सामाजिक सञ्जालमा पनि छुवाछूत र विभेद

छुवाछूत र विभेदको नयाँ रूप अहिले डिजिटल प्लेटफर्ममा पनि देख्न सकिन्छ । सामाजिक सञ्जालमा हेयको भावनाले कमेन्ट गरेको पाइन्छ । दलित समुदायको व्यक्तिको अन्तर्वार्तामा धेरैले जातलाई लिएर होच्याउने गरेको पाइन्छ

आश्विन ११, २०८१

सुजाता मुखिया

Untouchability and discrimination in social media too

काठमाडौँ — अनुजा कुमारी राम (१९) जतिबेला सानै थिइन्, आफू दलित हुँ भन्ने थाहा थिएन । गाउँमा उनका बुबाआमाले आफ्नो जात ‘राई’ भन्ने गर्थे । ‘यसरी आफ्नो जात लुकाउनु हाम्रो आमाबुबाको बाध्यता थियो,’ उनी भन्छिन्, ‘किनभने उहाँहरूलाई जातीय विभेदको डर थियो ।’

सरिता मिजारको अनुभव पनि करिब यस्तै छ । उनी सानो छँदै परिवारसँग काठमाडौंमा बसोबास गर्थिन् । बुबाआमाले ‘हामी मगर हौं’ भनी आफ्नो चिनारी दिएका थिए ।

एक दिन अचानक उनका बुबाले काठमाडौं छाडेर गाउँ जाने कुरा गरे । ‘गाउँमा गएपछि हामीलाई विद्यालय भर्ना गरियो,’ सरिता सुनाउँछिन्, ‘त्यहाँ नाम लेख्ने बेला मगर होइन, मिजार भनेर लेख्न लगाइयो । त्यसबेला मात्र हामीलाई आफ्नो वास्तविक जात थाहा भयो ।’

Untouchability and discrimination in social media too

जातीय विभेद झेल्नुपर्छ भन्ने भयले अनुजा र सरिताका आमाबुबाले जात लुकाएका थिए । तर काठमाडौंमा नै विभेद भोग्नुपरेपछि बस्न नसकेर सरिताका परिवारै गाउँ फर्किएका थिए । तर, गाउँमा पनि विभेद उस्तै थियो । घरमा चुल्हो बाल्नका लागि छिमेकीकहाँ आगो लिन जान्थे । त्यसबेला छिमेकको घरभित्र उनीहरूलाई प्रवेश गर्न दिइँदैनथ्यो । ‘हाम्रो बुबाआमा विभेदको डरले गाउँ गएका थिए तर गाउँमा पनि हामीलाई सजिलोचाहिँ थिएन,’ सरिताले भनिन् ।

शिशिर विश्वकर्मा ५–६ कक्षामा पढ्दै गर्दाको कुरा हो । आमासँग एउटा विवाह भोजमा गएका थिए । त्यसबेला अरू सबै टेन्टमा बसेर खाँदै थिए तर उनीहरूलाई भने खेतको आलीमा राखियो । शिशिरले आमालाई सोधे, ‘हामीलाई किन खेतको आलिमा राखेको ?’ आमाले भनिन्, ‘हामीलाई भित्र छिर्न दिइँदैन ।’ आमाको जवाफपछि शिशिरलाई आफू दलित भएको कारण विभेद खेप्नुपर्छ भन्ने महसुस भयो । 

Untouchability and discrimination in social media too

जातीय विभेदले बालमनोविज्ञानमा कसरी असर गर्छ ? त्यसले उनीहरूको पारिवारिक, आर्थिक स्थितिलाई कहाँ पुर्‍याउँछ ? यी तीन पात्रको प्रतिनिधि कथाले बताउँछ । उनीहरू पनि अरू बालबच्चासरह थिए । उसैगरी खेल्थे, रमाउँथे । तर जब–जब उनीहरू हुर्कंदै गए, तब समाजले आफूहरूमाथि विभेद गर्छ भन्ने थाहा पाए । अरु साथीभाइ जसरी उनीहरूलाई आफ्नो जात भन्न गाह्रो भयो । कुनै न कुनै रूपमा अरुले ‘छिःछि दुरदुर’ गरेको अनुभूत हुन थाल्यो । त्यसपछि उनीहरूले थाहा पाए, ‘हामीलाई जन्मकै आधारमा यति धेरै विभेद गरिएको हो । हामी दलित हौं ।’

त्यसपछि उनीहरूले आफूमाथि हुने विभेदको प्रत्यक्ष अनुभव र अनुभूत गर्न थाले । शिशिर भन्छन्, ‘दलित भएकै कारण अरुको हेपाइ सहँदै हुर्कियौं ।’ उनका गाउँमा एक जना अलि क्रान्तिकारी चेत भएका दलित थिए । उनी गैरदलितको विवाहमा भान्सामा प्रवेश गरेर खान खोजेछन् । त्यसपछि त गैरदलितहरूले एउटा निर्णय नै गरे, ‘अबदेखि गाउँमा हुने जति पनि बिहेभोजमा निम्तो नै नदिने ।’ दलित हुनुको पीडा कतिसम्म चर्को छ भने कतिपयले सहज रूपमा नागरिकतासमेत पाएका छ्रैनन् । उनका गाउँका दिदी पर्नेले दमाईसँग विवाह गरेपछि माइती पक्षबाट बहिष्कार गरियो । ती दिदीको नागरिकता थिएन । त्यहीँ कारण पछि उनका छोराछोरीको पनि जन्मदर्ता बनाउन सकेनन् । 

‘गाउँमा अरूको घरभित्र पस्न नपाइने, अरूको खानेकुरा छुन नपाइने, मन्दिरमा जान नपाइने, शुभकार्यमा बस्न नपाइने,’ सरिता भन्छिन्, ‘मेलापातमा दिनभर सबै जना सँगै बसेर काम गर्नुपर्ने तर खाजा खाने बेला भने अलग हुनुपर्ने ।’ उनका बुबा बाटोमा कसैसँग गफ गर्दै थिए । त्यसबेला एक जना पुरोहित सोही बाटो हुँदै आइपुगेछन् । दलितसँग छोइएला भनेर ती पुरोहितले उनका बुबालाई हेय भावले बाटो छोड् भनेछन् । उनका बुबा जहाँको त्यहीँ उभिरहे । त्यसपछि सो पुरोहित अर्कै बाटो फर्किएर गएछन् ।

Untouchability and discrimination in social media too

पछि सरिताको बुबा र ती पुरोहितको कतै भेट भएर भनाभन पर्‍यो । उनका बुबाले पुरोहितलाई थप्पड लगाए । गाउँलेहरू मिलेर घरमा ढुंगामुढा नै गरे । यस्तो बेला प्रहरी प्रशासनले न्याय दिनुको साटो उल्टै ‘ब्राह्मणलाई कुटेको’ भन्दै उनको बुबालाई पक्राउ गरे । ‘त्यसबेला मलाई दलित भएर जन्मनु पाप नै रहेछ भन्ने लाग्यो,’ सरिता भन्छिन् । समाजका कथित उच्च वर्गले सधैं नै दलितमाथि थिचोमिचो गरेको उनीहरूको अनुभव छ । समाजमा जो जान्नेबुझ्ने भन्छन्, जो ठूलाठालु भन्छन्, उनीहरू नै विभेद गरिरहेका हुन्छन् । ‘हाम्रा पुर्खाहरूले हलो बनाए, घरायसी हतियार बनाए, मूर्ति बनाए,’ सरिता भन्छिन्, ‘त्यही सामग्री प्रयोग गर्ने कथित उच्च वर्गहरूले हामीलाई कामदार, मजदुर वा तल्लो वर्ग भनेर व्यवहार गरिरहे ।’

अनुजाले आफ्ना पितापुर्खाले ठूलो विभेद खेपेर कष्टपूर्वक बाँच्नुपरेको कथा सुन्दै हुर्किइन् । उनका हजुरबुवाले दलित भएकै कारण मरेको गाईगोरु गाड्ने काम गर्नुपर्थ्यो । उनका बुबाले विद्यालयको कक्षाकोठामा बस्न पाउँदैनथे । ‘अलि बुझ्ने भएपछि मैले हाम्रा पुर्खाहरू कति ठूलो विभेद खेपेर बाँच्न बाध्य भए भन्ने थाहा पाएँ,’ उनी सुनाउँछिन्, ‘मेरो पालामा आइपुग्दा पनि यो विभेद हटेको छैन ।’ छुवाछूत र विभेदको नयाँ रूप अहिले डिजिटल प्लाटफर्ममा पनि देख्न सकिन्छ । सामाजिक सञ्जाल, विशेष गरी दलित समुदायको व्यक्तिको अन्तर्वार्तामा धेरैले जातलाई होच्याएर कमेन्ट गरेको पाइन्छ । 

पछिल्लो पुस्ता भने यस्तो विभेद वा थिचोमिचो चुपचाप सहने पक्षमा छैनन् । न उनीहरू आफ्नो जात लुकाउँछन्, न विभेद नै सहन्छन् । शिशिर भन्छन्, ‘मेरो साथीले कोठामा बस्दा थर लुकाएका रहेछन् । घरबेटीले थाहा पाउँछन् भनेर फेसबुकको एकाउन्टमा नै नाम परिवर्तन गरेर चलाएका रहेछन् । तर म आफ्नो जात लुकाउँदिनँ ।’ समाजमा व्याप्त यो विभेद र छुवाछूतलाई हटाउन मान्छेको चेतनास्तर परिवर्तन हुनुपर्ने उनीहरूको बुझाइ छ ।

युवा ग्यालरी

सुजाता मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully