क्यानडामा छाए पञ्जाबका दिलजित

बिलबोर्ड म्यागेजिनको क्यानडा संस्करणमा भारतका ‘सुपरस्टार’ दिलजितको बृहत् कभरेज गर्दै छ भने यसरी विशेष संस्करणमा छापिने उनी पहिलो भारतीय कलाकारसमेत बन्ने भएका छन्, उनको एल्बम त्यहाँको म्युजिक चार्टमा पनि अग्रपंक्तिमा 

कार्तिक ४, २०८१

सजना बराल

Diljit from Punjab landed in Canada

काठमाडौँ — भारत–क्यानडाबीचको कूटनीतिक सम्बन्धमा अहिले ऐतिहासिक तिक्तता देखिइरहेका बेला संगीतले भने यी दुई देशलाई आपसमा जोडिदिएको छ । यसको सूत्रधार बनेका छन्, बलिउड कलाकार एवं पञ्जाबका ‘सुपरस्टार’ दिलजित दोसान्झ ।

बिलबोर्ड म्यागेजिनको क्यानडा संस्करणले यस पटक दिलजितको बृहत् कभरेज गर्दै छ । योसँगै उनी बिलबोर्ड म्यागेजिन र त्यसको पनि विशेष संस्करणमा छापिने पहिलो भारतीय कलाकारसमेत बन्दै छन् ।

दिलजितका गीत क्यानडामा कति लोकप्रिय छन् भने उनको एल्बम त्यहाँको म्युजिक चार्टमा अग्रपंक्तिमा आउने गरेको छ । क्यानडाका विभिन्न सहरमा आयोजित उनका कन्सर्ट हेर्न देशभरिबाट दर्शक ओइरिन्छन् । गत अप्रिलमा उनले आफ्नो नियमित ‘दिल–लुमिनाती’ कन्सर्ट भ्यानकुभरमा गर्दा ऐतिहासिक रूपमा ५४ हजार दर्शकको उपस्थित रह्यो । भारतबाहिर पञ्जाबी म्युजिक कन्सर्ट हेर्न यसअघि यति ठूलो संख्यामा सहभागिता थिएन । 

क्यानडामा मात्र होइन, विश्वका विभिन्न सहरमा हुने दिलजितका कन्सर्टको टिकट अनलाइनमा बिक्री खुला हुनासाथ केही मिनेटमै ‘सोल्ड आउट’ हुने गरेका छन् । कतिपय सञ्चारमाध्यमले उनलाई पछिल्लो समय भारतले निर्यात गर्ने सबैभन्दा ठूला पप–आर्टिस्टका रूपमा व्याख्या गर्न थालेका छन् । आफ्नो पञ्जाबी मूल यथावत् राखेर उनले अन्तर्राष्ट्रिय मञ्जमा दरिलो स्थान सिर्जना गरेको भारतीय पत्रकार मानषी शर्माको विश्लेषण छ । अन्तर्राष्ट्रिय कलाकारसँगको सहकार्यले उनलाई भारतमा त चर्चा दिलाएको छ नै, विदेशमा पनि भारतीय ‘डायस्पोरामा’ सीमित नरहेर अन्तर्राष्ट्रिय प्रशंसकमाझ पनि व्यापक ख्याति दिलाइरहेको छ । 

‘यसअघि पण्डित रवि शंकर, उस्ताद जाकिर हुसेन, संगीतकार एआर रहमान, गायिका श्रेया घोसालजस्ता भारतीय संगीत कलाकारहरू अन्तर्राष्ट्रियस्तरमा चर्चित नबनेका होइनन्, पञ्जाबी संगीतमा दलेर मेहन्दीका तुनक तुनक र बल्ले बल्ले गीत विश्वव्यापी पार्टीसँगका हिस्सा बन्दै आएका छन्,’ शर्माले इफोरएम पोर्टलमा लेखेकी छन्, ‘तर दिलजित किन फरक छन् भने उनी अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकी र्‍यापर सबिटी, अस्ट्रेलियन गायिका सिया र बेलायती गायक एड सिरनजस्ता प्रख्यात अन्तर्राष्ट्रिय कलाकारसँग आफ्नो पञ्जाबी मौलिकता यथावत् राखेर सहकार्य गर्न सफल भएका छन् ।’

दिलजित र उनले सन् २०२३ बाट सुरु गरेको सांगीतिक कार्यक्रम ‘दिल–लुमिनाती’ बारे बिलबोर्डले विस्तृत विवरण र पर्दा पछाडिका तस्बिरहरू प्रकाशित गर्ने भएको छ । चार फरक कभर पृष्ठसहित आउन लागेको म्यागेजिन सेट प्रि–अर्डरका लागि खुला गरिएको र इमेल तथा सिपिङमार्फत भौतिक प्रतिसमेत खरिद गर्न सकिने बिलबोर्डले जनाएको छ । क्यानडा, मेक्सिको, संयुक्त राज्य अमेरिका सहितका देश रहेको उत्तरी अमेरिकी महादेश र विश्वभर प्रभाव छोड्न सफल भएको भन्दै बिलबोर्डले दिलजितसम्बन्धी विशेष संस्करण निकाल्न लागेको हो । पञ्जाबस्थित जलान्धर जिल्लाको सानो गाउँमा जन्मिएका यी कलाकार कसरी विश्वकै अग्रणी पञ्जाबी ‘सुपरस्टार’ बन्न सके भन्नेबारे उनीसँगको लामो अन्तर्वार्ता र विश्लेषणात्मक लेख बिलबोर्डले प्रकाशन गर्दै छ ।

पछिल्लो समय दिलजित भारत र विश्वव्यापी रूपमा लोकप्रियताको उत्कर्षमा छन् । उनको दिल–लुमिनाती कन्सर्ट यति चर्चित छ, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा यसको टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भए । भारतमा अक्टोबर (आउँदो शनिबार), नोभेम्बर र डिसेम्बरमा हुन लागेको उनको यही दिल–लुमिनाती कन्सर्टको टिकट बिक्री सेप्टेम्बर १० मा खुला हुँदा १ मिनेटभित्रै अनलाइनमार्फत सबै बिक्री भएका थिए । सबैभन्दा सस्तो ६ हजारदेखि २० हजार रुपैयाँ तोकिए पनि कालो बजारीमार्फत सस्तो टिकटको पनि २० हजारदेखि २५ हजार भारतीय रुपैयाँमा बिक्री भएको खबर बाहिरिएका छन् ।

आगामी जनवरीमा हुने बेलायती रक ब्यान्ड कोल्डप्ले र दिलजितको कन्सर्टको अनलाइनमा हुने अग्रिम टिकट बुकिङ प्रकरणले यसपालि भारतमा ठूलै हंगामा मच्चायो । अनलाइन टिकट बिक्रीलाई नियमनको दायरामा ल्याउनुपर्ने मागसहित दिल्ली उच्च अदालतमा सार्वजनिक चासोको मुद्दा दर्ता भएको छ । अनलाइनमा टिकट काट्न नपाएका प्रशंसकहरूका लागि कोल्डप्ले र दिलजित दुवैले भारतमा कन्सर्टको दिन थपेर त्यसमा सहभागी हुने मौका दिएका छन् । 

संगीतसँगै फिल्ममा पनि उत्तिकै सक्रिय दिलजित सामाजिक–राजनीतिक विषयहरूमा खुलेर बोल्ने र आफ्नो धारणा, पक्ष/विपक्ष स्पष्ट राख्ने गरेका छन् । चार वर्षअघि भारतमा भएको किसान आन्दोलनका बेला उनले किसानको पक्षमा हरकिसिमले समर्थन गरेका थिए । आन्दोलनरत किसानलाई भेट्न सडकमै पुगे भने उनीहरूलाई चिसोबाट बचाउन न्यानो लुगा र कम्बल दिएका थिए । सामाजिक सञ्जालमार्फत उनले मोदी सरकारलाई किसानमा माग पूरा गर्न भनेका थिए । इन्स्टाग्राम, फेसबुक, एक्स, युट्युबमा उल्लेख्य फलोअर एवं सब्स्क्राइबर भएका उनलाई राजनीतिक विषयमा विचारहरू राख्दा कंगना रनौतजस्ता मोदीभक्तिले अराष्ट्रवादीसमेत भन्ने गरेका छन् ।

राजनीतिक टिप्पणी गर्न धक नमान्ने दिलजित आफ्ना पञ्जाबी हिपहप र भाङ्ग्रा गीतहरूमा भने कोलाकोलाजस्ता आँखा भएकी युवती र अमेरिकी हिपहप दुनियाँका ‘ल्याम्बर्गिनी’, ‘हाई एन्ड’ जस्ता साधारण विषयवस्तु प्रस्तुत गर्छन् । यसबारे भक्स मिडियाकी सुचरिता त्यागीले सोधेको प्रश्नमा उनले ठट्टा गर्दै भनेका छन्, ‘राजनीतिक गीत गाउन त मिल्दैन, मलाई जेल हाल्छन् ।’ 

दिलजितका ‘गोट’, ‘बर्न टु साइन’, ‘लल्कारा’, ‘ल्याम्बर्गिनी’, ‘जाट दा पाजामा’ जस्ता गीत निकै चर्चित छन् । उनले अभियन गरेको ‘उड्ता पञ्जाब’, ‘जोगी’, ‘अमर सिंह चम्किला’, ‘सुपर सिंह’ जस्ता फिल्म चलेका छन् ।

(एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully