७ वर्षयता खरेलले विभिन्न प्रजातिका करिब ४ सय चराको तस्बिर खिचिसकेका छन्, मेचीनगर क्षेत्रमा मात्रै ३ सय ८२ प्रजातिका चरा फेला परिसकेको दाबी
विराटनगर — खासमा उनी ‘वेडिङ फोटोग्राफी’ गरेर जीविका चलाइरहेका थिए । तर, स्टुडियो सुरु गरेको वर्ष दिन पनि नबित्दै रुचि अचानक फेरियो । नदीले धार फेरे जस्तै । यो करिब ८ वर्षअघिको कुरा हो, झापाको मेचीनगर–६, काँकडभिट्टाका देवेन खरेलको ।
‘खासमा मेरो भित्री रुचि फोटोग्राफीबाट फरक काम गर्ने थियो,’ खरेलले सुनाए, ‘बिहेको भिडियो खिचेर हुन्न भन्ने लागेपछि चराको फोटो खिच्न सुरु गरें ।’ कार्जेहरूको फोटो खिच्ने काम छाडेर चराचुरुंगी खोज्दै हिँड्न थालेका खरेलले छोटो समयमा नयाँ–पुराना सयौं चराको फोटो मात्रै खिचेनन्, चरा अनुसन्धानमा उल्लेख्य काम पनि गरेर देखाए ।
२०७८ पुस ६ मा चरा खोज्दै इलामको सूर्योदय नगरपालिका–१ सिमधाप पुगेर नजिकैको वन क्षेत्रमा टहलिँदै थिए उनी । अचानक एक जोडी ‘रुफ्स–नेक्ड हर्नबिल’ अर्थात् हङरायो देखे । पहिला त उनी अत्तालिए, पछि सम्हालिँदै र हत्तारिँदै क्लिक गरिहाले । हङरायो देखेर उनी आत्तिनु र हत्तारिनुको कारण के थियो भने हङरायो नेपालबाट लोप भइसकेको चरा थियो । ‘हराइसकेको हङरायो फेला पर्ला भन्ने त मेरो कल्पनामै थिएन,’ खरेलले त्यो क्षण सुनाए, ‘हङरायोको तस्बिरले मेरा जीवनमा नयाँ मोड ल्याइदियो ।’
वनस्पतिविद् कमल मादेनका अनुसार अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले सन् २०२० मा जारी गरेको एक सामग्रीमा नेपालमा ‘रुफ्स–नेक्ड हर्नबिल’ लोप भइसकेको उल्लेख छ । जसअनुसार यो पन्छी भुटान, उत्तरपूर्व भारत, म्यान्मार, दक्षिणपूर्व तिब्बत, चीन, थाइल्यान्ड, लाओस र भियतनाममा मात्रै पाइन्छ । ‘आईयूसीएनले सन् १९९४ यता यो पन्छीलाई लोपोन्मुखमा सूचीकृत गरेको छ,’ मादेन भन्छन्, ‘लोप भइसकेको ठानिएको चरा नेपालमा फेला पार्नु खरेलजीका लागि ठूलो उपलब्धि र अनुसन्धानकर्ताका लागि चुनौती हो ।’
चरा अनुसन्धानकर्ता ब्राइन हड्सनले सन् १८२९ ताका भेटेयता नेपालमा हङरायोको अस्तित्व कसैले पुष्टि गर्न सकेका थिएनन् । विज्ञहरूको दाबी थियो, ‘यो चरा नेपालमा लोप भइसकेको छ ।’ तर, झन्डै दुई सय वर्षपछि फोटोग्राफर खरेलले हङरायो फेला पारेपछि अन्तर्राष्ट्रियस्तरमै तरंग पैदा भएको थियो । ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने नेपाली उखान पूर्वी पहाडमा चर्चित छ । तसर्थ पूर्वमा हङरायो भेटिन सक्ने दाबी वनस्पतिविद् मादेनको थियो । ‘यही उखान सम्झिँदै जंगल चहार्दा संयोगले फेला पारेको हुँ,’ खरेलले सुनाए ।
२०७७ मंसिर १४ मा खरेलले ‘हरित परेवा’ प्रजातिको चरा फेला पार्दा देशभर तरंग पैदा भएको थियो । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अंग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ नामको हरित परेवा मेचीनगर नगरपालिका–७ को सतिघट्टा क्षेत्रमा फेला पारेका थिए । यो परेवा पनि नेपालमै पहिलोपल्ट फेला पार्ने श्रेय खरेलकै पोल्टामा जान्छ । फोटो खिचेर पन्छी संरक्षण संघ र चराविद् हेमसागर बराललाई पठाएपछि हरित परेवा नै भएको पुष्टि भएको थियो । हरित परेवा फेला पारेको केही समयपछि उनले ‘पेरेगरिन फाल्कोन’ भनिने शाहीबाजको दुर्लभ तस्बिर खिचे । शाहीबाज विश्वकै तीव्र गतिमा उड्ने चरा हो । यसले प्र्रतिघण्टा ३ सय २० किलोमिटरसम्म उड्न सक्ने क्षमता राख्ने विज्ञहरूको दाबी छ ।
चरा खोजकै क्रममा करिब चार महिनाअघि खरेल उक्लिए, इलामको हिमाली क्षेत्र सन्दकपुर । त्यहाँ ‘फरेस्ट पाइका’ नामक जंगली ठुटे खरायो पहिलो पटक नेपालमा भेटिएको दाबी गरे । भारतसँग सीमा जोडिएको उत्तरी इलामको सन्दकपुरमा उनले ठुटे खरायो फेला परेका थिए ।
धेरै चरा पाइने देशको सूचीमा नेपाल २२ औं स्थानमा छ । नेपालमा करिब ८ सय ८७ हाराहारी प्रजातिका चरा पाइने रेकर्ड छ । चरा पछ्याउँदै हिँड्न थालेको करिब ७ वर्षयता खरेलले विभिन्न प्रजातिका करिब ४ सय चराको तस्बिर खिचिसकेका छन् । ‘जसमा मेचीनगर क्षेत्रमा मात्रै ३ सय ८२ प्रजातिका चराचुरुंगी फेला परिसक्यो,’ उनले सुनाए, ‘सम्भवतः नेपालकै सबैभन्दा बढी चरा पाइने नगरपालिका मेची नगरपालिका हो ।’ मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेन्चुरी) का रूपमा विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकहरूको थाम्ने नसक्ने भीड लाग्ने दाबी उनको छ । नगरलाई चरा सिकार निषेध क्षेत्र घोषणा गरेर संरक्षणमा जुट्न सक्दा विदेशी पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जन गर्न सक्ने उनले बताए । मेचीनगरका मेची र निन्दा नदी आसपास, सामुदायिक वन, सिमसार क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जंगल आसपास अनौठा चरा देख्न सकिने उनी बताउँछन् ।
सर्वोच्च शिखर सगरमाथाभन्दा माथि उडान भर्ने ‘बार हेडेड गुस’ भनिने खोया हाँस मेची नदीमा देखापरेको थियो, गत फागुन १८ मा । खरेलका अनुसार मेची नदीमा खोया हाँस देखिनु अनौठो कुरा हो । स्थानीय संरक्षणकर्मी सन्दीप लुइँटेलले मेची नदीमा टहलिरहेका २० वटा खोया हाँस फेला पारेका थिए । पन्छी संरक्षणकर्मीका अनुसार खोया हाँस मंगोलिया, चीन तथा मध्यएसियाबाट नेपाल हुँदै भारत पुगेर पुनः फर्किने गरेका छन् । यो लामो दूरीको यात्रा तय गरेर आएको चरा हो । ‘मेचीमा देखिएको चाहिँ यो नै पहिलो पटक हो,’ खरेलले भने, ‘खोया हाँससमेत देखा पर्नुले मेचीनगरमा चराका लागि स्वर्ग हो भन्ने पुष्टि गर्छ ।’
मेचीनगरका भान्साखोला, बहुवन सामुदायिक वन, जोरसिमलदेखि उत्तरको क्षेत्रमा अनौठा र सुन्दर चरा चुरुंगीको बासस्थान छ । विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पी, सिलसिले हाँस, नीलकण्ठे भुइँचर, किङ फिसर, हुटिट्याउँका विभिन्न प्रजाति, चित्राडगड, मुसे चील मात्रै होइन सुनचरी, सिक्का, जुरे कोइली, कालोटाउके मुनिया आदि दुर्लभ चरा पनि यहाँ पाइन्छन् ।
मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चरा भुँडीफोर गरुड, फिस्टो र बुंगे चरा हराउँदै गएका छन् । खासगरी चराको बासस्थान क्रमशः मासिँदै गएको छ । यद्यपि भारतसँगको सीमावर्ती क्षेत्रका कारण मेचीनगर चराका लागि उपयुक्त गन्तव्य बन्न पुगेको छ । साइबेरिन चराहरूको आवागमन पनि यहाँ हुने गरेको छ ।
खरेलका अनुसार झापामै चरा संरक्षण गर्न सक्दा चरा हेर्न कोशी टप्पु या चितवनको सौराहा पुग्नैपर्ने बाध्यता टरेर जाने सम्भावना छ । ‘मेचीनगर चराचुरुंगीको उचित गन्तव्य पुष्टि भइसकेको छ,’ उनी थप्छन्, ‘स्थानीय सरकारले यो सम्पदालाई पर्यटनसँग जोड्न सक्दा फाइदै फाइदा छ ।’
