'गरिबका बैंकर'लाई बंगलादेशको बागडोर

मोहम्मद युनुसलाई सन् १९७० को दशकमा लघुवित्तमार्फत मानिसहरूलाई गरिबीको चपेटाबाट बाहिर निकालेकोमा श्रेय दिइन्छ । उनी अहिले बंगलादेशको राजनीतिक संकट टार्ने सर्वमान्य व्यक्तिको रुपमा शासकीय बागडोर सम्हाल्न आइपुगेका छन् ।

श्रावण २४, २०८१

कान्तिपुर संवाददाता

'Banker of the poor' reins in Bangladesh

काठमाडौँ — शेख हसिना वाजेदको सत्तासहित देश बहिर्गमनपछि बिहीबारबाट बंगलादेशको शासन सत्ताको बागडोर मोहम्मद युनुसको हातमा पाइपुगेको छ । अन्तरिम सरकारको प्रमुखको रुपमा ८४ वर्षीय युनुसले अब बंगलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी पाएका छन् ।

शेख हसिनाको शासनकालमा पूर्वाग्रहको रुपमा उनीमाथि लगाएका सबै मुद्दाहरूबाट बुधबार सफाइ पाएपछि युनुस अब मुलुक हाँक्ने जिम्मेवारीमा आएका हुन् । उनको बिहीबार शपथपछि औपचारिक कार्यभार सुरु हुँदैछ । 

हसिनाको शासनकालमा  भ्रष्टाचार र कानुन उल्लंघनका नाममा दर्जनौैं मुद्दा खेपेका युनुस खासमा बंगलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय  समुदायमा समाजिक अभियानहरूका कारण चर्चित र सम्मानित छन् ।

त्यही सम्मानित व्यक्तित्वका कारण मुलुकको राजनीतिक संक्रमणकाललाई पार लगाउने अभिभावकका रूपमा युवापुस्ताले युनुसलाई भरोसाका रूपमा अघि सार्‍यो । हसिनाको सत्ता ढाल्ने कारक बनेको विद्यार्थी आन्दोलनका अगुवाहरूले सुरूमा युनुसलाई अन्तरिम सरकारको प्रमुखको रूपमा अघि सारेका हुन् । विद्यार्थी आन्दोलनका अगुवाको मागलाई सम्बोधन गर्दै बंगलादेशको सेना र  अन्य राजनीतिक दलहरूले पनि युनुसलाई जिम्मेवारी दिन तयार भए । सबैको आग्रहलाई स्वीकार्दै युनुस सरकारको प्रमुख बन्न तयार भएका हुन् । 

युनुस बंगलादेशले हासिल गरेको सामाजिक र आर्थिक समृद्धिको योजनाकार पनि हुन् । उनले ग्रामीण विकास बैंकको स्थापनामार्फत धेरै गरिबहरूको आर्थिक उन्न्नयनका लागि भूमिका खेले । यही कामका कारण उनले नोबेल शान्ति पुरस्कारसमेत प्राप्त गरे । यद्यपि शेख हसिनाले भने उनलाई 'गरिबमारा र सुदखोर'को संज्ञा दिइरहिन् । 'Banker of the poor' reins in Bangladesh

युनुसको जन्म १९४० मा चटगाउँमा भएको थियो । सन् १९६१ मा ढाका विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण युनुसले केही समय चटगाउँमा कलेजमा अध्यापन पनि गरे । यसैताका उनले एउटा प्याकेजिङ उद्योग पनि खोल्न भ्याएका थिए । सन् १९६५ मा उनले अमेरिकामा अध्ययन गर्नका लागि फुलब्राइट छात्रवृत्ति पाए र त्यहाँको भ्यान्डरबिल्ट विश्वविद्यालयबाट सन् १९७१ मा पीएचडी गरे ।

अमेरिकामा अध्ययनरत रहँदा उनलाई एउटा विश्वविद्यालयमा असिटेन्ट प्रोफेसरका रूपमा अध्यापन गर्ने अवसर पनि जुट्यो ।  त्यही बेलामा बंगलादेशमा स्वतन्त्रताको आन्दोलन चर्किएको थियो । अमेरिकामै बसेर उनले स्वतन्त्रता आन्दोलनका पक्षमा जनमत निर्माणको अगुवाइ गरे । बंगलादेश स्वतन्त्र भएपछि उनलाई योजना आयोगमा नियुक्त गरियो । तर, त्यहाँ उनी धेरै समय रमाउन सकेनन् । त्यसलाई छाडेर चटगाउँ विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुख हुन पुगे ।

उनको लघुवित्त अभियानको सुरुवात चटगाउँ विश्वविद्यालय छेउमै रहेको जोब्रा गाउँका अति गरिब ४२ महिलालाई बाँडिएको ३० डलरको लघु कर्जाबाट सुरु भएका थियो । ती महिलाको उद्यम भनेको बाँसका फर्निचर बनाउनु थियो । युनुसको विश्वास र लगनले सन् १९७६ देखि उक्त अभियानले नतिजा दिन थाल्यो । सोही वर्ष जोब्राका महिलाहरूमा प्रवाह गर्नका लागि सरकारी जनता बैंकबाट ऋण लिन सफल भए । उक्त क्रम चलिनै रह्यो ।

सन् १९८२ मा आइपुग्दा विभिन्न बैंकबाट ऋण लिनेहरूसमेत गर्दा युनुसको संस्थासँग करिब २८ हजार सदस्य आबद्ध भएका थिए । बढ्दो सञ्जालबाट उत्साहित युनुसले १ अक्टोबर १९८३ मा गरिबहरूलाई सहज र सरल ऋण उपलब्ध गराउन आफ्नै बैंक खोल्ने निर्णय लिए र स्थापना भयो-ग्रामीण बैंक ।

युनुसको ग्रामीण मोह वित्तीय घेरामा सिमित रहेन । ग्रामीण बैंकको सफलतापछि उनी त्यसैमा रोकिएनन् । एकपछि अर्का नयाँ कार्यक्रमहरू अघि सार्दै गए । सिर्जनाशीलता र नयाँ सोच युनुसका पहिचान हुन् । वार्षिक २ डलरमा पूरै परिवारको स्वास्थ्य बिमा, १० लाख घरधुरीमा सौर्यटुकीजस्ता दर्जनौं अभियान र कार्यक्रमहरू उनको अगुवाइमा सञ्चालन भए । (ग्रामीण मोत्सो -माछापालन), ग्रामीण कृषि, ग्रामीण सफ्टवेयर, ग्रामीण साइबरनेट, ग्रामीण निटवेयर, ग्रामीण टेलिकम आदिको पनि उनले अगुवाइ गरे ।'Banker of the poor' reins in Bangladesh

युनुसको ग्रामीण अभियान विश्वका गरिब मुलुकका लागि मात्र नभई कतिपय धनी मुलुकका लागि मागदर्शक बन्यो । ग्रामीण बैंकले प्रवाह गरेको लघु कर्जामध्ये ९४ प्रतिशत अंश गरिब महिलाहरूमाथि नै प्रवाह भएको थियो । त्यसैले बंगलादेशलाई 'होम अफ माइक्रो क्रेडिट'का रूपमा चिनायो । 

सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएलगत्तै  बंगलादेशमा विकास हुनसक्छ भनेर धेरै पश्चिमाहरूले आशंका व्यक्त गरेका थिए । त्यसताका बंगलादेश आफैंमा स्वतन्त्र राज्यका रूपमा टिक्न सक्छ कि सक्दैन भनेर शंका गरिएको थियो । तर बंगलादेशलाई एउटा देशका रूपमा स्थापित हुन र पश्चिमाहरूका आशंकालाई गलत साबित गराउन युनुस जस्ता व्यक्तिको पनि हात रह्यो । अहिलेको बंगलादेश आर्थिक रूपमा सबल बन्ने बाटोमा छ । दक्षिण एसियामा अब्बल विकास र आर्थिक क्षमता विस्तार गरिरहेको मुलुकका रुपमा बंगलादेश अघि बढेको छ ।

बंगलादेशका महिलाहरू विकासका वास्तविक संवाहक हुन् भन्ने प्रमाणित गरेर देखाउन युनुसको अभियानको पनि हात छ । बंगलादेशको कपडा उद्योगमा कार्यरत अधिकांश मजदुर महिला छन् । आफ्नो अभियानका कारण युनुस बंगलादेशमा त पुज्य थिए नै उनको काम अन्य मुलुकमा पनि विस्तार भयो । त्यसैको चिनारी हो उनले पाएका अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानको सूची ।

नोबल पुरस्कार, प्रेसिडेन्सिअल मेडल अफ फ्रिडम र कङ्ग्रेसनल गोल्ड मेडल पाउने सातवटा व्यक्तिहरूमध्ये उनी एक हुन् । युनुस र उनको ग्रामीण बैंकले संयुक्त रूपमा २००६ मा नोबल शान्ति पुरस्कार पाएको थियो । नोबल पुरस्कार छनोट कमिटीले युनुसले विश्वबाट गरिबी हटाउने दीर्घकालीन लक्ष्य राखेका कारण उक्त पुरस्कार दिएको जनाएको थियो ।

सन् २००६ मा विश्व प्रसिद्ध टाइम म्यागजिनले बितेको ६० वर्षका एसियन हिरोहरूमध्ये १२ उत्कृष्ट व्यवसायी व्यक्तित्वमा उनलाई चुनेको थियो । युनुस सन् १९८४ मै एसियाको नोबल मानिने म्यागासेसे अवार्डबाट पनि सम्मानि भएका थिए ।

युनुस विश्वभरका विभिन्न विश्वविद्यालयका मानार्थ विद्यावारिधिबाट सम्मानित भइसकेका छन् ।  २०१२ मा फर्चुन म्यागजिनले युनुसलाई समकालीन महान् १२ उद्यमीमध्ये एक ठहर्‍याएको थियो । सन् २०१० मा बेलायतको न्यु स्टेट्सम्यान म्यागजिनले उनलाई २०१० का विश्वका ५० प्रभावशाली व्यक्तिमध्ये ४०औं स्थान दिएको थियो । त्यसैगरी  २०११ मा उनको जीवनीमा आधारित अर्को वृत्तचित्र बोन्साई पिपल द भिजन अफ युनुसलाई संयुक्त राष्ट्र संघमै प्रिमियर गरिएको थियो । युनुसमाथि 'टु क्याच अ डलर' नामको वृत्तचित्र पनि तयार भइसकेको छ । उनको पुस्तक 'ब्याकंर टु पुअर'ले समेत निकै चर्चित छ । 

सफल मानिसका मित्रभन्दा शत्रु बढी हुन्छन् भन्ने आहान युनुसको हकमा पनि सही ठहरिन्छ । १८ फेब्रुअरी २००७ मा युनुसले नागोरिक शक्ति(नागरिक शक्ति) पार्टी गठनसँगै राजनीतिमा औपचारिक प्रवेश गर्ने घोषणा के गरेका थिए, उनीमाथि चारैतिरबाट प्रहार सुरु भयो । तत्कालीन प्रधानमन्त्री  शेख हसिनाले युनुसविरुद्ध जेहाद नै छेडिन् ।

हसिनालगायतका राजनीतिज्ञहरूले युनुसबाट ठूलो खतरा देखेका थिए । नहोस् पनि किन ? ग्रामीण बैंकको सञ्जालमा रहेका करोड बंगलादेशीको साथ पाएको खण्डमा युनुस जुनसुकै राजनीतिक मुकाम हासिल गर्न सक्थे ।

तर, राजनीतिमा प्रवेश गर्नासाथ आफूमाथि आक्रमण सुरु हुन थालेपछि युनुसले राजनीतिक यात्रालाई तत्कालका लागि विश्राम दिने घोषणा गरे । द विरोधीहरूलाई उक्त घोषणाले मात्र आश्वस्त पारेन, उनलाई सामाजिक र आर्थिक रूपमा बदनाम गराउन नयाँनयाँ प्रपञ्च रच्न थालियो । त्यसैको एउटा कडी थियो, ३० नोभेम्बर २०१० मा नर्वेजियन टीभी च्यानललबाट प्रसारण गरियो 'कट इन माइक्रो क्रेडिट' वृत्तचित्र ।

यसैलाई आधार बनाउँदै हसिना नेतृत्वको सरकारले ग्रामीण बैंकका कार्यक्रम र गतिविधिहरूको समीक्षा गर्न आदेश दियो । लगत्तै सरकारले सन् २०११ मा ग्रामीण बैंककै पूर्वकर्मचारी मुजम्मल हकलाई ग्रामीण बैंकको अध्यक्षमा नियुक्त गर्‍यो  । युनुस भने उमेरहदको कारण देखाइँदै प्रबन्ध निर्देशकबाट बर्खास्त गरिए ।उता नर्वे सरकारले गरेको छानबिनमा युनुसमाथि लगाइएका आरोपहरू सबै गलत साबित भए । 

 त्यसपछि पनि युनसमाथि थुप्रै आरोपहरू लगाइयो । सन् २०१३ मा उनीमाथि करछलीको आरोपसमेत लागेको थियो । यसै वर्षको जनवरीमा भने उनलाई  श्रमसम्बन्धी मुद्दामा ६ महिना जेल सजायसमेत सुनाइएको थियो । अवार्डहरूबाट प्राप्त पैसा, पुस्तकको रोयल्टीलगायतमा युनुसले कर छलेको आरोप सरकारले लगाएको थियो । तर युनुसले भने सबै आरोपहरू निराधार रहेको बताउँदै आएका छन् । बंगलादेशी अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुअघि युनुसमाथि लगाइएको श्रमसम्बन्धी आरोप त्यहाँको अदालतले बुधबार खारेज गरिदिएको छ ।

राजनीतिमा आउने उनको बाटोमा सुरूमै अवरोध आएपछि युनुसले लघु कर्जा/लघु वित्तमा भन्दा पनि समाज र जनउत्तरदायी कामलाई  विश्वव्यापी बनाउने अभियानमा लागे । त्यही अभियान रूपमा उनी धेरै मुलुक पुगे ।  विदेशमै रहेका बेला बंगलादेशमा आन्दोलनले सत्ता नै फेरबदल गरिदिएपछि उनी संक्रमणकाल पार लगाउने जिम्मेवारी लिएर बिहीबार स्वेदश आइपुगे । स्वेदश फर्किए लगत्तै उनले भनेका छन्-  स्वतन्त्रताको लाभ प्रत्येक नागरिकको घरघरमा पुग्नुपर्छ । म त्यो काममा लाग्छु ।'

(एजेन्सीहरूको सहयोगमा)

बंगलादेश आन्दोलन

कान्तिपुर

Link copied successfully