चालिसेको वैदिक उपन्यास ‘युगसन्धि’

आश्विन १७, २०८१

कान्तिपुर संवाददाता

Chalise's Vedic novel Yugasandhi

काठमाडौँ — ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास ‘युगसन्धि’ को मंगलबार काठमाडौंमा विमोचन गरिएको छ । विजय चालिसेद्वारा लिखित उक्त उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवम् रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरबीचको द्वन्द्व समेटिएको छ ।

यी प्रसंगहरूमा विश्वमित्र ऋषि र वशिष्ठ ऋषिबीचको द्वन्द्वलाई लिएर कथा अघि बढेको छ । उपन्यासमा ब्रह्मशक्ति र राजशक्तिको समन्वय, महिला र पुरुषबीच समानता साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भनी वैदिककालदेखि विमर्श हुँदै आएको तर्कलाई लेखकले अघि सारेका छन् ।

समीक्षक गोपी मैनालीले ‘युगसन्धि’ ले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको टिप्पणी गर्दै ‘उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको’ बताए । मैनालीले उक्त उपन्यासले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको तर्क गरे ।

अर्का समीक्षक ज्ञानु पाण्डेले चालिसेको उपन्यासले पाठकका मनमा अनेकौं गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सामर्थ्य राख्ने बताए । ‘वैदिककालको कथालाई लैंगिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको देखिन्छ,’ उनले भने ।

वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गरेका ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको अवस्थामा चालिसेले ‘युगसन्धि’ लेखेर नेपाली साहित्यलाई गुन लगाएको भन्दै प्रशंसा गरे । विमोचन समारोहमा बोल्दै लेखक चालिसेले वैदिककालका द्वन्द्वहरूलाई अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा उपन्यास तयार पारेको बताए । उपन्यासलाई परिचय पब्लिकेसनले बजारमा ल्याएको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully