काठमाडौँ — हाम्रो रैथाने व्यञ्जन नेपाली भूगोलमा मात्र सीमित छैन । विश्वको ‘फुड मेनु’ मा नयाँ–नयाँ नेपाली व्यञ्जन समावेश भइरहेका छन् । चाहे त्यो थकाली खाना होस् वा गुन्द्रुक सिन्की नै । पिरो, अमिलो, नुनिलो, टर्रो स्वाद बोकेका नेपाली खानाले विश्वका खाना पारखीलाई लोभ्याउँदैछ ।
जहाँ–जहाँ नेपाली पुगेका छन्, त्यहाँ–त्यहाँ नेपाली स्वाद पनि फैलिएका छन् । नेपाली खानाको विस्तारमा ‘फुड भ्लगर’ हरूको योगदान कम छैन ।
प्रविधिको विस्तारसँगै ‘फुड भ्लगिङ’प्रतिको आकर्षण बढ्दो छ । र, यसले एक ठाउँको परिकारलाई अर्को समुदाय वा भूगोलसम्म फैलाउन खास सहयोग गरेको छ । ग्लोबल कलेजमा पर्यटन विषय अध्ययनरत सुधा शाक्य भन्छिन्, ‘नेपाली खाना विश्वमा फैलाउन फुड भ्लगरको महत्त्वपूर्ण योगदान छ । केही समयअघि मात्र अमेरिकी प्रख्यात फुड भ्लगर नेपाल आएका थिए । उनले केही हदसम्म नेपाली परिकारलाई विश्वसामु परिचित गराए ।’ विदेशका ‘कन्टेन्ट क्रिएटर’हरू सामजिक सञ्जालमार्फत नेपाली खानाप्रति आकर्षित भइरहेका छन् । नेपाली खानालाई प्रवर्द्धन गर्न सकियो भने विश्वमा फैलाउन सकिने उनीहरूको बुझाइ छ ।
नेपालको ‘स्ट्रिट फुड’हरू पनि विश्वमा फैलँदै गएको बताउँछिन्, रोशिका शाक्य । नेपाल एकेडेमी अफ टुरिज्म एन्ड म्यानेजमेन्ट (नाथम) मा होटल म्यानेजमेन्ट अध्ययन गरिरहेकी उनी भन्छिन्, ‘पछिल्लो समय सामजिक सञ्जालमा चुकौनीको रेसिपी एकदमै ट्रेन्डमा छ । कन्टेन्ट क्रिएटरहरूले नेपालको चुकौनी कसरी बनाउने भन्दै भिडियोहरू पोस्ट गर्छन् । नेपाली रेसिपी देख्दा एकदमै खुसी लाग्छ ।’ विदेशमा नेपाली रेस्टुरेन्टहरू धेरै खुलेका कारण विस्तारै नेपाली खाना विश्वमा विस्तार हुँदै जाने उनको बुझाइ छ । सेफ सन्तोष साहकै कारण नेपाली परिकार विश्वमा चिनिन थालेको उनी बताउँछिन् ।
रोशिकाको कुरामा सहमत हुँदै कार्जेन गोल भन्छन्, ‘सन्तोष साहजस्तो प्रभावशाली व्यक्तिको नेपाली खानालाई प्रवर्द्धन गर्नुमा महत्त्वपूर्ण योगदान रहन्छ । उहाँहरूकै कारण नेपाली खानाको छुट्टै पहिचान बनाउन सकिन्छ ।’ गेट कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका कार्जेनलाई थाइल्यान्डमा नेपाली रेस्टुरेन्ट देखेर बेग्लै खुसी मिलेको थियो । उनी भन्छन्, ‘त्यहाँ जाँदा मैले सुरुमा नै नेपाली किचेन खोजेको थिएँ । झन्डै दुई घण्टा खोजेपछि भेटें । नेपालीहरू नै काममा खटिइनुभएको देख्दा आफ्नोपन महसुस भएको थियो ।’
नेपाली रेस्टुरेन्टमा विदेशीहरूले खाना खाँदा ‘इन्डियन फुड जस्तै’ भन्दै प्रतिक्रिया दिएको अनुभव सुनाउँदै सुधा भन्छिन्, ‘धेरैले नेपाली खानालाई भारतीय खानाको स्वादसँग तुलना गर्छन् । सायद नेपालको सिमाना भारत र चीनसँग जाडिएकाले खाना पनि मिक्स भएको हुन सक्छ । हामी बाहिर जाँदा नेपाली परिकार पाइएन भने इन्डियन वा चाइनिज खोज्छौं ।’ यसो हुनुमा रोशिकालाई नेपाली खानासँग स्वाद मिल्ने भएर हो जस्तो लाग्छ । भन्छिन्, ‘हाम्रो स्वाद थोरै भए पनि मिल्छ नि । नयाँ ठाउँमा जाँदा सुरुमै थाई वा अन्य परिकार खान खोज्दैनौं । नियमित खान पर्यो भने हामी आफ्नै स्वाद खोज्छौं ।’ खाना बनाउँदा प्रयोग हुने मरमसालाहरूले नै स्वादमा फरक बनाएको हो । उनका अनुसार यस्तै स–साना कुराले नै खानाको स्वादलाई फरक पार्ने हो ।
नेपाली खाना विदेशमा चिनिँदै गएको छ तर खानाको मौलिकता हट्दै जाने डर पनि उत्तिकै छ । विदेशमा मःमलाई मोमोज भन्दै बेचिरहेको भेटिन्छ । चटामरीलाई नेवारी पिज्जा भनिन्छ । यमोरीमा प्रयोग गरिने चाकु वा खुवाको सट्टामा मासु राखेर बनाइन्छ । सुधा भन्छिन्, ‘खानालाई इन्फ्युजन गर्न सकिन्छ तर सबै सही हुन्छ भन्ने छैन । हरेक खानाको आफ्नै विशेषता हुन्छ ।’ नेपाली परिकारलाई प्रमोसनसँगै थोरै ‘करेक्सन’ पनि गर्नुपर्ने बताउँछिन्, रोशिका । उनी भन्छिन्, ‘विदेशमा मःमसँग केचप वा माइनिज खाइरहेको देख्छौं । मःमसँग खाने अचारको बेग्लै स्वाद छ नि ।’
नेपालमा विश्वकै नयाँ–नयाँ परिकार भित्रिरहेको छ । इन्डियनसँगै कोरियन, चाइनिज, थाई रेस्टुरेन्टहरू खुल्न थालेका छन् । कार्जेन भन्छन्, ‘यसले त्यहाँको मानिसहरू नेपालमा घुम्न आउँदा आफ्नै देशको खानाको स्वाद चाख्न पाउँछन् ।’ नेपाल कोरियन कला र संस्कृतिसँग एकदमै प्रभावित भएको कारण नेपालमा कोरियन खाना एकदमै पपुलर भएको रोशिका बताउँछिन् । उनी भन्छिन्, ‘कोरियन खाना नेपालमा एकदमै चलेको छ । कोरियन ड्रामा, गायक, फेसनको फ्यान नेपालमा बढी छन् ।’ नेपालमा कोरियन परिकारको पारखी बढ्नुमा धेरै हदसम्म खाना मिल्दोजुल्दो भएको बताउँदै सुधा भन्छिन्, ‘कतिपय परिकारहरू उस्तै छन् । नाम र थोरै स्वाद मात्र फरक हो जस्तो लाग्छ ।’
पर्यटन प्रवर्द्धनमा खानाको मुख्य भूमिका रहेको हुन्छ । ‘विश्वको खाना नेपाल भित्रिनुमा पर्यटककै हात छ,’ सुधा भन्छिन्, ‘पर्यटकसँगै उनीहरूको कला र संस्कृति पनि भित्रिन्छ ।’ नेपालको आयको मुख्य स्रोत पर्यटन भएकाले बढीभन्दा बढी पर्यटक भित्र्याउनलाई खाना र होटलको गुणस्तरलाई सुधार्नुपर्ने रोशिकाको भनाइ छ । उनका अनुसार पर्यटकहरूले नेपालको खानालाई विश्वमा फैलाउन सहयोग पुर्याउँछ । त्यसका लागि होटल म्यानेजमेन्टलाई अझ बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
नेपालमा अझै पनि होटल म्यानेजमेन्टलाई हेर्ने ‘कन्सेप्ट’ फरक छ । रोशिका भन्छिन्, ‘होटल म्यानेजमेन्ट पढ्ने भनेपछि खाना पकाउने, भाँडा माझ्ने, सर्भ गर्ने बुझ्छन् । होटल भनेको एक संस्था हो । बिजनेस हो । कुनै पनि बिजनेस चलाउनका लागि त्यहाँ सबैको आवश्यकता पर्छ । यहाँ खाना र सर्भिसलाई बढी महत्त्व दिनुपर्छ ।’ हरेक दिन नयाँ चुनौती थपिरहेका हुन्छन् । नयाँ–नयाँ परिकार भित्रिरहेका हुन्छन् ।
!['Vlogger' spreading Nepali taste to the world [with video]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/vlagar-08102024052433-1000x0.jpg&w=1001&h=0)