न्युजिल्यान्डले यस वर्षको अन्त्यसम्म सीमा बन्द गर्ने 

खोप लगाएकालाई २०२२ को सुरुवातदेखि यात्रा अनुमति दिने तयारी

श्रावण २८, २०७८

एजेन्सी

वेलिङ्टन — न्युजिल्यान्डले यो वर्षको अन्त्यसम्म सीमा बन्द गर्ने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डेनले मुलुकको सीमा यो वर्षको अन्त्यसम्म सीमा बन्द रहने बताएकी हुन् । कोरोना महामारी नियन्त्रण गर्ने र अर्थतन्त्र खुला गर्ने रणनीतिअनुरुप सीमा बन्द गरिने उनले बताएकी छिन् ।

जोखिमको तह हेरेर अर्को वर्षको सुरुवातदेखि क्वारेन्टाइन–फ्री यात्राको प्रबन्ध गर्ने तयारी भएको पनि उनले जानकारी दिइन् । सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने पनि सरकारको प्राथमिकता रहेको उनको भनाइ छ । 

सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरसले विश्वका अधिकांश मुलुकलाई नराम्रोसँग प्रभावित बनाइरहेको छ । तर न्युजिल्यान्डले भने कोरोना नियन्त्रण तथा रोकथामका लागि उल्लेखनीय कदम चालेको भन्दै प्रशंसा भइरहेको छ । करिब ५० लाख नागरिक रहेको न्युजिल्यान्डमा अहिलेसम्म २६ जनाको मात्र कोरोना भाइरसबाट मृत्यु भएको छ ।

‘हामी अहिले नै पूर्ण रुपमा सबै खुला गर्ने अवस्थामा छैनौँ,’ विभिन्न मुलुकमा रहेका न्युजिल्यान्डवासीहरुको फोरममा मन्तव्य दिने क्रममा उनले भनिन् । उनले सबैको विश्वास जितेर सावधानीपूर्वक खुला गर्दै गइने बताइन् । अर्को वर्षको सुरुदेखि भने कम जोखिम भएका मुलुकका खोप लगाएका व्यक्तिलाई बिनाक्वारेन्टाइन नै यात्रा अनुमति दिने गरी तयारी थालिएको उनको भनाइ छ । त्यस्तै उच्च जोखिम रहेका मुलुकका नागरिकलाई भने १४ दिनको सेल्फ आइसोलेसन वा क्वारेन्टाइनमा बस्नुपर्ने छ । 

कडाइका साथ सीमामा नियन्त्रण र प्रभावकारी लकडाउनका कारण न्युजिल्यान्डले कोरोना रोकथाम र नियन्त्रणमा सफलता प्राप्त गरेको बताइएको छ । 

कोरोना खोपकोरोना भाइरस

एजेन्सी

Link copied successfully