ट्रेलरमा ‘ज्वाइँसाब’

आश्विन १८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको छेको पारेर फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाइँसाब’ ले त्यसको एक साताअघि बिहीबार मात्रै ट्रेलर सार्वजनिक गरेको छ । जितु नेपाल र नीति शाहको ‘अनस्क्रिन रोमान्स’ रहेको फिल्ममा बुद्धि तामाङ, हिमेश पन्त, कमलमणि नेपाल, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रमेश बुढाथोकी, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ । 

फिल्मको ट्रेलरले पात्रबीचको हाँसो, रोदन र रोमान्स तीनै पक्षलाई समेट्न खोजेको देखिन्छ । जहाँ एकातिर जितुको चरित्रले बाउको बिहे खेप्नुपर्ने देखिएको छ भने अर्कोतिर नीतिको चरित्र योग्य वरको खोजीमा विभिन्न प्रतियोगिता चलाउँछिन् ।

अन्ततः ज्वाइँसाब बनाएर नीतिले जितुलाई डोलीमा चढाएर भित्र्याउँछिन् । तर ट्रेलरमा समावेश त्रिभुवन विमानस्थलभित्र खिचिएको एक दृश्यले भने फिल्मको कथामा वजन थपेको देखिन्छ । जहाँ बरखी बारेकै अवस्थामा काखे सन्तानलाई छोडेर बिदेसिन बाध्य अवस्थालाई देखाइएको छ ।

बसन्त बस्नेतको निर्देशन रहेको ‘ज्वाइँसाब’ लाई शंकर धितालले लेखेका हुन् भने सन्देश शाहको सम्पादन, श्याम तामाङको छायांकन तथा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ । फिल्मको गीत ‘कसम बत्तीको’ सांगीतिक रूपमा भने सफल भइसकेको छ ।

कान्तिपुर

Link copied successfully