अडियो, भिडियो बनाइदिने मात्र नभई प्रयोगकर्ताका भिडियो सम्पादन गरिदिने बताइएको मेटाको ‘मुभी जेन’ ले फेसबुक र इन्स्टाग्रामलाई भविष्यमा पूर्ण रूपमा रूपान्तरण गर्ने अनुमान गरिएको छ
काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बजारमा आफ्नो बलियो उपस्थिति जनाउने प्रयत्नमा रहेको मार्क जकरबर्गको कम्पनी मेटाले भिडियो कन्टेन्ट जेनेरेसनसम्बन्धी नयाँ टुल सार्वजनिक गरेको छ । उक्त टुलमा प्रयोगकर्ताले शब्दबाट व्याख्या गरेको आधारमा एआईले भिडियो सिर्जना गरिदिने वा प्रयोगकर्ताले खिचेका भिडियो त्यसमा अपलोड गरेर सम्पादन गर्न पाउनेछन् । यो टुललाई यसअघि नै ओपनएआईले सार्वजनिक गरेको सोरा, गुगलको भियोजस्ता भिडियो जेनेरेटर टुलको प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
अघिल्लो हप्ता मात्रै ‘ओरियन’ नामक एआई स्मार्ट ग्लास सार्वजनिक गरेको मेटाले यो साता ‘मुभी जेन’ नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडल घोषणा गरेको हो । कम्पनीले शुक्रबार आफ्नो ब्लग पोस्टमा यस टुलले कसरी काम गर्छ र कुन स्तरका मिडिया कन्टेन्ट उत्पादन गर्न सक्छ भनेर उदाहरणसहितको सूचना राखेको थियो ।
मुभी जेनले अडियो, भिडियोका क्लिप जेनेरेट गर्ने मात्र नभएर प्रयोगकर्ताका निजी भिडियोहरू सम्पादन गर्ने सुविधा पनि दिनेछ । यसले फेसबुक र इन्स्टाग्रामलाई भविष्यमा पूर्ण रूपमा रूपान्तरण गर्ने अनुमान गरिएको छ ।
‘टेक्स्ट प्रम्प्ट’ अर्थात् आफूले चाहेजस्तो भिडियो बनाइदिन स्पष्ट व्याख्या लेखेर ‘कमान्ड’ दिएपछि मुभी जेनले १६ फ्रेमका १६ सेकेन्ड लामो भिडियो सिर्जना गरिदिन सक्ने मेटाको विज्ञप्तिमा उल्लेख छ । प्रयोगकर्ताले आफ्ना तस्बिर अपलोड गरेर त्यसलाई मुभी जेनमार्फत भिडियोमा रूपान्तरणसमेत गर्न सक्नेछन् । च्याटजीपीटी निर्माता ओपनएआईले हलिउडलाई नै धक्का दिन सक्ने गरी यसअघि गत फेब्रुअरीमा सार्वजनिक गरेको ‘सोरा’ एआई भिडियो जेनेरेटरको विकल्पका रूपमा मेटाले अहिले आएर मुभी जेनबारे घोषणा गरेको हो ।
ओपनएआईको सोरा प्रयोग गरी बनाइएको ‘द हार्डेस्ट पार्ट’ शीर्षकको म्युजिक भिडियो गत मेमा युट्युबमा रिलिजसमेत गरिएको थियो । अमेरिकी गायक वास्ड आउटले गाएको उक्त गीतको भिडियो पूर्ण रूपमा सोराबाट सिर्जना गरिएको हो । उक्त भिडियोमा हालसम्म साढे तीन लाखजति भ्युज छ भने झन्डै २ हजार कमेन्ट छन् । कमेन्टमा अधिकांशले सोराकै पक्ष–विपक्षमा धारणा राखेको देखिन्छ । परीक्षणकै क्रममा रहेकाले कम्पनीले केही सीमित भिजुअल आर्टिस्ट, डिजाइनर र फिल्म निर्मातालाई मात्रै सोरा चलाउन दिएको छ ।
सर्वसाधारणका लागि उपलब्ध नभइसकेको सोराले एक मिनेटसम्मको भिडियो सिर्जना गर्ने र ती निकै यथार्थपरक र वास्तविक झैं लाग्ने देखिन्छन् । यो प्रविधिले फिल्म निर्माताहरूका काम सहज बनाउन सघाउने भए पनि अनलाइनमार्फत मिथ्या सूचना प्रवाहलाई भने अझै भयावह बनाउन सक्ने प्रविधि विज्ञहरूले चेतावनी दिँदै आएका छन् । इन्टरनेटमा उपलब्ध सामग्रीमध्ये कुन वास्तविक हो र कुन झूट हो भनेर पत्ता लगाउनु थप चुनौतीपूर्ण हुने उनीहरूको राय छ ।
मेटाको मुभी जेन पनि अहिले सर्वसाधारणका लागि उपलब्ध छैन । यो अझै अनुसन्धान र निर्माणकै चरणमा रहेकाले पनि सर्वसाधारणले यसको प्रयोगका लागि केही समय पर्खिनुपर्ने भएको हो । मेटाले नमुनाका रूपमा मुभी जेनमार्फत बनाइएका भिडियोहरू आफ्नो ब्लगमा राखेको छ । ती हाई डेफिनेसन भिडियोहरू निकै आकर्षक छन् । यो टुलले भिडियोलाई आवश्यक साउन्ड ट्र्याक र साउन्ड इफेक्टसमेत सिर्जना गरिदिने मेटाले उल्लेख गरेको छ ।
ओपेनएआई र मेटाबाहेक गुगल, एनभिडिया, एडोबी, अमेजनलगायतले पनि टेक्स्ट–टु–भिडियो एआई टुल बनाइरहेका छन् । एनभिडियाले ‘टेक्स्ट प्रम्प्ट’बाट उच्च गुणस्तरको भिडियो बनाउन ‘गाउगान २’ प्रविधि विकास गरेको छ । यी टुलले ई–कमर्स प्लाटफर्मका लागि भिडियो कन्टेन्ट बनाउन सहज बनाउनेदेखि विज्ञापनका लागि पर्सनलाइज्ड भिडियो उत्पादनको अवसर दिने भएकाले पछिल्लो समय एकपछि अर्को प्रविधि कम्पनीहरू यसमा लगानी गरिरहेका छन् ।
मेटाले सार्वजनिक गरेका पछिल्ला रणनीतिहरूका आधारमा कम्पनीले सन् २०२४ को अन्त्यसम्ममा एआई प्रविधि, जेनेरेटिभ एआई र मेटाभर्सको विकासमा ३५ अर्बदेखि ४० अर्ब अमेरिकी डलर लगानी गर्ने अनुमान गरिएको छ । यो लगानी कम्पनीले गएका केही वर्षयता अन्य ठूला प्रविधि कम्पनीहरूसँगै फस्टाउँदो एआई बजारमा प्रभुत्व जमाउन गरेको प्रयासको प्रमुख हिस्सा हो । यसबाट मेटाले आफ्ना प्रमुख सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रयोगमा सुधार ल्याउने मात्र नभएर आफ्नो विज्ञापन बजारलाई अझै फैलाउने र जेनेरेटिभ एआईको बढ्दो प्रयोगमा आफ्नो हिस्सा कायम राख्न खोजेको विज्ञहरूको अनुमान छ ।
मेटाले आफ्ना सामाजिक सञ्जाल प्लाटफर्मलाई थप प्रभावकारी बनाउने गरी मेटा एआई, रियालिटी ल्याब्स, लामा मोडल, एआई फर बिजनेस जस्ता अतिरिक्त टुलहरूमा काम गरिरहेको छ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरमा प्रयोगकर्तालाई सघाउने मेटा एआई, एआई स्टिकर, रिस्टायल र ब्याकड्रपजस्ता तस्बिर एडिट गर्ने टुल, रे–ब्यान मेटा स्मार्ट ग्लासजस्ता मेटाका एआई प्रोडक्टको क्षमता सुधार गर्न कम्पनीले लामा मोडल विकास गरेको छ । यसमार्फत मेटाले आफ्ना एआई प्रोडक्टलाई अन्तरक्रियात्मक र उपयोगी बनाउने प्रयत्न गरिरहेको छ ।
(एजेन्सीको सहयोगमा)
