सुसी बनाउन युवा आकर्षण

सुसी बनाउने सीप भएमा विदेशमा रोजगारी पाउन सहज हुने बुझाइका कारण तालिममा युवा आकर्षण 

आश्विन १४, २०८१

ज्योती श्रेष्ठ

Young charm to make Susie

काभ्रे — धुलिखेल–४ की २० वर्षीया अश्मी तामाङ खानामा विशेष रुचि राख्छिन् । भिडियो हेरेरै केही खाना आफैं बनाउँछिन्, खुवाउँछिन् । यतिबेला भने उनी जापानिज खाना सुसी बनाउन सिकिरहेकी छन् । गत जेठदेखि बनेपास्थित इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा यसबारे तालिम लिइरहेकी छन् । 

‘सुसी बनाएका भिडियोमा हेर्दा त खानालाई सेट गरेर रोल गर्ने मात्रै त रहेछ नि जस्तो लागेको थियो, तर हेर्दा जति सजिलो देखिन्छ, आफैंले बनाउँदा सजिलो नहुने रहेछ,’ हेरेर सिक्नु र तालिम लिएर सिक्नुबीचको अन्तर बुझ्दै गएकी अश्मीले थपिन्, ‘खानालाई पहिला सेट गर्नै गाह्रो हुने रहेछ, अझ चुनौती भनेको त्यसलाई रोल गर्नुमा हुने रहेछ ।’ 

काभ्रेकै रोशी गाउँपालिका–११ स्थित भीमखोरीका २३ वर्षीय विजय किङरिङ पनि एक महिनायता सुसी बनाउने तालिम लिइरहेका छन् । ‘पछिल्लो समय यहाँ पनि सुसीमा धेरैले रुचि राख्न थालेको पाएको छु,’ विजयले भने, ‘यो बनाउने सीप सिक्दा राम्रै हुने ठानेर सिकिरहेको छु ।’ पछि गएर नेपालमा पनि यसको सम्भावना राम्रै हुन्छ होला भन्ने आकलनका साथ सिकिरहेका विजय थप्छन्, ‘यहाँकै होटल/रेस्टुरेन्टले मेन्युमा यो ‘डिस’ लाई पनि समावेश गर्दा धेरैले नेपालमै रोजगारी पाउने अवस्था रहन्थ्यो कि ?’

सुसी बनाउन जानेपछि विदेशमा चाँडै रोजगारी पाइन्छ भन्ने सुनेकी अश्मीले तालिमपछि विदेश नै जाने सोच बनाएकी थिइन् । तर, सिकिसकेपछि भने सोच फेरिन् । ‘सुरुमा त यो सीप सिकेर विदेश नै जान्छु भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर अब नेपाल आउने विदेशीलाई यहीँ सुसी बनाएर खुवाउँछु, व्यावसायिक रूपमा केही नौलो गर्ने सोच बनाएकी छु ।’ तालिम लिइरहँदा उनलाई नेपालमै केही गर्न सक्नु भन्ने आँट आएको रहेछ । त्यसो त उनी अहिले आफैंले पनि ६ जनालाई सुसी बनाउन सिकाइरहेकी पनि छिन् ।

Young charm to make Susieअश्मी र विजयजस्तै बनेपाको उक्त ट्रेनिङ सेन्टरमा ७० जना युवाले सुसी बनाउने तालिम लिइरहेका छन् । विगत ३ महिनादेखि सिकाइरहेका छन्, धुलिखेल–१० ठकुरीछापका ३० वर्षीय विनोद शाहले । सुसी बनाउने तालिममा पछिल्लो समय धेरै युवाहरूको आकर्षण रहेको प्रशिक्षक शाहले बताए । यो बनाउने सीप हुँदा विदेशमा रोजगारी पाउन सहज हुने भएकाले पनि धेरै युवाको रुचि भएको उनको तर्क छ । 

विनोदले सुसी बनाउने औपचारिक तालिम भने लिएका छैनन् । पढाइको सिलसिलामा साइप्रस जाँदा उनले त्यहीँ सिकेका रहेछन् । ‘साढे ५ वर्ष त्यहाँको बसाइमा अग्रजहरूले गरेको हेर्दै सिकेको हुँ,’ दुई वर्षअघि नेपाल फर्केका उनले थपे, ‘यहाँ केही समययता जापानिज खानामा पनि सुसीको धेरै चर्चा हुन थालेको छ, बनेपामा यसको तालिमको माग बढ्दै गएपछि ३ महिनादेखि सिकाउन थालिएको हो ।’ आफूसँग सुसी बनाउन सिक्नेमा खासगरी विदेश जाने योजनामा रहेका युवाहरू नै बढी रहेको विनोदले बताए । 

उनका अनुसार, सुसी पनि चिरासी, ससामी, निगिरी, माकी र गुंकान गरी ५ प्रकारका हुन्छन् । यसमध्ये माकी धेरैले रुचाउँछन् । यसमा पनि फुतोमाकी, बोसोमाकी, उरामाकी, तेमाकी गरी ४ किसिमका हुन्छन् । सुसीको स्वादमा यसमा राखिने ‘इन्ग्रिडेन्ट्स’ ले फरक पार्छ । तालिममा प्रशिक्षार्थीलाई सुसीबारेमा जानकारी गराउने, विभिन्न प्रकारका सुसी बनाउन सिकाउने, प्लेटिङलगायतका बारेमा सिकाइन्छ । 

Young charm to make Susieसुसी बनाउने तालिममा आकर्षण बढ्दै गएको र सीप सिक्न आउनेको संख्या पनि बढिरहेको तालिम प्रदायक संस्थाका व्यवस्थापक कामदेव शाह ठकुरीले बताए । उनका अनुसार, सीप सिक्न आउने धेरै भएकाले समूह बनाएर विभिन्न ‘सिफ्ट’ मा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सिकाइएको छ । 

‘हाम्रो यस संस्थामा अरू पनि तालिमहरू हुन्छन्,’ कामदेवले भने, ‘यहाँ आउने धेरैले सुसीको तालिम लिने इच्छा देखाउन थालेपछि गत जेठदेखि सुसी बनाउने तालिम सुरु गरेका हौं ।’ ‘सेमी–एड्भान्स’ तहको यो तालिमका लागि प्रतिविद्यार्थी २२ हजार रुपैयाँ लिने गरेको उनले बताए । 

जापानमा पनि प्रसिद्ध खाना सुसी बनाउन चामलमा भेनेगर राखेर पकाइन्छ । सुसीका लागि ‘भेनेगर’ (अमिलो), नोरी (समुद्री वनस्पतिबाट बनेको खानेकुरा) सँगै माछा, झिंगे माछा, ससेज, एभोकाडो, गाँजर, काँक्रो, आँप, ड्रागन फ्रुटलगायतका सामग्री चाहिन्छ । सुरुमा चामलमा भेनेगर राखेर पकाएपछि नोरीमा पाकेको खानालाई मिलाएर राखिन्छ, त्यसपछि स्वादअनुसारका ‘इन्ग्रिडेन्ट्स’ खानामा राखेर रोल गरेर तयार पारिन्छ । त्यसलाई सुसी अदुवा, वासाबी, सोय सस, मूलासँग ‘प्लेटिङ’ गरेर ‘सर्भ’ गरिन्छ । 

युवा ग्यालरी

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully