दुई वर्षदेखि काठमाडौंको बानेश्वरमा फुड प्रडक्सन र डेलिभरी व्यवसाय गर्दै आएका सफल भट्टराईले कार्यालयहरूमा ‘खाजा–खाना’ को सेवा दिँदै आएका छन्
काभ्रे — बढ्दो व्यस्तताका कारण धेरै कार्यालयमा खाना–खाजाका लागि समस्या भइरहेको हुन्छ । कतिपय कार्यालयमा खाना–खाजा बनाउने ठाउँ हुँदैन, कहीं बनाइदिने व्यक्ति हुँदैनन्, कसैलाई कामको दबाबले खाना–खाजाका लागि बाहिर निस्कने समय नै हुँदैन ।
यसैलाई मध्यनजर गर्दै काभ्रेको मण्डनदेउपुर नगरपालिका–११, तिमल्सिना गाउँका २१ वर्षीय सफल भट्टराईले सञ्चालन गर्दै आएका छन्, ‘कत्ति मिठो !’ फुड बिजनेस ।
सफलले दुई वर्षदेखि काठमाडौंको बानेश्वरमा फुड प्रडक्सन र डेलिभरी गर्दै आएका हुन् । विशेष गरेर कार्यालयहरूमा ‘खाजा–खाना’ को सुविधा दिने उद्देश्यले यो व्यवसाय सुरु गरेको उनले बताए । ‘धेरै अफिसमा खाना–खाजाको नै समस्या देखिरहेको थिएँ, यसैलाई मध्यनजर गरी ‘क्लाउड किचेन’ को सोचबाट व्यवसाय सुरु गरियो,’ उनी भन्छन् । उनले अहिले ७ वटा कार्यालयसँग सम्झौता गरेर सेवा दिइरहेका छन् । ‘दैनिक २ सय नियमित सेवाग्राहीलाई अडर अनुसार खाजा–खाना पुर्याइरहेका छौं,’ उनले भने, ‘गुणस्तरीयतालाई पनि ध्यान दिएका छौं, सेवाग्राहीलाई स्वस्थकर खाना उपलब्ध गराउनु मुख्य उद्देश्य छ ।’
व्यवसाय सुरु गर्दाको अवस्था र अहिलेसम्म आइपुग्दा धेरै भिन्नता पाएको उनको बुझाइ छ । ‘खाजा भन्नेबित्तिकै दिमागमा आउने पहिलो कुरा ‘मःम, चाउमिन’ हो, प्रायको रोजाइ नै यही हो जस्तो लाग्थ्यो,’ उनले भने, ‘तर यो बुझाइ गलत रहेछ, समय फेरिएको छ, मिठोभन्दा पनि स्वस्थकर खाना–खाजा बढी रुचाइने रहेछ । सेवाग्राहीको रुचिलाई अध्ययन गरी कार्यालयसँग सम्झौता गरिएबमोजिम नै खाना–खाजा तयार गर्ने गरिएको छ ।’
उनका अनुसार, सेवाग्राहीले रोटी, तरकारी, खिर, हलुवा, फलफूल, सलाद जस्ता खानेकुरामा बढी रुचि राख्दै आएका छन् । यो व्यवसायमा सेवाग्राहीको मन जित्न गाह्रो हुने उनको अनुभव छ । ‘खानपान सिधै स्वास्थ्यसँग जोडिएको हुन्छ,’ उनले भने, ‘खानामा तल–माथि केही भयो भने स्वास्थ्य बिग्रन सक्छ, त्यसकारण पनि स्वस्थकर खानामा हामीले विशेष ख्याल गरिरहेका छौं ।’
सफलले सुरुमा डेढ लाख लगानीमा एउटा सानो कोठाबाट व्यवसाय सञ्चालन गरेका थिए । उनले संरचना र लगानीलाई विस्तार गरिसकेका छन् । ‘व्यवसायलाई माथि उठाउन धेरै गाह्रो हुने रहेछ,’ उनले भने, ‘व्यवसाय सञ्चालनका सुरुका दिनमा धेरै गाह्रो थियो, सेवाग्राही पाउनै गाह्रो थियो, सुरुका दिनमा एक जनालाई मात्रै पनि सेवा दियौं, व्यवसायबारे बुझाउन र विश्वास दिलाउन निकै गाह्रो थियो ।’ सुरुवातकालको १० महिना व्यवसाय घाटामा गएको उनले बताए । उनका अनुसार त्यो समयमा करिब २ लाख घाटा भएको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता बढिरहेको र सामाजिक सञ्जालमा प्रचारात्मक सामग्री राखेर सेवाग्राहीको आकर्षण बढाउन काम गरेको उनले बताए । ‘सामाजिक सञ्जालमा प्रचारात्मक सामग्री राखेपछि व्यवसाय अलि माथि उठेको हो,’ सफलले सुनाए,’ ‘पहिला सेवाग्राही खोज्दै अफिस पुग्ने गर्थ्यौं भने अहिले सेवाग्राहीहरू हामीलाई खोज्दै आउनुहुन्छ ।’
उनका अनुसार, ग्राहक सन्तुष्ट भएकै कारण अहिले व्यवसाय राम्रो भइरहेको छ । फुड बिजनेसबाट उनले मासिक ६ लाख रुपैयाँ कारोबार गरिरहेका छन् । २ लाख रुपैयाँ नाफा हुने उनले बताए । उनले ७ जनालाई रोजगारी पनि दिइरहेका छन् । ‘व्यवसाय राम्रो भएकै कारण सम्झौताका लागि थप केही संस्थाहरू हामीसँग जोडिन खोज्नुभइरहेको छ, तर अहिले हामीसँग भएको सीमित स्रोत र जनशक्तिका कारण सम्झौता गर्न सकेका छैनौं,’ सफलले भने ।
सफलले आज जुन सफलता प्राप्त गरेका छन्, त्यो सजिलै प्राप्त गरेका भने हैनन् । कैयौं प्रयास असफल भएपछि उनी फुड बिजनेस गर्न अघि सरेका हुन् । सफलका बुबाले गाउँमा तरकारी तथा फलफूल संकलन तथा बजारीकरणको काम गर्छन् । परिवारको एक्लो छोरा सफललाई बुबाको काम देखेर व्यवसाय गर्ने इच्छा जागेको थियो । व्यवसाय र कलाकारिता उनको रुचिको क्षेत्र थियो ।
एसएलसी सकिएपछि उच्च शिक्षाका लागि बनेपा आए । पढाइसँगै व्यवसाय गर्ने सोचे र कपडाको अनलाइन बिजनेस थाले । फिल्म र टेलिफिल्ममा पृष्ठभूमिमा रहेर केही काम पनि गरे । कपडाको अनलाइन बिजनेस केही समय त राम्रै चलेको थियो । विश्वभर फैलिएको कोभिडका कारण व्यवसायमा असर पुग्यो । ‘कोरोनाको असरले अनलाइन व्यवसाय चलाउन गाह्रो भयो, ऋण तिर्नै सकिएन, आफूसँग भएको फोन र कानमा लगाएको मुन्द्रा बेचेर ऋण तिरें,’ उनले भने ।
त्यसपछि सफलले पार्टनरसिपमा बनेपामा कुखुरापालन गर्ने सोच बनाए । ‘सबै कुरा मिलिसकेको थियो,’ उनले भने, ‘चल्ला हाल्न सबै तयारी पूरा भइसकेको थियो, तर अन्तिम घडीमा पार्टनरले सहकार्य नगर्ने भने । एक्लै व्यवसाय गर्न सक्ने हिम्मत नभएपछि कुखुरापालन व्यवसाय नगर्ने निर्णय गरें । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं आएका उनले २०७९ असारदेखि फुड बिजनेस सुरु गरेका हुन् । ‘मिहिनेत र लगनशील भएर काम गर्ने हो भने नेपालमा नै भविष्य सुनौलो छ जस्तो लाग्छ,’ उनले भने ।
