चार्टर्ड अकाउन्टेन्टको जागिर छोडेर एक्लै घुम्न निस्किएकी वेदिका अचेल देश/विदेशका विभिन्न ठाउँ पुगेर त्यहाँका खानपान, संस्कृति, भूगोलका बारेमा ‘भ्लगिङ’ गर्छिन् भने ‘क्रसफायर’ मा एक्लै देशका कुनाकन्दरा कुद्ने शीतल अन्य महिलालाई समेत ‘मोटो भ्लगर’ बनाउन सिकाइरहेकी छन्
काठमाडौँ — मध्य बर्खाको समय । बाढीपहिरोका कारण बिग्रिएको ग्रामीण सडक, ५० किलोमिटरसम्मको अनकन्टार बाइक यात्रा । बाटोमा न घर, बस्ती देखिन्छ न त मान्छे, गाईबस्तु नै । ‘ओहो कस्तो ठाउँमा आइपुगियो ?’ बाइक राइड गर्दै एक्लै डोल्पा यात्रा गर्दाका क्रममा शीतल गिरीलाई मनमा चिसो पस्यो, ‘अब कहाँ पुगिने हो ? गन्तव्य कति टाढा होला ?’
पानीमा रुझ्दै/भिज्दै अन्धाधुन्धको बाइक यात्रा गरिरहेकी शीतलले अन्ततः एउटा घर भेट्छिन् । मनमा केही राहत महसुस गर्न नपाउँदै त्यहाँ उनले केटाहरूको ग्याङ देख्छिन् । लौ फसाद π अब गर्ने के ? एक्ली उनलाई झन् ठूलो आपत् आइलाग्यो । दह्रो मुटु बनाएर त्यहाँबाट तत्काल हुइँकिइन्, उनी । शीतल मोटो ‘भ्लगर’ हुन् ।
उनी बाइक लिएर एक्लै घुम्न निस्किन्छिन्, यात्राका रमाइला क्षण, रमणीय दृश्य मात्रै नभई कष्ट, दुःख र अप्ठ्यारालाई पनि समेटेर ‘भ्लग’ बनाउँछिन्, अनि आफ्नो इन्स्टा, टिकटकदेखि युट्युबसम्ममा हाल्छिन् । युट्युबमा भने उनले कोरोना महामारीपछि तीन वर्षदेखि मात्रै भिडियो अपलोड गर्न थालेकी हुन् । क्रसफायर बाइक लिएर यात्रामा निस्कने उनले तीन वर्षअघि काठमाडौंकै इन्द्रथानबाट ‘मोटो भ्लग’ सुरु गरेकी हुन् । शीतलले यस अवधिमा उपत्यका आसपासबाहेक दोलखाको कालिञ्चोक, मकवानपुरको दामन, नुवाकोटको दुप्चेश्वर, मुगुको राराताल, कास्कीको घान्द्रुक, स्याङ्जाको सिरुबारी, मनाङ, मुस्ताङदेखि शे–फोक्सुन्डो, रुकुमकोटसम्म बाइकमा एक्लै यात्रा गरिसकेकी छन् । ‘मोटो भ्लगर’का रूपमा आफूले गरेका यात्रा अनुभूतिलाई शीतल आफैंमा सीमित राख्दिनन्, सोसल मिडियाबाट ‘भ्लग’ सेयर गर्छिन् । पश्चिम नेपालका गाउँ–ठाउँ घुम्न उनलाई बढी मन पर्छ र प्रायः पुगिरहन्छिन् पनि । यात्रामा अनेकन चुनौती आइपर्छन्, त्यसलाई सामान गर्दै गन्तव्य पछ्याइरहेकी छन्, उनले । ‘यसरी हिँड्दा घाउ चोटपटक त कति लाग्छ, लाग्छ तर यात्राको रोमाञ्चकताले त्यो सबै पीडा भुलाइदिन्छ अनि गन्तव्यसम्म पुग्न त्यही अनुभूतिले सहज बनाइदिन्छ ।’
मोटो ‘भ्लगर’का रूपमा उनको उपत्यकाबाहिरको अलिक लामो यात्रा भने बन्दीपुरबाट सुरु भएको हो । भन्छिन्, ‘बन्दीपुर मेरा लागि एउटा सम्झनलायक स्थान हो, जहाँबाट मैले बाइकमा खास यात्रा थालेकी हुँ ।’ सुरु–सुरुमा साथीहरूसँग यात्रा थाले पनि अहिले भने उनी एक्लै कुद्छिन् । किन, साथीहरूसँग यात्रा गर्न मन नभएर ? भन्छिन्, ‘साथीहरूको टिम मिलाउँदा मिलाउँदै घुम्न जाने योजना नै तुहिन्छ, त्यसैले पनि एक्लै हिँड्न थालेकी हुँ ।’ एक्लै घुम्न निस्कँदाको एउटा बेफाइदा चाहिँ फोटो/भिडियो खिच्दा मात्र अनुभव गरेकी छन्, उनले । भनिन्, ‘तर यो अभाव पनि बटुवाहरूबाट नै पूरा गर्ने गरेकी छु ।’ त्यसो त सुरक्षाका कुरा पनि बेलाबेलामा भोग्ने गरेकी छन्, डोल्पा जाँदाको जस्तै ।
चार्टर्ड एकाउन्टेन्ट हुन्, वेदिका गजुरेल । घुम्न र नयाँ–नयाँ ठाउँ ‘एक्सप्लोर’ गर्न रुचाउने उनलाई जागिरले एकैठाउँमा खुम्च्याइरहेको अनुभूति भइरहन्थ्यो । ‘जागिरले मानिसलाई एकै ठाउँ र परिवेशमा सीमित गराउँछ, घुमाइले सबै दायरालाई फराकिलो बनाइदिन्छ,’ पछिल्लो समय जागिरे जीवन छोडेर घुमन्ते बनेकी वेदिकाको बुझाइ छ, ‘नयाँ ठाउँ पुग्नु र त्यहाँको रहनसहनमा रम्नु अनि स्थानीयसँगको भलाकुसारीमा रमाउनुमा बेग्लै आनन्द छ । मलाई त अहिले यही नै बानी परिसकेको छ ।’ वेदिका पनि शीतल जस्तै एक्लै घुम्न निस्किन्छिन्, ‘भ्लग’ बनाउँछिन् अनि
युट्युबदेखि टिकटक, इस्टामा सेयर गर्छिन् । वेदिकाले पनि तीन वर्षअघि बन्दीपुरबाटै ‘भ्लगिङ’ थालेकी हुन् । अहिलेसम्म उनले अन्नपूर्ण, मार्दीदेखि विदेशका थुप्रै स्थानहरू एक्लै घुमिसकेकी छन् । उनी आफू एक्लै घुम्दिनन् मात्रै, मार्दी हिमाल ट्रेकमा निस्कँदा खर्च कहाँ कति लाग्छ, बाटो कहाँ कस्तो छ भनेर बुझाउनेदेखि जनकपुर पुग्दा त्यहाँको कला, संस्कृति, खानपानदेखि मठमन्दिरका बारेमा पनि यथेष्ट जानकारी बाँड्छिन् । आफू जस्तै ‘भ्लगर’ हुन खोज्नेका लागि तौरतरिका पनि सिकाइरहेकी हुन्छिन् । दार्जिलिङ पुगेर ‘फुड भ्लग’ त बनाउँछिन् नै, आफ्ना फलोअर्सलाई रेल यात्रादेखि ‘ट्राभल गाइड’ पनि पस्किरहेकी हुन्छिन् । देशकै स्वर्गद्वारी होस् वा थाइल्यान्ड, झोला कस्छिन्, अनि एक्लै बिन्दास घुम्छिन् । ‘हरेक यात्रामा फरक–फरक र नयाँ अनुभव पाइन्छ,’ तिनै अनुभव वेदिका भिडियोमार्फत बरोबर साझेदार पनि गर्छिन् ।
एक्लै यात्रा गर्ने वेदिका ‘यात्रामा भने आफूलाई एक्लो महसुस नहुने’ बताउँछन् । भन्छिन्, ‘घरमा बस्दा बरु एक्लो महसुस हुन्छ तर बाटोमा एक्लै छु भन्ने महसुस नै हुँदैन ।’ उनलाई देख्नेले एक्लै यात्रा गरेको हत्तपत्ती पत्याउँदैनन् । ‘कोही साथी अघिपछि कतै हुनुहुन्छ होला,’ भिडियो पनि खिच्दै हिँड्ने उनलाई धेरैले शंका गर्छन् । बाटोमा भेटिनेले मात्र होइन, सामाजिक सञ्जालमा उनका भिडियो हेर्नेले पनि बारम्बार प्रश्न गरिरहन्छन्, उनलाई एक्लै हिँडेको प्रमाण नै दिनुपर्नेसम्म हुन्छ । एक्लै यात्रा गर्दा बाटोमा फोटो/भिडियो खिच्दाका उनका आफ्नै दुःख छन्, उनका । तर पनि मानिसहरूले पत्याइदिँदैनन् । कमेन्ट बर्सिन्छन्, ‘त्यसो भए यो फोटो/भिडियोचाहिँ कसले खिचिदिएको नि ? एक्लै हिँडेको भनेर झूट बोल्ने ?’
महिला एक्लै घुम्न, हिँड्न सक्दैन भन्ने अधिकांशको संकीर्ण बुझाइ छ । शीतलले पनि यस्तो अवस्था बारम्बार झेल्नुपर्छ । उनी त अझ बाइक लिएर एक्लै कुदेको देख्दा प्रायः सोधिने प्रश्न नै, ‘ओहो केटी भएर पनि बाइक कुदाको ? एक्लै घुम्न हिँडेको ?’ भन्ने हुने गर्छ । धेरैलाई उनले यसो गर्नु भयंकर लाग्छ, अथवा विश्वास गर्नै गाह्रो पर्छ । तर शीतललाई भने यो सामान्य लाग्छ ।
‘देशका अरू ठाउँका के कुरा ? महिलाले बाइक चलाएको देख्दा देशकै राजधानी काठमाडौंकै मान्छेहरू अचम्म मानेर सोध्ने, हेर्ने गर्छन्,’ उनी यसो हुनुमा महिला राइडर कम हुनुले पनि भएको ठान्छिन् । त्यसैले यतिबेला उनी ‘मोटो भ्लग’ मात्रै बनाइरहेकी छैनन्, समय बचाएर आफूजस्तै केही महिलालाई ड्राइभिङ पनि सिकाइरहेकी छन् । ‘म जस्तै अरू धेरै महिलालाई पनि राइडर बनाउने मेरो सोच हो,’ शीतल थप्छिन्, ‘दुई–दुई वटा ड्राइभिङ स्कुलमा महिलालाई प्रशिक्षण पनि दिइरहेकी छु, यसले मेरो घुम्न जाने खर्चको पनि जोहो भइरहेको छ ।’
सामाजिक बुझाइ संकुचित भए पनि घुमाइले आफ्नो सोचको दायरा फराकिलो बनाइदिएकोमा वेदिका भने खुसी छिन् । ‘घुमाइले सोच फराकिलो बनाइदिएको छ, यात्राको अनुभवले सिकाइको मात्रा बढाएको छ । अब मलाई जागिरमा सीमित हुन मन छैन । अझै धेरै स्थानमा पुगेर धेरै अनुभव बटुल्न मन छ,’ उनी भन्छिन् । उनका अनुसार आफूसँग महिलाहरूले सहज तरिकाले सिक्न सक्ने भएका छन् । उनीहरूको कमजोरी केलाउँदै आत्मविश्वास बढाउन अगाडि बढेकी छन् । शीतल अब भने भारतको लदाक घुम्न जाने योजनामा छिन् । भन्छिन्, ‘बाइकर्सको ड्रिम प्लेस लदाक भनिन्छ, एक दिन पुग्ने सपना छ ।’
