नयाँ बाटो खोज्दै हिमाल चुचुरा

यस वर्ष ‘बेदिङ गो’ हिमालको उत्तर–पश्चिम मोहडाबाट आरोहण गर्ने नयाँ रुट पत्ता लगाएका पासाङ छिट्टै रोल्वालिङको अर्को रामदाङ हिमाल जाने बाटो बनाउने तयारीसहित सम्भवतः यसै वर्ष त्यसको बेसक्याम्प पुग्ने बाटो खोज्ने तयारीमा छन्

कार्तिक ५, २०८१

केदार शिवाकोटी

Mountain peaks looking for a new way

दोलखा — शरद ऋतु लागेसँगै हिमाली क्षेत्रमा आरोहीको चहलपहल बढ्न थाल्छ । हिमाल चढ्नेको चर्चा भए पनि हिमाल चढाउनेहरू भने पर्दा पछाडि नै हराउने गर्छन् । प्रायः पथप्रदर्शकले नै नयाँ–नयाँ बाटो खोज्दै पर्वतारोहीलाई ‘गाइड’ गर्छन् ।

आरोहीको स्वास्थ्यलाई ख्याल गर्दै सहज रूपमा हिमाल आरोहण गराउने काममा नेपालका ‘माउन्टेन गाइड’ अगाडि छन् । त्यसमध्येका एक हुन्, गौरीशंकर गाउँपालिका–९ बेदिङका ४५ वर्षीय पासाङ किदर शेर्पा । 

शरद ऋतु लागेपछि नयाँ रुट खोज्ने, बाटो बनाउने र नयाँ हिमाल आरोहण गर्ने चटारो सुरु हुन्छ । पासाङ पर्वतारोहीलाई अध्यापनसहित आरोहणको तालिमसमेत दिन्छन् । १६ वर्षको उमेरदेखि नै उनी हिमाल आरोहणमा निरन्तर लाग्दै आइरहेका छन् ।

पासाङले निकै कठिन मानिएको ६ हजार १ सय २५ मिटर अग्लो ‘बेदिङ गो’ हिमालको यस वर्ष सफल आरोहण गरेर नयाँ सफलता हात पारेका छन् । हिमपहिरो आइरहने उक्त हिमाल उनले अल्पाइन शैलीको नयाँ मार्ग बनाएर अमेरिकन पर्वतारोही ५३ वर्षीया डानिका गिल्बर्टलाई पनि चुचुरोमा पुर्‍याए । पासाङ र डानिकाले जोखिम मोलेर ४ रात ५ दिनमा ‘बेदिङ गो’ हिमालको उत्तर–पश्चिम मोहडाबाट असोज २८ को मध्याह्न १२ बजेर ७ मिनेटमा सफल आरोहण गरेका हुन् । 

Mountain peaks looking for a new way‘आरोहणका लागि ‘बेदिङ गो’ को उत्तर–पश्चिम मोहडालाई निकै कठिन मानिन्छ,’ पासाङले भने, ‘तर हामीले बाटो बनाउँदै त्यही मोहडाबाट चढ्न सफल भयौं, अब ‘बेदिङ गो’ चढ्न चाहनेका लागि नयाँ रुट थपिएको छ ।’ यसअघि ‘बेदिङ गो’ चढ्न गएको जापानी टोली भने असफल भएर फर्किएको उनले सुनाए । ‘बेदिङ गो’ शिखरबाट तिब्बती उपत्यकाका नयाँ हिमतालहरू देखिने उनले बताए । ‘ती हिमतालबारे अध्ययन भएको छ/छैन थाहा भएन तर ती नेपालको तामाकोशीको जलाधार क्षेत्रमा पर्छन्,’ पासाङले भने । ‘बेदिङ गो’ हिमालको दक्षिणी भेगबाट भने यसअघि नै आरोहण भइसकेको छ । १७ वर्षको उमेरमा नै सगरमाथा आरोहण गरेका पासाङले हालसम्म ७ पटक यसको चुचुरो चुमिसकेका छन् । 

यस्तै मनास्लु, चोयु, तिब्बतको सिसापाङ हिमालसमेत आरोहण गरिसकेका पासाङ सन् २०१७ मा अध्ययन सकेर अन्तर्राष्ट्रिय ‘माउन्टेन गाइड’ बनेका हुन् । हिमाल चढेर रेकर्ड राख्नभन्दा पनि नयाँ हिमाल खोज्ने र त्यसको रुट बनाउने काममा आफूलाई बढी रुचि भएको उनले बताए । ‘नयाँ हिमालको खोजी गर्ने र त्यसमा चढेर उचाइ मापन गर्नेसहित रुट निर्माणमा बढी लाग्दै आएको छु,’ उनले थपे, ‘सबै जनाले ८ हजार माथिका हिमाल आरोहण गर्न सक्दैनन्, हिमाल चढ्ने इच्छा भएकालाई ८ हजारभन्दा कम उचाइका हिमाल आरोहण गर्न सहजीकरण गरिदिने गरेको छु ।’ गत वर्ष एक दृष्टिविहीन अमेरिकी महिला लुयन पर्कलाई रोल्वालिङ क्षेत्रकै ५ हजार ६ सय ५० मिटर उचाइको यलुङरी हिमालको सफल आरोहण गराइदिएको उनले बताए । 

‘अमेरिकन पर्वतारोही साथीले आँखा नदेखे पनि हिमाल चढ्न मन भएको बताइन्,’ पासाङले भने, ‘गत वर्ष शरद ऋतुमा यलुङरी आरोहण गराइदिएँ, एक दृष्टिविहीनलाई हिमाल चढाउन सकेकामा त्यो दिन निकै हर्ष लागेको थियो ।’ सोही वर्ष उनले अर्की अफगानी युवती साइदालाई पनि यलुङरी हिमाल चढाएका थिए । ‘अफगानी युवतीले हिमाल हेर्ने र चढ्न रहर गरेकाले आवश्यक तालिम दिएर आरोहण गराइदिएँ,’ भने, ‘अफगानिस्तानका महिलाले हिमाल चढ्ने रहर राखेकामा भने मलाई अचम्म लागेको थियो ।’ ८५ वर्षको उमेरमा सगरमाथा चढेका कीर्तिमानी आरोही युचिरो मिउरालाई पनि उनले १० वर्षअघि नै सगरमाथा चढाएको सम्झन्छन् । 

Mountain peaks looking for a new wayपासाङ आरोहणका लागि नयाँ खोजिएका हिमालसम्म चढ्ने सुरक्षित बाटो बनाएर आरोहण सफल भएपछि त्यसको प्रतिवेदन बनाई पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघलगायत हिमालसम्बन्धी संस्थालाई दिने गर्छन् । सन् २०१७ मा रोल्वालिङकै ६ हजार ३ सय ५७ मिटर उचाइको लाङदुङ हिमाल संसारका ८ हजार माथिका सबै हिमाल चढ्ने कीर्तिमानी आरोही दाबा याङजुसहित दाबा ग्याल्जेन निमातेन्जी र पासाङले पहिलो पटक आरोहण गरेपछि अन्यका लागि पनि बाटो खुलेको थियो । नेपालमा ७४ जना अन्तर्राष्ट्रिय माउन्टेन गाइड भएको उनी बताउँछन् । 

‘विगतमा यो कोर्स पूरा गर्न फ्रान्स र स्विट्जरल्यान्ड जानुपर्ने भए पनि अहिले भने नेपालमै पढाइ हुने गरेको छ,’ पासाङ यो कोर्स गर्ने आफू नेपालको आठौं ब्याच भएको बताउँछन् । हाल उनी पर्वतारोहीलाई हिमाल चढ्न सिकाउन सक्रिय छन् । २६ दिन रोल्वालिङका हिमालमा हिमपहिरो, बाटो, ढुंगालगायतको अध्ययन गराउँदै हिमाल चढ्न प्रशिक्षित गराइन्छ । अनि काठमाडौंमा १४ दिन हिमालसम्बन्धी पढाइ हुने गरेको उनले बताए । पुनः मनाङको खाङ्ला पासमा रोल्वालिङकै जस्तो पढाइ र प्रशिक्षण दिने गरेको उनले बताए । त्यसपछि २ वर्ष गाइड बन्न चाहनेले आफ्नै स्रोतमा हिमालमा जाने, चढ्नेलगायतको काम गर्नुपर्ने उनले बताए । अन्तिममा २ वर्षपछि परीक्षा लिइन्छ । परीक्षा पास गरेपछि मात्रै अन्तर्राष्ट्रिय माउन्टेन गाइडको आधिकारिक प्रमाणपत्र दिइने गरेको उनले बताए । 

‘वर्षमा २० देखि ३० जनाले यो कोर्सका लागि भर्ना हुने गरेका छन्,’ उनले भने, ‘परीक्षामा सामेल भएकाहरूमध्ये मुस्किलले ५/७ जना मात्रै पास हुने गरेका छन् ।’ हिमाल चढ्नेहरूका लागि यो कोर्स विद्यावारिधि गरेजत्तिकै रहेको उनले बताए । अहिलेसम्म ५० जनालाई यो कोर्स गराएको उनले बताए । कोर्स पूरा गरेकाले मात्रै अन्तर्राष्ट्रिय माउन्टेन गाइडको मान्यता पाउँछन् । ‘बेदिङ गो’ उत्तर–पश्चिम मोहडाबाट आरोहण गरेसँगै पासाङले रोल्वालिङको अर्को रामदाङ हिमाल जाने बाटो बनाउने तयारी थालेको बताए । यो वर्ष सम्भव भए उक्त हिमालको बेसक्याम्प पुग्ने बाटो खोज्ने तयारी गरिरहेका उनी नभ्याए अर्को वर्ष शरद ऋतुमा बाटो बनाएर उक्त हिमाल आरोहण गरेर उचाइ नाप्ने योजनामा छन् ।

केदार

Link copied successfully