कराते र तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली रेफ्री

१३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक दिलाएका कराते खेलाडी कुसुम र तेक्वान्दोकी काजल देशमा सम्भावना छैन भनेर विदेश पलायन हुने पक्षमा छैनन्, बरु यहीं खेलबाट आफूलाई रेफ्रीका रूपमा विस्तार गर्दै करिअरलाई नयाँ उचाइ दिएका छन्

आश्विन १७, २०८१

अनिश तिवारी

Nepalese Referee in Karate and Taekwondo International Competitions

सिन्धुपाल्चोक — १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले ५१ स्वर्ण जित्दै इतिहास रच्यो । करातेमा मात्रै १० स्वर्ण, चार रजत र पाँच कांस्यसहित कुल १९ पदक नेपालले जित्यो । देशलाई त्यही ५१ औं स्वर्ण जिताउनेमध्येकी एक थिइन्, चौतारा साँगाचोकगढी नगरपालिका–६, पीपलडाँडाकी २७ वर्षीया कुसुम खड्का । 

१२ वर्षमा कराते यात्रा सुरु गरेकी उनको परिवार पछि काठमाडौंको बौद्धमा बसाइँ सर्‍यो । कुसुम बौद्ध डोजोमा भर्ना भइन् । ‘साथीहरूसँगै कराते सिक्न सहभागी भएँ, खेल्न पाइने भएपछि मन त्यतै मोडियो,’ उनले भनिन् । रमाइलोका लागि सुरु गरेको खेलले उनलाई स्वर्ण विजेतासम्म बनायो । तर उनको कराते यात्रा भने उतारचढावको रह्यो । सुरुको च्याम्पियनसिपमै नमिठो हार बेहोर्नुपरेको उनलाई अझै ताजा छ । ‘अरूले मेडल जितेको देखेर घर आएर रुन्थें । तर हारेको रन्कोमा नै अझ मिहिनेत गरेर म पनि मेडल जित्छु भन्ने आत्मविश्वास पलायो, हार नै मेरो जितको प्रेरणा बन्यो,’ कुसुमले भनिन् । 

नेपालगन्जमा भएको राष्ट्रिय टिम छनोट प्रतियोगितामा उनी प्रथम हुँदै राष्ट्रिय टिममा छानिइन् । तर दोस्रो प्रतियोगिताको फाइनलमा हारिन् । त्यसबेला प्रशिक्षक दीपक श्रेष्ठले भन्ने गरेको ‘उपलब्धि हासिल गर्नु ठूलो कुरा हैन, त्यसलाई जोगाइराख्नु ठूलो हो’ भनेको कुरा उनले बल्ल बुझिन् । भन्छिन्, ‘त्यो हारले म निकै टुटे, बच्चामा तेस्रो हुँदा पनि खुसी हुने म दोस्रो हुँदा धेरै रोएँ ।’ विराटनगरमा भएको सातौं राष्ट्रिय कराते प्रतियोगितामा भने उनले फेरि स्वर्ण जितिन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका उत्कृष्ट तीन खेलाडी सागका लागि छनोट हुने प्रावधान थियो । उनी पनि छनोट भइन् । सागको सेमिफाइनलमा कुसुमले श्रीलंकाली खेलाडीलाई १५ सेकेन्डमा नै पराजित गर्दै बंगलादेशकी खेलाडीसँगको फाइनल सुरक्षित गरिन् । अन्ततः फाइनलमा पनि एक अंकको अन्तरले स्वर्ण जितिन् । 

Nepalese Referee in Karate and Taekwondo International Competitionsखेलाडीका रूपमा विभिन्न प्रतियोगिता जित्दै साग च्याम्पियन बनेकी कुसुमको नजर त्यसपछि रेफ्रीतर्फ मोडियो । छैटौं राष्ट्रिय रेफ्री सेमिनारमा भाग लिएकी उनी देशभरमा उत्कृष्ट हुन सफल भइन् । त्यसपछि उनको करातेमा राष्ट्रिय रेफ्रीको यात्रा सुरु भयो । ‘खेलकुदले मलाई निकै परिपक्व बनायो, राष्ट्रिय रेफ्री बन्दै गर्दा अझ धेरै कराते बुझ्न पाएँ,’ अबको उनको गन्तव्य अन्तर्राष्ट्रिय रेफ्री बन्नेमा रहेछ । करातेमा नै देशलाई चिनाउने अभियान बोकेर हिँडेकी कुसुमलाई भविष्य नदेखेर सम्भावना बोकेका खेलाडी पनि विदेश पलायन भएको देख्दा मन कुँडिन्छ । ‘यसमा सरकारले तत्कालै ध्यान दिनुपर्ने देखिन्छ । खेलाडीको मिहिनेत, लगावलाई ध्यानमा राखेर नेपालमै खेलकुदमा केही गर्छॅ भनेर बसेका खेलाडीलाई प्रोत्साहन गर्नॅपर्छ,’ उनी भन्छिन् । 

सन् २०१९ को १३ औं सागमै तेक्वान्दोबाट नेपाललाई स्वर्ण पदक दिलाउने अर्की खेलाडी हुन्, लिशंखुपाखर गाउँपालिका–५ जेठलकी २६ वर्षीया काजल श्रेष्ठ । कक्षा ८ पढ्दादेखि उनले तेक्वान्दो खेल्न थालेकी थिइन् । त्यसैबेलादेखि उनले संकल्प गरेकी थिइन्, ‘अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बन्ने ।’ साग च्याम्पियन भएपछि त्यो संकल्पमा अझ बल पुग्यो । ‘त्यसपछि लक्ष्यलाई निरन्तरता दिइरहें, अघि बढ्न आफैंलाई हौसला दिइरहें,’उनले भनिन् । 

Nepalese Referee in Karate and Taekwondo International Competitionsअनेकन अभाव र समस्या झेल्दै तेक्वान्दो खेलमा लागेकी काजलले सन् २०१४ मै ताइवानमा भएको दसौं जुनियर वर्ल्ड च्याम्पियनसिप, अजरबैजानमा भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप, २०१५ मा मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कपमा सहभागिता जनाएकी थिइन् । २०१७ मा काठमाडौंमै भएको पहिलो वुमन्स अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१८ मा काठमाडौंमा भएको ग्योरोगी इन्टरनेसनल तेक्वान्दो, २०२१ मा भएको नेपाल ओपन ‘भर्चुअल’ इन्टरनेसनल तेक्वान्दो खेल्दै उनले स्वर्ण पदक जितिन् ।

विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएकी काजल वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६ औं ‘इन्टरनेसनल ग्योरोगी रेफ्री सेमिनार’ मा भाग लिँदै ‘अन्तर्राष्ट्रिय रेफ्री कोर्स’ पनि गरिन् । हाल उनले साग र एसियन गेम्स स्तरको तेक्वान्दो रेफ्रीको मान्यता पाएकी छन् । ‘यसबाट मेरो तेक्वान्दोप्रति सद्भाव र सम्मान झनै बढेको छ,’ श्रेष्ठले भनिन् । 

एउटा खेलाडी, प्रशिक्षक र अन्तर्राष्ट्रिय रेफ्रीसम्म यात्रा गरिरहँदा सफलताभन्दा बढी असफलताले बलियो बनाएको बुझेकी छन्, काजलले । अझ केही समयअघि अस्ट्रेलियाको ब्रेसबेनमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिन् । यसअघि जापानको ओसाकामा भएको २०औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र थाइल्यान्डको बैंककमा सातौं हिरोज इन्टरनेसनल प्रतियोगितामा पनि उनी निर्णायक थिइन् ।

गत जनवरी ९ मा दक्षिण कोरियाको मुजु सहरमा आयोजित अन्तर्राष्ट्रिय रेफ्री कोर्ससमेत गरिसकेकी उनले गत महिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको वर्षको उत्कृष्ट तेक्वान्दो खेलको अवार्ड पनि उनले जितेकी थिइन् । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully