो नाचको बेग्लै रौनक छ ।

तरबारसहित लडाइँको अभिनयबाट सुरु भई भट्याउँदै सराय नाचिने गरिन्छ । कोटघर, दुर्गा र देवीका शक्तिपीठमा हतियार जुधाएर सराय नाच्दै, जमरा र फूलपाती खोला एवं पोखरीमा बगाउँदै दसैंलाई बिदाइ गर्ने गरिन्छ । पहाडको सांस्कृतिक नाच पछिल्लो समय भने यो फैलिँदै तराईका केही स्थानमा पनि विस्तार भएको छ । 

अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट सुरु भएको सराय नाच अन्य गाउँ हुँदै पाल्पा, गुल्मी, प्यूठानसम्म पुगेको थियो । पछिल्लो समय पहाडबाट तराईमा बसाइँ सरेकाहरूले त्यहीँ नै कोट, दुर्गा र देवीका मन्दिर स्थापना गरी सराय नाच निकाल्ने गरेका छन् । पहाडका चार रूपन्देही, कपिलवस्तु, दाङ र नवलपरासी जिल्लामा दसैंको भोलिपल्टदेखि पूर्णिमासम्म नै शक्तिपीठका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियार जुधाएर नचाउँदै युद्धको झल्को दिने गरी सराय नाच्ने गरिन्छ ।

अहिले आठ जिल्लाका धेरै शक्तिपीठका मन्दिरमा सराय नाच नाचिने गरेको छ । पहाड र तराईमा बालबालिका, युवादेखि पाका उमेरसम्मका पुरुष र महिला सराय नाच्न रुचाउँछन् । दसैंको टीका लगाउन घरमा आएका मध्ये अधिकांश मन्दिरमा पुगेर दर्शन गरी सराय नाचेर पूर्णिमाको अर्को दिन फर्कने गर्छन् । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजय उत्सवस्वरूप हर्षबढाइँ गर्दै कोट र मन्दिरमा हतियार प्रदर्शन गर्दै सराय नाच्न थालिएको जनविश्वास रहेको छ ।

संस्कृतविद्हरूले सराय नाचको सुरुवात कहिलेबाट सुरु भयो भन्ने ठ्याक्कै उल्लेख गर्न सकेका छैनन् । जानकारहरूका अनुसार टीका लगाउने र त्यसको खुसियालीमा सराय नाच नाचिन्छ । मन्दिरमा विधिपूर्वक पूजा गरेपछि मन्दिरबाट हतियार, आलम, बाजा निकालेर रमाउँदै यो नाच देखाउन थालिन्छ । सराय नाचको सुरुवात अर्घाखाँचीको अर्घा दरबारको भगवती मन्दिरबाट भएको मानिन्छ । बिस्तारै गुल्मी, प्यूठान, पाल्पामा कोतहरूमा दसैंदेखि कोजागत्र पूर्णिमासम्म यो नाच चलिरहन्छ । भगवती मन्दिरमा विधिपूर्वक राखिएको जमरा पूर्णिमाको दिन सराय नाचेर विधिपूर्वक सेलाइने गरेको पुजारी धर्मराज पोखरेलले बताए ।

 अर्घा दरबारमा यस क्षेत्रकै सबैभन्दा ठूलो सराय जात्रा हुन्छ । गाउँमा गाडी नचल्दा गुल्मी, प्यूठान, पाल्पासहित तराईका जिल्लाबाट दुई/तीन दिन पैदल हिँडेरै मन्दिरमा दर्शनार्थी आउने गरेको इतिहास रहेको र सराय नाचको उत्पत्ति नै अर्घा दरबारबाट भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले दाबी गरे । मन्दिरमा यस क्षेत्रको ऐतिहासिक सराय जात्रा नै लाग्छ । यहाँ उत्पत्ति भएर अर्घाखाँचीका विभिन्न कोतघर हुँदै छिमेकी जिल्लामा समेत पुगेको उनले बताए । मध्यकालमा वर्तमान अर्घाखाँची जिल्लाको तत्कालीन अर्घा राज्यमा राजा जिल्ला राईले युद्धमा आफूले अर्घा राज्य जितेको उपलक्ष्यमा विजयको उत्सवको स्वरूप विजया दशमीको कोजाग्रत पूर्णिमाको दिनमा सराय नाच नचाएर दही, केरा र बक्सिस बाँड्न थालेको कथन छ । 

अर्घाखाँचीको खाँची दरबार, मालारानी मन्दिर, राँगामारे मन्दिर, ठाडा, जुकेना, मैदानलगायत असुरकोट, भण्डारथुम, गुल्मीको धुर्कोट, अर्जे, चन्द्रकोट, पीपलधारा, नयाँ गाउँ पुर्कोट दह, प्यूठानको ओखरकोट, बिजुवार, बिजुलीकोट, पाल्पाको रैनादेवी, रम्भादेवी, कुसुमखोला, माथागढीलगायतका थुप्रै ठाउँमा नाचिन्छ । रोल्पाको पूर्वी क्षेत्र गजुल र खुंग्री, दाङको लमही, भालुवाङ, सिसहनियामा सराय नाच नाचिन्छ । 

सराय नाच्ने ठाउँमा आर्थिक कारोबार पनि हुने गर्छ । सरायमा नाच्ने ठाउँमा विशेष गरी जेरी व्यापक रूपमा पकाइन्छ । तरकारी पुरीलगायत थरीथरीका परिकार, लत्ताकपडासहित मीठामीठा खानेकुराका पसल व्यवसायीले राखेका हुन्छन् । 

लुम्बिनी प्रदेशमा विस्तार भएको सराय नाचको ऐतिहासिक महत्त्व रहेकाले प्रदेश सरकारले यसलाई संरक्षण गर्न लागिपरेको लुम्बिनीका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए । उनले सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेका स्थललाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिने बताए । सराय नाच नै धार्मिक र संस्कृति भएकाले टाढा–टाढाबाट पर्यटक हेर्न आउने गर्छन् । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully