काठमाडौँ — प्रदर्शोन्मुख फिल्म ‘पूर्णबहादुरको सारंगी’ को नयाँ गीत ‘दाहिने हातैमा’ को शनिबार सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा फिल्मका मुख्य पात्रका जीवन कथा चित्रण गरिएको छ । उक्त फिल्मको यसअघि सार्वजनिक गीत ‘काँधेकुरी’ ले राम्रो प्रशंसा बटुलिरहेको छ ।
विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाल, माओत्से गुरुङ, भोलाराज सापकोटालगायत कलाकारको फिल्ममा अभिनय रहेको छ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको ‘पूर्णबहादुरको सारंगी’ तिहारको पूर्वसन्ध्यामा कात्तिक १५ देखि प्रदर्शनमा आउन लागेको हो ।
सेभेन सिस सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।
सोसल–ड्रामा जनरामा निर्माण भएको यस फिल्मले गन्धर्ब परिवारभित्र बाबुछोराबीचको सम्बन्धलाई देखाउन खोजेको देखिन्छ । महेश दवाडीको पटकथा रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहेको छ ।
