आजकै दिन : अमेरिकी आक्रमणमा जब लादेन मारिए

वैशाख १९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०११ मा आजकै दिन (मे २) अमेरिकी सेनाले गरेको आक्रमणमा अल कायदा समूहका संस्थापक ओसामा विन लादेनको मृत्यु भएको थियो । पाकिस्तानको अबोटाबादस्थित एक घरमा लुकेर बसेको अवस्थामा अमेरिकी सेनाले गरेको आक्रमणमा उनको मृत्यु भएको थियो ।

लादेन उक्त घरमा ६ वर्षदेखि लुकेर बसिरहेका थिए । उनी अमेरिकामा २००१ को सेप्टेम्बर ११ मा गरिएको आतंककारी आक्रमणका मुख्य आरोपी थिए । 

मुस्लिम अतिवादी समूह अल कायदाका १९ सदस्यले २००१ को सेप्टेम्बर ११ मा क्यालिफोर्नियाबाट उडेका चारवटा व्यावसायिक उडान अपहरण गरी दुईवटा न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा ठोकाएका थिए । अर्को विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा दुर्घटना गराइएको थियो । संघीय सरकारको भवनमा ठोकाउने योजना बनाएपछि अर्को एक विमान भने एक यात्रुको प्रतिरोधका कारण पेन्सलभेनियामा दुर्घटनामा परेको थियो । 

आतंककारी आक्रमणलगत्तै खोजी गरिरहेको अमेरिकाले अल कायदा प्रमुख लादेनलाई भने एक दशकपछि मात्र भेटेको हो । हेलिकोप्टरमार्फत पुगेको अमेरिकी सेनाले ओसामाका एक छोराको हत्या गरेर घरभित्र पसेको थियो । अमेरिकी सेना कोठामा पस्ने बित्तिकै उनकी पत्नीले सैनिकलाई रोक्ने प्रयास गरेकी थिइन् । तर खुट्टामा गोली लागेपछि ढलेकी उनी होसमा आउँदा लादेन मारिइसकेका थिए । 

हजारौं लडाकुहरू रहेको लादेनले नेतृत्व गरेको अल कायदा संगठन संसारकै सबैभन्दा खतरनाक जिहादी समूह मानिन्थ्यो । अल कायदासँग राम्रो आर्थिक स्रोत रहेको पनि विश्वास गरिन्थ्यो । तर लादेनको मृत्यु र इस्लामिक स्टेट (आईएस) समूहको जन्मपछि अल कायदाको शक्ति र प्रभाव घटेको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully