कोल्डप्ले क्रेज

विश्वव्यापी सांगीतिक यात्राका क्रममा बेलायती रक ब्यान्ड ‘कोल्डप्ले’ अबको तीन महिनापछि भारत आउँदैछ, तर कन्सर्टको टिकट कालोबजारीका माध्यमबाट अधिक मूल्यमा किनबेच भएपछि विवाद

आश्विन १०, २०८१

सजना बराल

The Coldplay craze

काठमाडौँ — हामीमध्ये धेरै दसैंमा घर जान सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुल्ने प्रतीक्षामा छौं । उता भारतमा चाहिँ अबको तीन महिनापछि हुने बेलायती रक ब्यान्ड ‘कोल्डप्ले’ को अग्रिम टिकट काट्न तँछाडमछाड चलिरहेको छ ।

विश्वव्यापी सांगीतिक यात्राका क्रममा कोल्डप्ले आगामी जनवरी १८, १९ र २१ मा प्रस्तुतिका लागि भारत आउँदै छ । मुम्बईमा हुने त्यही कन्सर्टको यो साता टिकट खुला भएपछि त्यसले भारतमा खैलाबैला मच्चाएको हो । 

भारतको समाजवादी पार्टीका अध्यक्ष एवं लोकसभा सांसद अखिलेश यादवले कोल्डप्लेको कन्सर्टको टिकट खरिद–बिक्री प्रसंगमा मनोरञ्जनको हक सबैलाई बराबर हुनुपर्ने विषय उठाएका छन् । सर्वसुलभ हुनु कुनै पनि कलाको मानवीय–सामाजिक पक्ष भएको उनको धारणा छ । कोल्डप्लेको टिकट कालोबजारी गरेर महँगोमा बिक्री भएपछि अखिलेशले यसमा प्रशासनिक कमजोरीसमेत झल्किने बताएका छन् । 

सकेसम्म धेरै प्रशंसकमाझ पुग्ने र क्रयशक्ति कमजोर भएकाहरूले पनि कन्सर्ट हेर्न सकून् भनेर कोल्डप्लेले अक्सर आफ्ना कार्यक्रमको टिकट मूल्य सबैलाई मिल्ने गरी समायोजन गर्दै आएको छ । डीवाई पाटिल स्टेडियममा हुने कन्सर्टमा पनि लेभल, लाउन्ज र स्टेजअघिको स्थानअनुरूप २५ सय भारतीय रुपैयाँदेखि ३५ हजार भारुसम्म टिकटको मूल्य राखिएको छ । तर, त्यहाँ हुन लागेको ‘म्युजिक अफ द स्पेयर वर्ल्ड टुर’ को टिकट कालोबजारीका माध्यमबाट अधिक मूल्यमा किनबेच भएपछि विवाद उत्पन्न भएको हो ।

The Coldplay crazeकालोबजारीमा साढे ३ लाखदेखि १० लाख भारुसम्ममा टिकट खरिद–बिक्री भएको समाचार बाहिरिएका छन् । टिकट बेच्ने आधिकारिक प्लाटफर्म ‘बुक माई शो’ ले यसविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । यसअघि गायक दिलजित दोसान्झको अक्टोबरमा हुने कन्सर्टको अग्रिम टिकट सुविधालाई लिएर पनि यस्तै विवाद भएको थियो । दिलजितका प्रशंसकहरूले टिकट बुकिङमा हुने बेथितिविरुद्ध उजुरी हालेका थिए । दिल्ली प्रहरीले सामाजिक सञ्जालमार्फत टिकट कालोबजारी गर्नेलाई चेतावनी दिएको थियो । 

अघिल्लो साता मात्रै एप्पलको नयाँ प्रोडक्ट, आइफोन १६ किन्न २४ घण्टा लाइनमा उभिएर आपसमा धक्का–मुक्कासमेत गरेका कतिपय भारतीय नागरिकहरू यो साता कोल्डप्लेको टिकट काट्न अनलाइन प्लाटफर्ममा ह्वारह्वारी ओइरिए । आइतबार कन्सर्टका लागि बुकिङ खुल्नासाथ ‘बुक माई शो’ प्लाटफर्ममा एकसाथ १ करोडभन्दा धेरैले टिकट किन्न खोजेपछि उक्त प्लाटफर्म क्र्यास भयो अर्थात् भार थेग्न नसकेर अवरुद्ध बन्यो । 

त्यति हुँदा पनि सबैले टिकट पाउने सम्भावना त कुरै भएन । तथापि, अधिक मागका कारण भारतमा थप एक दिन कन्सर्ट गर्ने कोल्डप्लेले निर्णय गरेको छ । जनवरी २१ का लागि थप गरिएको तेस्रो दिनको कन्सर्टको टिकट नोभेम्बर २२ मा खुला गरिनेछ र यसको मूल्य समान २ हजार भारु तोकिएको छ । कोल्डप्लेको कन्सर्ट हेर्न भारतका विभिन्न राज्यबाट प्रशंसकहरू एक ठाउँ जम्मा हुन लागेका छन् । यसले गर्दा कन्सर्ट हुने साता मुम्बईका होटलहरूको मूल्य ३ सय प्रतिशतले वृद्धि भइसकेको इकोनमिक टाइम्सले जनाएको छ । ‘स्टेडियम आसपासका होटलहरू बुक्ड भइसकेका छन् र तिनको मूल्य एक रातको १ लाख ४२ हजार रुपैयाँसम्म पुगेको छ,’ टाइम्सले लेखेको छ, ‘यति हुँदा पनि माग अझै थेगिनसक्नु छ ।’ 

यसअघि सन् २०१६ मा पनि भारतमा कन्सर्ट गरेको कोल्डप्ले लाइभ प्रस्तुतिका लागि असाध्यै प्रतिष्ठित छ । हेर्नै पर्ने प्रस्तुतिका रूपमा उनीहरूको कन्सर्टलाई लिइन्छ । रंगीन बत्तीहरू, पटका, अन्तरिक्षजस्तो आभास दिने ‘भिजिअल इफेक्ट्स’ समावेश गरेर दर्शकलाई ‘इम्मर्सिभ एक्सपेरियन्स’ (त्यही लोकमा मुग्ध हुने) अनुभूति सिर्जना गर्ने गरी प्रस्तुति डिजाइन गरिएको हुन्छ । ब्यान्डले इजिप्टको पिरामिड्स अफ गिजा, चीनको ग्रेटवालजस्ता पृथक् ठाउँहरूमा पनि भव्य कन्सर्ट गरेको छ । ब्यान्डका ‘यल्लो’, ‘फिक्स यु’, ‘समथिङ जस्ट लाइक दिस’, ‘द साइन्टिस्ट’, ‘भिभा ला भिडा’, ‘अ स्काई फुल अफ स्टार्स’, ‘हाइम फर द विकेन्ड’ जस्ता गीत चर्चित छन् ।

सन् १९९६ मा लन्डनमा स्थापना भएको यो ब्यान्डका एल्बमहरू १० करोडभन्दा धेरै बिक्री भइसकेका छन् भने स्पटिफाई र युट्युबजस्ता ‘स्ट्रिमिङ’ प्लाटफर्ममा पनि ब्यान्डका गीत एवं प्रस्तुतिहरू धेरै हेरिनेमा पर्छन् । ब्यान्डले संगीत क्षेत्रको प्रतिष्ठित ग्रामी अवार्ड ८ पटक हात पारिसकेको छ । 

विश्वमा ब्यान्ड संगीत सुस्ताएका बेला कोल्डप्ले भने अपवादका रूपमा चर्चित मात्रै छैन, यसलाई २१ औं शताब्दीको सबैभन्दा प्रभावशाली ब्यान्डका रूपमा समेत लिइन्छ । ब्यान्डमा क्रिस मार्टिन मुख्य भोकलिस्ट र पियानिस्टका रूपमा छन् भने जनी बकल्यान्ड लिड गिटारिस्ट, विल च्याम्पियन ड्रमर तथा पर्कसनिस्ट र फिल हार्भे क्रिएटिभ डिरेक्टरका रूपमा सामेल छन् । 

ब्यान्डले दुई वर्षअघि कोस्टारिकाबाट सुरु गरेको ‘म्युजिक अफ द स्पेयर्स वर्ल्ड टुर’ सन् २०२५ सम्मका लागि तय गरिएको छ । यस सांगीतिक यात्राका क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप र एसियाका विभिन्न देशमा गरी हालसम्म १६४ वटा कन्सर्ट गरिसकेको छ भने ९६ लाख दर्शक सहभागी भइसकेको र अहिलेसम्म १.०५९ अर्ब डलर कुल आम्दानी गरेको ब्यान्डको दाबी छ । दर्शकको उपस्थिति र आम्दानी दुवै हिसाबले सफल भइरहेको यो कन्सर्ट ब्यान्डले वातावरण संरक्षणका लागि उठाइरहेको आवाज र अन्य पहलहरूका लागि पनि प्रशंसा बटुलिरहेको छ ।

(एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully