स्वदेशमै फ्लाइङ स्कुल

युरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई आफ्ना सदस्य राष्ट्रमा लगाएको निषेध (कालोसूची) हटाउन सकेको खण्डमा केही वर्षपछि नेपाल पाइलट पढाउने राम्रो गन्तव्य बन्न सक्ने देखिन्छ

वैशाख १९, २०८०

सुरज कुँवर

काठमाडौँ — नेपालमा पाइलट उत्पादन गर्ने उद्देश्य राखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चार वर्षयता दर्ता भएका निवेदनको सुनुवाइ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुई नेपाली संस्थालाई हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालन इजाजतपत्र दिएका छन् ।

यो निर्णयले जहाज उडाउने सपना देखेर विज्ञान विषय लिई कक्षा १२ उत्तीर्ण गरेका वा गर्दै गरेका विद्यार्थीलाई उत्साहित बनाइदिएको छ । विद्यार्थीबाहेक यो निर्णयमा कुनै अवरोध नआएमा खुसी हुनेमा अभिभावक र वायुसेवा कम्पनीका सञ्चालक पनि छन् । 

फ्लाइङ स्कुल सञ्चालन गर्न वर्षौंदेखि धाउँदै आइरहेका शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसनलाई मन्त्री किरातीले ‘कार्यविधि संशोधन’ गरेर हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालन इजाजतपत्र दिने निर्णय गरेका हुन् । त्यसका साथै, उनले अन्य इच्छुक संस्थाहरूलाई पनि आवेदनका लागि आह्वान गरेका छन् । 

चन्द्र सूर्य एभिएसनका सञ्चालक मानबहादुर थापाका अनुसार, फ्लाइङ स्कुल सञ्चालनसम्बन्धी कानुन नबनेको कारण देखाउँदै पर्यटन मन्त्रालयले इजाजत जारी गरेको थिएन । तर किरातीले ‘नागरिक उड्डयनसम्बन्धी संस्थालाई इजाजत दिनेसम्बन्धी कार्यविधि’ संशोधन गर्दै इजाजतपत्र जारी गरी फ्लाइङ स्कुल सञ्चालनका लागि ढोका खुला गरिदिएका हुन् ।

‘अब यो निर्णयलाई सफल बनाउन निजी क्षेत्र तयार हुनुपर्ने छ, ‘पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘१६ वर्षअघि नेपालमा पहिलो फ्लाइङ स्कुल भरतपुरमा सञ्चालनमा आएको थियो । तर विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिन नसक्दा सञ्चालकले शिवानी एयर फ्लाइङ स्कुल बन्द गरेर अमेरिका पलायन हुनुपरेको थियो ।’ मन्त्रालयका अधिकारीहरूका अनुसार, नेपाली विद्यार्थीले पाइलट अध्ययन गर्दा र व्यावसायिक उडानमा रहेका पाइलटहरूले नियमित गर्नुपर्ने पीपीसी (पाइलट प्रोफिसेन्सी चेक) र टाइप रेटिङ लगायतका तालिममा नेपालले हरेक वर्ष एक अर्ब रुपैयाँ बराबरको डलर विदेश पठाउँछ । यत्रो रकम नेपालमै रोकेर थप विदेशी विद्यार्थीलाई पनि नेपालमा पाइलट तालिम दिई विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य राखेर मन्त्रालय फ्लाइङ स्कुल सञ्चालनका लागि बाटो खुला गरिदिएको छ ।

हालै अनुमति पाएका दुवै संस्थाका सञ्चालकमा उड्डयनकर्मीहरू छन् । उनीहरूले अबको चार वर्षभित्र सिमुलेटर बेगर (नन सिमुलेटर) हवाई उडान प्रशिक्षण सेवा (फ्लाइङ स्कुल) सञ्चालन गरिसक्नुपर्नेछ । नागरिक उड्डयन प्राधिकरणका अनुसार, हाल नेपालमा अमेरिका, फिलिपिन्स र दक्षिण अफ्रिकाका फ्लाई स्कुलबाट हवाई उडान प्रशिक्षण लिएका पाइलटहरू नेपालमा जहाज तथा हेलिकोप्टर उडाउँदै आइरहेका छन् ।

१४ वर्षदेखि पाइलट तालिमका लागि नेपाली विद्यार्थीलाई विदेश पठाउँदै आएको काठमाडौं अलाइन्स एजेकुसनका सञ्चालक त्रिलोचन पाण्डेका अनुसार यसका लागि विज्ञान समूहअन्तर्गत अनिवार्य गणित र फिजिक्स अध्ययन गरेको हुनैपर्ने प्रावधान छ । तालिम लिनुअघि नेपालको हवाई सेवा नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणले जारी गरेको स्वास्थ्य तथा फ्लाई स्कुलसम्बन्धी नियम पनि अनिवार्य पालना गर्नुपर्छ । ‘प्राधिकरणले अमेरिका, फिलिपिन्स, दक्षिण अफ्रिका, अस्ट्रेलियालगायत १३ वटा देशका ३८ वटा फ्लाइङ स्कुललाई अनुमति दिएको छ । तीबाहेक अरू फ्लाइङ स्कुलमा तालिम लिन पाइँदैन,’ पाण्डेले भने । 

अहिले पाइलट कोर्स पूरा गर्न नेपाली विद्यार्थीले १४/१५ महिना समय लगाउने पाण्डे बताउँछन् । यो कोर्स अमेरिकामा ६७ हजार, फिलिपिन्समा ५५ हजार र दक्षिण अफ्रिकामा ४५ हजार डलर शुल्कमा पढ्न सकिन्छ । यसमा अध्ययन अवधिको बसाइ र खानपानको खर्च भने समेटिएको छैन । पाइलट कोर्स सकेर नेपाल फर्किएका विद्यार्थीहरूका अनुसार, अहिलेको महँगी तथा डलरको उतारचढावका कारण विदेशमा तालिम र बसोबास खर्च गरी ९० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च हुन्छ ।

नेपालमै पाइलट तालिम सुरु भएपछि ४५ लाख रुपैयाँमा तालिम दिने शुभम् एभिएसन प्रालिका प्रबन्धक निर्देशक क्याप्टेन जनक अधिकारी बताउँछन् । ‘शुभम्ले ४५ लाख रुपैयाँमा पाइलट तयार गर्ने लक्ष्य राखेको छ । यसमा अरू कुनै हिडन कस्ट समेटिएका छैनन् ।’ उनले नेपालमा सुरु हुने तालिम युरोपियनस्तरको हुने बताए । ‘अब भैरहवामा आईएलएस (इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम) जडान भइसकेकाले नेपालले विश्वस्तरकै तालिम दिन सक्नेछ,’ सौर्य एयरलाइन्समा आबद्ध क्याप्टेन अधिकारीले भने ।

नेपालमा १६ वर्षअघि भरतपुर विमानस्थलमा शिवानी एयरले फ्लाइङ स्कुल सञ्चालन गर्दा २६ लाख रुपैयाँसम्म तालिम शुल्क लिएको थियो । त्यसताका पाइलट तालिम लिन भर्ना भएका एक नेपाली विद्यार्थीका अनुसार, तीन ब्याचमा २६ जना विद्यार्थी भर्ना भएका थिए । तर, यो संस्थाले पाइलट तयार पार्न सकेन । त्यसबेला उसले डायमन्ड क्याटना विमानबाट तालिम दिएको थियो । पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार, नेपालमा मल्टी इन्जिनयुक्त विमान र आईएलएस उपकरणको तालिम दिन नसक्नु शिवानी एयर बन्द हुने मुख्य कारण हो । 

हालै अनुमति दिइएका दुइटा संस्थालाई मेघौली विमानस्थललाई बेस स्टेसन बनाई तालिम दिलाउन अनुमति दिइएको छ । व्यावसायिक उडानबाहेक अरू उड्डयन गतिविधि नहुने भएकाले भरतपुर आसपासको मध्य तराई पाइलट तालिमका लागि उपयुक्त मानिन्छ । सन् २०२२ मा नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ४ लाख २६ हजार ८ सय ३२ उडान भए । ती उडानबाट १ करोड ८६ लाख ११ हजार ६ सय ५० यात्रुले ओहोरदोहोर गरे । कोरोना महामारीले विश्वभर परेको प्रभाव र लकडाउनका कारण सन् २०२० र २०२१ मा बाहेक नेपालमा हरेक वर्ष कम्तीमा १० प्रतिशले यात्रु आवागमन वृद्धि भइरहेको छ ।

अब सञ्चालनमा आउने दुईवटा फ्लाई स्कुलले नेपालीबाहेक विदेशी विद्यार्थीहरू पनि आकर्षित गर्नुपर्ने छ । यसबाहेक युरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई आफ्ना सदस्य राष्ट्रमा लगाएको निषेध (कालोसूची) पनि अबको चार वर्षभित्रै हट्नुपर्ने छ । ईयूको कालोसूचीबाट नेपाली उड्डयन क्षेत्र हटेपछि विदेशी विद्यार्थीहरूका लागि नेपाल विश्वका अरू धेरै मुलुकको दाँजोमा सस्तो फ्लाई स्कुल भएको सूचीमा पर्नेछ । ‘नेपालको मौसम र भूगोल पनि पाइलट सिकाइका लागि उपयुक्त छ,’ क्याप्टेन अधिकारी भन्छन्, ‘यदि कालोसूची चाँडै हटे नेपाल अबको केही वर्षपछि पाइलट पढाउने राम्रो गन्तव्य बन्न सक्छ ।’

युवा ग्यालरी

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully