जसले अस्पतालको मुहार फेरे

मुस्किलले दैनिक ३५/४० बिरामी आइपुग्ने अस्पतालको ओपीडीमा अहिले १ सय ८० जनासम्म आउन थालेका छन्

श्रावण २८, २०७८

जितेन्द्र साह

विराटनगर — दुई वर्षअघि स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिमा वीर अस्पतालबाट एमडी उत्तीर्ण गर्दा डा.रोहेन्द्र पाण्डे (३२) ले कुनै सरकारी अस्पताल रोजेर सेवामा खटिनुपर्ने थियो । केही फरक र रचनात्मक काम गर्ने हुटहुटीमा उनले चिकित्सक एवं मेडिकल सुपरिन्टेन्डेन्ट नभएको मोरङको रंगेली अस्पताल रोजे ।

अस्पताल विकास समितिले २ वर्षदेखि लगातार चिकित्सकका लागि विज्ञापन गरे पनि त्यहाँको अनुशासनहीनता र व्यवस्थापनको कमीकमजोरीले कोही पनि जान मानिरहेका थिएनन् । काठमाडौं, धुम्बाराहीका पाण्डे रंगेली अस्पताल सुधार्ने अठोठका साथ पुगे । 

२०७६ कात्तिकमा अस्पताल पुगेलगत्तै उनले स्रोतसाधनको उचित परिचालन नभएको पाए । १ सय ३१ वर्ष पुरानो राणाकालीन उक्त अस्पतालका अधिकांश बेड खाली थिए । आकस्मिक कक्षमा आवश्यक उपकरण थिएनन् । उपचार नपाउने भएकाले जटिल रोगका बिरामी अस्पतालको गेटबाटै भित्र पस्दैनथे । ४/५ वटाभन्दा बढी निःशुल्क औषधि अस्पतालबाट उपलब्ध हुँदैन्थ्यो । अस्पतालभित्र २४ घण्टे फार्मेसी पनि थिएन । गम्भीर बिरामी आउनेबित्तिकै रिफर गर्ने प्रवृत्तिले अस्पताल अगाडि एम्बुलेन्सको लाम हुन्थ्यो । 

कर्मचारीमा अनुशासन अभाव थियो । पोसाक नलगाउने तथा जानकारी नै नदिई बिदामा बस्थे । तर स्थानीय र नगरपालिकाको सहयोगमा पाण्डेले अस्पताल सुधार अभियान सुरु गरे । 

‘शून्यबाट सुरु गर्नुपर्ने थियो । २४ घण्टा अस्पतालभित्रै बसेर सेवा दिन थालें,’ उनले भने, ‘अस्पताल क्रमशः सुधार गर्न समितिको नियमित बैठक बोलाउन थालें ।’ कुनै पनि सेवा अवरुद्ध हुन नदिन एवं समयअनुरूप अगाडि बढ्न चिकित्सक, नर्स, कम्प्युटर अपरेटर र सरसफाइ कर्मचारी थपेको उनले बताए । आफ्नै ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्तिको समस्या पनि हट्यो । 

‘आत्मविश्वास थियो । आफैं अग्रसर भएर काम गर्न थालेपछि स्वतः स्फूर्त रूपमा टिम बन्यो । क्रमशः सुधार हुँदै गयो,’ उनले भने । पाण्डेका अनुसार प्रसूति शल्यक्रिया सेवा पाउनेको संख्या वार्षिक ३२ बाट बढेर १ सय ५० भन्दामाथि पुग्यो । ‘भेन्टिलेटर आवश्यकता नपर्ने सबै खाले शल्यक्रिया गर्न थालें,’ उनले भने ।

मुस्किलले दैनिक ३५/४० सेवाग्राही आइपुग्ने अस्पतालको ओपीडीमा अचेल १ सय ८० जनासम्म आउन थालेका छन् । आकस्मिक कक्षमा महिनाको ४ सयदेखि ६ सय र ओपीडीमा १ हजार ६ सयदेखि २ हजारसम्म सेवाग्राही आइपुग्छन् ।

पुरानो शव गृहको ठाउँमा आधुनिक बन्यो । फोहोरमैला व्यवस्थापन गृहको निर्माण गरियो । अस्पतालले आफ्नै एम्बुलेन्स सेवा सुरु गर्‍यो । प्रसूति कक्षबाट निस्कने साललाई व्यवस्थित गर्न प्लासेन्टा पिटको निर्माण भयो । वर्षौंदेखि किनेर पानी खाने अवस्थाको अन्त्य गर्दै अस्पतालभित्रै सेवाग्राही र कर्मचारीका लागि शुद्ध पिउने पानीको प्रबन्ध भयो । 

२०७६ मंसिरदेखि स्वास्थ्य बिमा सेवा सुरु भयो । २४ घण्टे सेवा दिने गरी दुई कर्मचारीसहित अस्पतालभित्र उनले फार्मेसी सुरु गराए जहाँ सरकारले तोकेको १ हजार ३ सयमध्ये ३ सय २५ औषधि उपलब्ध छ । ‘बिरामीले निःशुल्क औषधि नपाउने अवस्थाको तुलनामा स्थानीयका लागि यो निकै ठूलो उपलब्धि हो,’ स्थानीय मन्टु मण्डलले भने । स्थानीय व्यवसायी अनिल रायले पाण्डेभन्दा अघि आएका डाक्टरहरूले रंगेली अस्पतालको उत्थान गर्नेभन्दा पनि सम्पर्क केन्द्र बनाएर विराटनगरमा क्लिनिक चलाउने सोच राख्थे । ‘तर उहाँ आएपछि अस्पतालको कायापलट भयो,’ उनले भने । 

एक महिनाभित्र अस्पतालभित्र सशुल्क फार्मेसी पनि सञ्चालन हुने जनाइएको छ । पाण्डेका अनुसार जिल्ला समन्वय समिति र तीनवटै तहका सरकारको सहयोगमा अस्पतालमा ५० बेडको भवन बन्दै छ । दुई भेन्टिलेटरसहित ५ बेडको आईसीयू निर्माण हुँदै छ, जसमा कम्तीमा १५ दक्ष जनशक्तिले काम पाउँछन् । नयाँ इमर्जेन्सी र प्रयोगशालाका बन्दै छ भने नयाँ अक्सिजन प्लान्ट जडान हुँदै छ । 

कोरोना भाइरस

जितेन्द्र

Link copied successfully