बलिउडमा नेपाली कला निर्देशक

वैशाख १९, २०८०

रमेशकुमार पौडेल

चितवन — ललितकला क्याम्पसबाट ‘फाइन आर्ट’ मा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि थप अध्ययनका लागि धनुषाको मिथिला नगरपालिका–१० का अञ्जन गजुरेल मुम्बई लागे । तर समयले उनलाई क्यान्भासमा घोत्लिने मात्रै बनाएन, बलिउडको भव्य संसारसँग जोड्यो । फलस्वरूप उनले हाल बलिउड सिनेमालाई सिंगारपटार गर्ने दायित्व पूरा गरिरहेका छन् । 

आमिर खानको ‘देली बेली’ को प्रमोसनल गीत ‘आई हेट यू, लाइक अ लभ यू’ को चमक धमकयुक्त सेटमा भएको नृत्य, पुरानो शैलीको जहाज । शाहरूख खान, दीपिका पादुकोण र हनी सिंहको ‘लुङ्गी डान्स, लुङ्गी डान्स’ वाला गीत, यी दुवै गीतका दृश्यमा कला निर्देशनको जिम्मेवारी निर्वाह गरेका थिए अञ्जनले । त्यसयता गजुरेल सिनेमाका दृश्यलाई कलात्मक बनाउन व्यस्त छन् । ‘बलिउडका हस्तीहरू आमिर र शाहरूख खानसँग कामले जोडिएको छु’ पारिवारिक भेटघाटको सिलसिलामा चितवन आएका अञ्जनले भने । अब मे ९ बाट उनी ‘मेट्रो ईन दिनो’ को काममा लाग्ने तयारीमा रहेका उनले भने, ‘सत्य प्रेमकी कथा’ को सुटिङ सकिएको छ । बीचको समयमा फुर्सद मिलेकाले घर आएँ ।’

खासमा कला निर्देशकको काम कथा अनुसारको सेट निर्माण गर्नु हो । निर्देशकपछि महत्त्वपूर्ण भूमिकामा हुन्छन् क्यामेरा पर्सन, कला निर्देशक र ड्रेस डिजाइनर । ‘लेखकले कथा तयार गरेको हुन्छ । कथाको माहौलअनुसारको दृश्य तयार गर्ने जिम्मेवारी भने आर्ट डाइरेक्टरको हो,’ गजुरेलले आफ्नो कामबारे बताए । कथाअनुसार बनाइएको संरचना आवश्यक पर्दा सयौं वर्ष पहिलेको जस्तो देखाउन निकै मिहिनेत र इतिहास तथा कलाको ज्ञान हुनुपर्ने गजुरेल बताउँछन् । 

सन् १९९८ मा मुम्बई पुगेका अञ्जनले तीन वर्ष मुम्बईको जेजे स्कुल अफ आर्टमा पढे । त्यसपछि कला क्षेत्रमै जम्ने प्रयास गरेका भए पनि त्यो सफल भएन । त्यसबीचमा उनले सिनेमाको कला निर्देशनबारे थाहा पाए । कुरैकुरामा नेपाली साथी जनक पोखरेल प्रख्यात टेलिसिरियल बनाउने बालाजी फ्लिम्सको सेट भएको ठाउँमा लिएर गए । ‘त्यो देखेर म छक्क परें,’ गजुरेलले भने । त्यहाँ पोस्ट प्रोडक्सनको काम गर्ने रविचन्द्र भट्टराईसँग चिनजान भयो । फाइन आर्ट पढेको भनेपछि बालाजीका आर्ट डाइरेक्टर रजत पोद्दारले गजुरेललाई मौका दिए । 

सहायकबाट काम सुरु गरेका उनले यशराज फ्लिम्सको ‘काबुल एक्सप्रेस’ बाट आर्ट डाइरेक्टरको यात्रा सुरु गरे । उनले एक दर्जन सिनेमा र चार दर्जनभन्दा बढी टेली सिरियलमा काम गरिसकेका छन् । करिब दुई दशक लामो व्यावसायिक यात्राका क्रममा उनले नेपाली फिल्म ‘कोहिनूर’ र नेपाली टेलिभिजन कार्यक्रमका लागि पनि दुईवटा सेट बनाएका छन् । 

‘सत्य प्रेमकी कथा’ फिल्मका लागि अञ्जनले तयार गरेको घरको सेटमा २८ दिन सुटिङ भएको थियो । त्यो घर बनाउन डेढ करोड भारतीय रुपैयाँ लागेको बताउँछन् उनी । ‘पर्सनल आर्ट डाइरेक्टरको फि २०/३० लाख भारु हुन्छ । टिम र सबै काम गर्न २० देखि ५० करोड रुपैयाँसम्म खर्च हुन्छ,’ अञ्जनले भने । तर नेपालमा यति धेरै लगानी गर्ने सम्भावना छैन । नेपाली सिनेमाको बजार सानो भएका कारण खर्च पनि सीमित हुने उनले बताए । तर पछिल्लो समय म्युजिक भिडियोहरू भने राम्रो बन्न थालेको बताउँछन् अञ्जन । 

युवा ग्यालरी

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully