साफ महिला च्याम्पियनसिप : नजरमा पाँच खेलाडी

अबको साताभन्दा केही दिन बढी नेपाली खेलकुद ‘महिला फुटबलमय’ हुने

कार्तिक १, २०८१

हिमेश

SAFF Women's Championship: Five players in sight

काठमाडौँ — सबैले भन्ने गरेका छन्, अबको नेपाली फुटबल भनेकै महिला फुटबल हो । यसका केही खास कारण छन् । पहिलो, अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको सम्भावना अलिकति धेरै नै छ । फेरि व्यक्तिगत रूपमै पनि महिला खेलाडीलाई विदेशमा गएर खेल्ने मौका हुन्छ ।

अझ त्यो पनि युरोपमै । यो पृष्ठभूमि किन भन्दा आज बिहीबारदेखि दशरथ रंगशालामा सुरु हुँदै छ, महिला साफ च्याम्पिनयसिप २०२४ । अबको सात दिनभन्दा केही बढी नेपाली खेलकुद ‘महिला फुटबलमय’ हुनेछ । 

यहाँनिर एउटा सत्य के पनि छ भन्दा नेपालले अहिलेसम्म कुनै एक उपाधि जित्न सकेको छैन । भलै, नेपालले पछिल्लो साढे दुई दशकमा ११ फाइनल खेलिसकेको छ । महिला साफ च्याम्पियनसिपमै मात्र नेपालले पाँचपल्ट फाइनल खेलेको छ । तर प्रत्येकपल्ट नेपालले निर्णायक खेलमा निराश हुनुपरेको छ । यसपल्ट के होला त ? सबै प्रकारले बढी सम्भावना भएको महिला फुटबलमा पहिलो ऐतिहासिक सफलता यसपल्ट मिल्छ त ? 

यो निर्भर हुनेछ यी पाँच खेलाडीमा । यिनीको खेल साँच्चै हेर्नलायक हुनेछ । 

एन्जिला तुम्बापो सुब्बा (गोलकिपर)

सबैभन्दा पहिले एन्जिला तुम्बापो सुब्बालाई धेरै धन्यवाद, एउटा त्यागपूर्ण कामका लागि । महिला साफ च्याम्पियनसिप नहुँदो हो त उनी यति बेला ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी हुन्थिन् । तर त्यही मौका त्यागेर पनि एन्जिला अहिले काठमाडौंमै छिन्, साफ खेल्नका लागि । उनी भन्छिन्, ‘हामी खेल्ने त उपाधि जित्नकै लागि हो ।’ उनी नेपाली टिमकै सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । किनभने उनकै जिम्मामा हुनेछ नेपाली गोलपोस्ट । त्यसमाथि उनी कप्तान पनि हुन् । फेरि यी एन्जिला भलाद्मी उत्तिकै छिन् । अझ उनी अभिनीत सिनेमा चाँडै रिलिज हुँदै छ । भनेपछि उनी नायिका खेलाडी पनि हुन् । 

गीता राना (डिफेन्डर)

नेपाली टिमका खेलाडीलाई लहरै हेर्नुपर्छ, एउटा खेलाडीलाई टाढैबाट देख्न सकिन्छ । उनी हुन्, डिफेन्डर गीता राना । कारण स्पष्ट छ, उनको उचाइ । नेपाली टिमलाई के लाग्छ भने सायद रक्षापंक्तिमा केही समस्या छ । यसै समस्याका कारण समय–समयमा टिम अप्ठ्यारोमा पर्ने गर्छ । अब यो समस्या समाधान गर्न सक्ने एउटै खेलाडी भनेकी तिनै गीता त हुन् । गीता त्यस्ता खेलाडी हुन्, जसले एन्जिलालाई सुरक्षित महसुस गर्न मदत दिन सक्छिन् । गीताको उपयोगिता यत्तिकैमा सकिन्न । उनी काउन्टर एट्याकमा समेत अगाडि बढ्न सक्छिन् । फेरि चाहिएका बेला पेनाल्टी प्रहारको जिम्मा पनि उनकै त हो । 

रेनुका नगरकोटे (मिडफिल्डर)

नेपाली टिमका सबैभन्दा सिनियर खेलाडी हुन्, रेनुका नगरकोटे । उनी पूर्वकप्तानसमेत हुन् । चोटका कारण उनी दुईपल्ट त ठूलै शल्यक्रियाबाट पनि गुज्रिसकिन् । तर, यसले पनि उनको हौसला रोक्न सकेको छैन । त्यसै त हो, रेनुकाले लगातार खेलिरहेकी छन् । यो लगातार खेलको सिलसिला कस्तो भने सन् २०१० मा उनले पहिलो साफ च्याम्पियनसिपसमेत खेलेकी थिइन् । यसपल्ट रेनुकाको काम हुनेछ नेपाली टिमका लागि परिस्कृत खेल बुन्ने । अझ फुटबलको भाषामा भन्दा ‘प्लेमेकर’ । अनि सबैले बुझ्ने भाषामा भन्दा मध्यपंक्तिमा रहेर अवसर सिर्जना गर्ने । रेनुकाको अनुभव नेपाली टिमलाई असाध्यै आवश्यक छ । 

प्रीति राई (मिडफिल्डर)

गीता जस्ती खेलाडी छिन्, त्यसको ठीक विपरीत छिन्, प्रीति राई । यो भनेको के भन्दा उनी केही होची छिन् । फरक के नै पर्‍यो र भने ? २० वर्षकी भइन् । भर्खर टिन–एज छाडेकी खेलाडी । तर उनको खेल भने आफैंमा परिपक्व छ । उनी पनि मध्यपंक्तिमा रहेर मौका सिर्जना गर्न माहिर छिन् । उनको खेलका केही खास विशेषता छन् । त्यो हो, आकर्षक ढंगमा ड्रिब्लिङ गर्ने । यत्तिले नपुगेर बलमाथि पनि उत्तिकै सटिक नियन्त्रण राख्छिन् । अझ हुँदाहुँदा पेनाल्टी एरियाबाहिरबाट पोस्टतिर कडा प्रहार गर्न माहिर छिन् । अब यो भन्दा बढी के नै चाहियो र ? नपत्याएर हेर्नु, उनको खेल हेर्दा साँच्चै आनन्द आउँछ । 

सावित्रा भण्डारी (स्ट्राइकर)

सावित्रा भण्डारीको कुरै बेग्लै । नामै ‘साम्बा’, कामै साम्बा । क्रिस्टियानो रोनाल्डोका यी प्रशंसक ब्राजिली पाराको फुटबल रूचाउँछिन्, त्यसैले साम्बा उपनाम । विपक्षीलाई तर्साउन पनि उनकै नामै काफी छ । यसको कारण हो, युरोपमा खेल्दाको अनुभव । नेपालका लागि उनले ५३ गोल गरिसकेकी छन् । यसले देखाउँछ, उनी कत्तिको खेलाडी हुन भनेर । फ्रान्समा व्यावसायिक फुटबल खेल्नुपरेकै कारण सावित्राले नेपालका लागि कम्तीमा पहिलो खेल गुमाउने तय छ । तर जतिबेला उनी नेपालका लागि यसपल्ट मैदानमा उत्रन्छिन्, एउटा तथ्य निश्चित छ, गोल निस्कन्छ । नेपाललाई चाहिएको पनि त त्यही हो ।

हिमेश

Link copied successfully