‘बेहुली फ्रम मेघौली’ को उत्साहप्रद सुरुवात

‘जोकर २’ सँग भिडिरहेको फिल्मलाई आगामी साता थपिने तीन नेपाली फिल्म ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ थप चुनौती बन्न सक्छन्

आश्विन १८, २०८१

कान्तिपुर संवाददाता

'Behuli from Meghauli' has an exciting start

काठमाडौँ — उमेर पुगेकी युवतीलाई घरपरिवारदेखि समाजले विवाहका लागि दिने चर्को दबाब र त्यसको प्रतिक्रियामा निम्तने क्रियाकलापलाई हास्यशैलीमा प्रस्तुत गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बिहीबारदेखि देशव्यापी प्रदर्शन थालेको छ । फिल्ममा बुबाले छोरीका लागि योग्य वरको खोजीका लागि गर्ने संघर्ष अनि छोरीले प्रेम प्राप्तिका लागि गर्ने प्रयासबीचको द्वन्द्वलाई केन्द्रमा राखेर कथावाचन गरिएको छ । 

देशका मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाजसहित बिग मुभिज, एफक्युब सिनेमाजलगायतले उल्लेख्य सोज दिएको उक्त फिल्मले पहिलो दिन उत्साहजनक व्यापार गरेको छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको फिल्मले प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार साँझ भक्तपुरस्थित क्यूएफएक्स हलमा ग्रान्ड प्रिमियर गरेको थियो । पृथक् शैलीको प्रिमियरमा नायिका स्वस्तिमा खड्का फिल्मकी मुख्य पात्रकै चरित्रमा देखिने गरी रेड कार्पेटमा ट्र्याक्टर चलाएर पुगेकी थिइन् । 

‘चलचित्र बेहुली फ्रम मेघौली हेर्ने अवसर मिल्यो, रमाइलो अनि सन्देशमूलक रहेछ,’ कलाकार केदारप्रसाद घिमिरेले प्रिमियरपछि फिल्मको प्रशंसा गर्दै भनेका छन् । त्यसैगरी पटकथा लेखक सम्पदा मल्लले पनि मनोरञ्जनात्मक महिलाप्रधान फिल्म बनेकोमा खुसी व्यक्त गर्दै ‘बेहुली फ्रम मेघौली’ को हाइलाइट्स नै स्वस्तिमा भएको टिप्पणी गरेकी छन् । ‘उनी यति बहुमूल्य कलाकार हुन्, जसले जुनसुकै भूमिकालाई पनि सुन्दर ढंगले निर्वाह गर्ने सामर्थ्य राख्छिन् । यो फिल्म पूर्णतः उनैको हो,’ मल्लले भनेकी छन् । त्यसो त यसै फिल्मबाट स्वस्तिमा फिल्म निर्माणमा पनि छिरेकी छन् । 

फिल्ममा स्वस्तिमा र निश्चलबाहेक सिमरन खड्का, रक्षा थापा, विजय बराल, लोकेन्द्र लेखक, वसुन्धरा भुसाल, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ । फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मको लेखन पनि निर्देशकद्वयकै हो । फिल्मका गीत ‘उडायो मन’ र ‘छड्के सलाम’ लाई दर्शकले अत्याधिक रुचाइसकेका छन् भने बिहीबार नै अर्को गीत ‘मायाको दोष’ पनि रिलिज गरिएको छ । गीत र ट्रेलरले नै प्रतीक्षित बनाएको उक्त फिल्मको व्यापार भिडन्त भने सहज देखिएको छैन । 

बाढीपहिरोको राष्ट्रिय विपद्का कारण गत सातादेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘सानो संसार’ र ‘आँखा’ ले व्यापारमा प्रत्यक्ष असर व्यहोर्नुपर्‍यो । दर्शक नै हलसम्म नआएपछि ‘सानो संसार’ ले त रिलिजको एक दिनमा नै प्रदर्शन स्थगित गर्दै कात्तिक ९ मा सरेको छ । यसअघिका फिल्मले ‘होल्ड ओभर’ कायम राख्न नसकी हल खाली छोडिदिएको सुरुवाती दिनको फाइदा ‘बेहुली फ्रम मेघौली’ ले उठाए पनि शुक्रबारदेखि हलिउड फिल्म ‘जोकर २’ पनि प्रदर्शनमा आउने भएपछि सोज बाँडिएका छन् । क्यूएफएक्स सिनेमाजले उपत्यकाभित्रका आफ्ना सात मल्टिप्लेक्समा शुक्रबारका लागि ‘बेहुली फ्रम मेघौली’ र ‘जोकर २’ लाई क्रमशः ३४ र ३३ सोज दिएको छ भने अन्य मल्टिप्लेक्सको सोज अनुपात पनि लगभग यस्तै देखिन्छ । 

त्यसबाहेक पनि स्वस्तिमाको फिल्मलाई आगामी साता फूलपातीदेखि प्रदर्शनमा आउने थप तीन नेपाली फिल्महरू ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ व्यापारिक चुनौती बन्न सक्छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको व्यापारिक रूपमा सफल सिरिज ‘छक्कापञ्जा’, विराज भट्टले आफ्नै निर्देशनमा छोरा समीरलाई नायकका रूपमा डेब्यु गराइरहेको एक्सनप्रधान ‘१२ गाउँ’ र जीतु नेपाल–नीति शाहको जोडीलाई लिएर निर्देशक वसन्त निरौलाले बनाएको कमेडी फिल्म ‘ज्वाइँसाब’ प्रति पनि दर्शकको चासो देखिन्छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully