१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘आर–भ्याल्यु’ ले देखायो जोखिमको संकेत

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ का बिरामीले एकभन्दा धेरैलाई संक्रमण सार्ने क्रम बढिरहेकाले आगामी दिनमा महामारी तीव्र रूपमा फैलने संकेत देखिएको छ । केही दिनयताको कोभिडको ‘आर–भ्याल्यु’ (रिप्रोडक्सन रेट) ले त्यस्तो संकेत देखाएको हो । एक जनाबाट कति व्यक्तिमा संक्रमण विस्तार भइरहेको छ भनेर आर–भ्याल्युले देखाउँछ । 

‘आर–भ्याल्यु’ ले देखायो जोखिमको संकेत

नेपालमा कोभिडको आर–भ्याल्यु औसत १.१५ छ । जबकि भारतमा त्यो दर १.० मात्र छ । आर–भ्याल्यु १ भन्दा कम हुनु वा कम हुँदै जानु संक्रमण घट्दै जानु हो । आर भ्याल्यु २ छ भने यसको अर्थ एक जना संक्रमित व्यक्तिले अन्य दुई जनालाई संक्रमण सारेको बुझिन्छ । दादुरा अत्यन्त संक्रामक भएकाले यसको आर भ्याल्यु करिब १८ हुन्छ । अर्थात् एक जना दादुरा संक्रमितले १८ जनासम्मलाई संक्रमण फैलाउन सक्छन् ।

‘असारको पहिलो साता दोस्रो लहर उच्च बिन्दुमा पुगेर ओरालो लागेका बेला आर भ्याल्यु ०.६ सम्म झरेको थियो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘पछिल्लो केही दिनमा आर–भ्याल्यु करिब दोब्बर भएको छ ।’ उनका अनुसार दोस्रो लहर उच्च हुँदा आर– भ्याल्यु २ भन्दा बढी देखिएको थियो । त्यसबेला ७५ जिल्लामै निषेधाज्ञा लगाइएको थियो ।

चीनको वुहानमा भेटिएको कोभिड भेरिएन्टमा आर भ्याल्यु २.६ सम्म देखिएको थियो । अल्फा भेरिएन्टमा ४ देखि ५ र हाल विश्वमा आक्रामक रूपले फैलिरहेको डेल्टा भेरिएन्टमा आर–भ्याल्यु ५ देखि ८ सम्म हुन सक्ने विज्ञको भनाइ छ । नेपालमा करिब शतप्रतिशत संक्रमितमा डेल्टा भेरिएन्ट देखिएको डा. पौडेलले बताए । गत असार ३१ गते गरिएको पछिल्लो जिनोमिक सिक्वेन्सिङमा शतप्रतिशत नमुनामा डेल्टा भेरिएन्ट देखिएको थियो । त्यसमध्ये करिब ८ प्रतिशतमा डेल्टा प्लस (एवाई.१) समेत फेला परेको थियो ।

निषेधाज्ञा खुल्नासाथ अनियन्त्रित रूपमा भीडभाड, मास्कको प्रयोगमा हेलचेक्य्राइँ र स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीजस्ता कारणले आर भ्याल्यु बढेको विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार विश्वभरि नै चिन्ताको विषय बनेको डेल्टा भेरिएन्टका कारण पछिल्ला दिनमा आर भ्याल्युमा वृद्घि देखिएको हो । ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले आर भ्याल्युलाई १ भन्दा बढ्न नदिनु नै उपयुक्त हुने बताए । ‘नत्र संक्रमण पछि हुने मृत्यु र अस्पतालमा बिरामीको संख्यामा वृद्घि हुन्छ,’ उनले भने ।

मंगलबार असारयता सबैभन्दा बढी ४ हजार ९ सय ४ जनामा संक्रमण देखिएको थियो । उक्त दिन १९ हजार १ सय २३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको थियो । वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी हाल सरदर चार जनाको परीक्षण गर्दा एक जनामा कोभिड पोजिटिभ देखिएको छ । सरकारले परीक्षण जति बढाउँछ, त्यति धेरै संक्रमित देखिने अवस्था मंगलबारको तथ्यांकले देखाएको उनले बताए ।’

एक सातायता दैनिक संक्रमण पुष्टि दर २४–२५ को हाराहारीमा छ । सक्रिय संक्रमित पनि करिब ८ प्रतिशतले बढेको डा. बीसीले बताए । ‘हाल एक जना संक्रमितले पहिलेको दाँजोमा बढीलाई रोग सारिरहेको यिनै तथ्यांकले स्पष्ट गरिरहेका छन्,’ उनले भने । हाल संक्रमण तीव्र रूपमा विस्तार भइरहेकाले परीक्षण बढाएर संक्रमितलाई आइसोलेसनमा राखेर महामारी नियन्त्रण गर्न विज्ञहरूको सुझाव छ ।

प्रकाशित : श्रावण २८, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?