काठमाडौँ — फिल्म ‘पूर्णबहादुरको सारंगी’ को ट्रेलर बिहीबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । कात्तिक १५ मा रिलिज हुन लागेको उक्त फिल्मको ट्रेलरले गन्धर्व समुदायका बाबुछोराबीचको सम्बन्धलाई पर्गेल्ने प्रयास गरेको छ । जात व्यवस्थाविरुद्ध आवाज उठाएको फिल्ममा समाजद्वारा कसरी कथित तल्लो जातका भुइँमान्छेलाई दमन गरिन्छ भन्ने देखाउन खोजिएको छ ।
‘पूर्णबहादुरको सारंगी’ को पटकथा लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भन्ने लागेर यो विषय रोजेको उल्लेख गर्दै भने, ‘फिल्मले जे–जस्तो विषयवस्तुको उठान गर्न खोजेको छ, यो निम्न मध्यमवर्गीय नेपालीको आम कथा हो ।’ निर्देशक पौडेलका अनुसार धेरैलाई आफ्नै कथाजस्तो वा छरछिमेकमा नै देखेका घटना, विषय लाग्न सक्ने विश्वास व्यक्त गरे ।
‘पूर्णबहादुरको सारंगी’ मा विजय बराल र प्रकाश सपूतलाई बाबु र छोराको भूमिकामा देख्न सकिन्छ । बराल र सपूतसहित फिल्ममा अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बाँस्तोला, जान्वी पौडेललगायत कलाकारको अभिनय रहेको छ ।
प्रायः सहायक पात्रमा देखिँदै आएका विजय यस फिल्ममा मुख्य भूमिकामा देखिँदै छन् । फिल्मका सार्वजनिक प्रचार सामग्रीको सकारात्मक प्रतिक्रियाले आफू हौसिएको बताउँदै उनले कामको तारिफ हुँदा खुसीसँगै ऊर्जा मिलेको बताए । भने, ‘दर्शकले मलाई कमेडीमा देख्दै आउनुभएकोमा यसपटक मुख्य भूमिकामा र त्यो पनि चरित्र प्रधान गम्भीर भूमिकामा देख्नुहुनेछ, मैले पनि चरित्रमा भिजेर काम गर्न पाएको छु ।’
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको ‘पूर्णबहादुरको सारंगी’ लाई विनोद पौडेल र प्याट्रिक सुवेदीले संयुक्त रूपमा बनाएका हुन् । प्रशान्त शिवाकोटीले संगीत दिएको यस फिल्ममा हेमन्त कान्छा रसाइलीको सारंगी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।
