सिड्नीमा गुन्जिए रामकृष्ण

आश्विन १४, २०८१

कान्तिपुर संवाददाता

Ramakrishna resonated in Sydney

काठमाडौँ — सांगीतिक भ्रमणका लागि अस्ट्रेलियामा रहेका गायक रामकृष्ण ढकालले शनिबार साँझ सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आफ्ना नयाँ तथा पुराना गीत गाएका छन् । ‘बिहान उठ्नेबित्तिकै’ गीत गाउँदै स्टेज चढेका गायक ढकालले त्यसपछि लगातार ‘बाँचुन्जेलीलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’ लगायतका ‘हिट नम्बर’ गीत प्रस्तुत गरेका थिए ।

स्थानीय ब्यान्डसँगको सहकार्यमा स्वरसम्राट नारायण गोपालका गीतहरूसमेत गाएका ढकालले सांगीतिक प्रस्तुतिको अन्त्यमा आफ्नै ‘ए माया जदौ’ गाउँदा उपस्थितले नाचेर साथ दिएका थिए । अस्ट्रेलियाको सांगीतिक टुरमा चौथो पटक आइपुगेका गायक ढकाल पहिलो पटक सन् २००९ मा पुगेका थिए । 

‘अस्ट्रेलियामा रहेका नेपालीबाट सधैं माया पाउँदै आएको छु, यस पटकको अस्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा झन् बढी उत्साहित भएको छु,’ ढकालले भने । पाल्पा सर्भिसेजले आयोजना गरेको उक्त कार्यक्रममा ढकालले तीन घण्टासम्म गीत गाएका थिए । उनले यस पटकको दसैं अस्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने बताए । 

यसपछि उनी न्युक्यासल, एडिलेडलगायतका सहरमा सुनिने छन् । कार्यक्रममा गायक ढकालले नेपाली संगीतलाई विश्वभर चिनाउन गरेको योगदानको कदर गर्दै आयोजक पाल्पा सर्भिसेज, ए टु जेड क्लिनिङ सप्लायर्स, क्लिनिङ एन्ड हस्पिटालिटीका प्रमुख कृष्ण थापा र फिल्म निर्माता सुभाष थापाले सम्मान गरेका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully