भुजुङमा फुलेका कमल

गुरुङ भाषाका गीत तथा फिल्म निर्माण, निर्देशन तथा अभिनयमार्फत उनी गुरुङ कला, संस्कृतिको जगेर्नामा लागेका छन्

आश्विन १३, २०८१

आश गुरुङ

Blooming lotuses in arms

लमजुङ — गुरुङ कला र संस्कृतिमा ऐतिहासिक घलेगाउँ र भुजुङको संस्कृति र पौराणिक कला–परम्परालाई समेटेर २९ वर्षीय कमलबहादुर गुरुङले गुरुङ भाषाको गीत ‘गलबन्दी चिनो’ बनाएका छन् । दुई महिनाअघि युट्युबमा अपलोड गरिएको उक्त गीतलाई २ लाख ८० हजार पटक हेरिसकिएको छ । गीतमा शब्द तथा संगीत भरेका कमलले यस गीतको भिडियोमा पनि अभिनय गरेका छन् ।

घलेगाउँका युवतीहरू खिर खानका लागि भुजुङको गोठमा आउँछन् । त्यही गोठमा आउँदा मायाप्रेम बसेपछि युवतीले दिएको गलबन्दी चिनोलाई कमलले गीत बनाएका छन् । चिनोलाई गुरुङ भाषामा सेगा भनिन्छ । ‘सेगा लिने र दिने गरेपछि एकअर्कालाई मन पराएमा मायाप्रेम बस्छ । मायाप्रेम बसेपछि विवाह–घरबार हुन्छ,’ कमल भन्छन्, ‘हाम्रोतिर यो एकदमै लोभलाग्दो संस्कृति हो ।’

करिब २५ वर्षअघिको कथालाई लिएर बनाइएको उक्त म्युजिक भिडियो अहिले गुरुङ समुदायमा चर्चित छ । म्युजिक भिडियोमा लाहुरबाट फर्किएका छोराले पुरानो गलबन्दी छोडेर नयाँ गलबन्दी लगाउन भन्छन् । कमलले मान्दैनन् । उनी अतीतमा फर्कन्छन् । जमानामा गोठमा खिर खान आउँदा आफ्नो प्रेमिकाले दिएको गलबन्दी चिनोको कथा हाल्छन् । यही गीत गुरुङका हरेक नाचगान कार्यक्रममा अहिले बज्ने गरेको छ । 

कुमारी गाउँले चिनिने क्व्होलासोथार गाउँपालिका–४, भुजुङमा जन्मेहुर्केका कमल अहिले गुरुङ फिल्मका निर्देशक हुन् । भर्खर २८ वर्षका उनी मातृभाषी गुरुङ गीत/संगीतका व्यस्त कलाकार र निर्देशकसमेत हुन् । २०६८ मा उच्च शिक्षाका लागि बेसीसहर झरेका उनी त्यहाँको नवज्योति सांस्कृतिक कला केन्द्रमा आबद्ध भए, मेला–महोत्सवमा नाच्न थाले । गाउँमा हुने कार्यक्रम, वैशाख पूर्णिमा, दसैंतिहार, ल्होसार, शिवरात्रि, बिहे, पुटपुटे, भोजभतेर तथा मेला–महोत्सवमा नाच्दै हिँडे ।

Blooming lotuses in armsपछि उनी पोखरा गए । भुजुङ युम्पो तमु समाज पोखरामा आबद्ध भए । २०७२ को ल्होसारमा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले आयोजना गरेको खुला सामूहिक नृत्य प्रतियोगितामा उनी नेतृत्वको भुजुङ युम्पो तमु प्रथम भयो । लगातार ३ वर्ष प्रथम भएर उनको समूहले ह्याट्रिक गर्‍यो । त्यतिमात्र नभएर २०७३ देखि २०७५ सम्म यस क्षेत्रकै चर्चित सिक्लेस मेलामा पनि लगातार ३ वर्ष प्रतियोगिता जिताए । आफैं नाच्ने र अरूलाई पनि आफू झैं नचाउन सक्नु नै उनको खुबी हो । उनी नृत्यमा कथा बुन्छन्, त्यही नृत्य प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिन्छ । ‘यी जितले मेरो करिअर नै परिवर्तन भयो,’ उनले भने, ‘मेरो करिअरको प्रस्थान बिन्दु बेसीसहर र कार्यक्षेत्र पोखरा बन्यो । मेरो आँगन भुजुङ त छँदै छ ।’ गीतमा चेतनामूलक सन्देश राखेर दर्शकमाझ पस्कने उनको खुबी हो । 

२०७३ मा सामसुङको जेटु मोबाइलले खिचेर ‘सुर्के थैली खै’ बोलको गीतमा कभर म्युजिक भिडियो बनाएर फेसबुकमा पोस्ट गरेपछि धेरैले रुचाएको र प्रशंसा पाएका उनी सम्झन्छन् । त्यसपछि २०७४ को शिवरात्रिमा भुजुङ गाउँ चिनारीको कभर म्युजिक भिडियो मोबाइलले खिचेरै बनाए । त्यसलाई भने उनले युट्युबमा राखे । उनी तमु प्ये ल्हु संघर प्राचीन नेपालमा आबद्ध भए । पछि तरेली सांस्कृतिक परिवारमा आबद्ध भएर अघि बढे । त्यसयता उनी म्युजिक भिडियो निर्माण र निर्देशनमा क्रियाशील छन् ।

२०६८ कात्तिकमा भुजुङमा निर्माण गरिएको फिल्म ‘मारय ट’ (सुनको फूल) हुँदै ‘म्ले क्यु’ (बिर्साउने पानी), ‘मारक्यु’ (सुनपानी) मा आबद्ध भए । गुरुङ फिल्ममा मनोज गुरुङ र माओत्से गुरुङसँग जोडिएपछि उनले यस क्षेत्रबारे अझ बढी बुझ्ने मौका पाए ।

Blooming lotuses in armsगुरुङ समाज, समुदाय, चालचलन, रहनसहन, चार्डपर्व, संस्कृति राम्रोसँग बुझ्न थालेका उनले यही विषयलाई कलाको माध्ययबाट भारतका विभिन्न सहरदेखि हङकङसम्म पुगेर प्रदर्शन गरे, प्रचारप्रसार गरे । ‘कला क्षेत्रमा चिसो भुइँदेखि हजारौं पर्ने लक्जरी पलङमा सुतेको अनुभव छ, जिन्दगीले धेरै पाठ पढाएको छ,’ उनी भन्छन् । पछिल्लो समय नृत्य निर्देशनमा उनले लगातार अवार्ड जित्दै आएका छन् ।

जनस्तरबाट गण्डकी प्रदेशकै नामुद युवा कलाकारको उपमा पाएका कमलले धेरैवटा गाउँको चिनारी म्युजिक भिडियो निर्देशन गरेर पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएका छन् । उनले यसैवर्षमात्रै गुरुङ फिल्म ‘ङोल्स्यो रानी’ (सोल्टिनी रानी) निर्देशन गरेका छन् । यसैबीचमा उनले थुप्रै म्युजिक भिडियो तथा गाउँ चिनारी गीतको म्युजिक भिडियो निर्माण गरिसकेका छन् ।

फिल्म क्षेत्रकै कलाकार पवित्रालाई जीवनसाथी बनाएका उनी यो क्षेत्रमा अघि बढ्न सहज भएको बताउँछन् । पछिल्लो समय उनी आफैं गीत लेखनमा सक्रिय हुँदा गुरुङ भाषा, कला र संस्कार संस्कृतिले थप मलजल पाएको छ । नेपाली भाषामा समेत दख्खल राख्ने उनी म्युजिक भिडियो, फिल्म र स्टेज यो तीनै क्षेत्रमा केही गरौं भनी अघि बढेका छन् ।

युवा ग्यालरी

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully