कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा एकै दिन ८० लाखलाई खोप

संक्रमितको संख्या घट्दो, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यकर्मीको प्रशंसा
एजेन्सी

नयाँदिल्ली — भारतमा एकै दिन ८० लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । एउटै देशमा एकै दिन यति धेरै मानिसलाई खोप लगाइएको यो हालसम्मकै सबैभन्दा धेरै संख्या भएको अधिकारीहरूले दाबी गरेका छन् । पछिल्लो समय खोप अभियान तीव्र पारेको भारत सरकारले सोमबार मात्रै ८० लाख ९५ हजार ३ सय १४ जनालाई खोप लगाएको हो । 

भारतमा एकै दिन ८० लाखलाई खोप

यो अघिल्लो दिनको भन्दा ३० लाख ३९ हजार ९ सय ९६ बढी भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसअघि अप्रिल २ मा एकै दिन ४२ लाख ६५ हजार १ सय ५७ जनालाई भाइरसविरुद्धको खोप दिइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय भनेको खोप भएको बताउँदै सरकारले खोप अभियानलाई अझ तीव्र बनाउँदै लैजाने बताएका छन् । ‘एकै दिनमा सबैभन्दा धेरै खोप लगाएको कीर्तिमान अहिले भारतले बनाएको छ, कोरोना भाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले यो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री मोदीले भनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीलगायतको प्रशंसा गरेका छन् । ‘खोप अभियानमा सक्रिय योगदान पुर्‍याइरहनुभएका सबैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु । त्यसका साथै खोप लगाउनुभएका सबैलाई हार्दिक बधाई दिन चाहन्छु,’ मोदीले लेखेका छन् ।

भारतमा गत जनवरी १६ देखि खोप अभियान सुरु गरिएको हो । त्यसयता २८ करोड ३६ हजार ८ सय ९८ जनलाई खोप लगाइसकिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रलाले जनाएको छ । भारतको खोप निर्देशिकाअनुसार सोमबारदेखि १८ वर्षभन्दा माथिका सबैलाई सोमबारदेखि कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन थालिएको हो । उक्त निर्देशिकामा भारतको केन्द्र सरकारले जनसंख्या, संक्रमणको अवस्था र चालु अभियानका आधारमा निःशुल्क खोप उपलब्ध गराइने उल्लेख छ । यसअघि भारत सरकारले १८ देखि ४४ वर्षका नागरिकका लागि खोप अभियान सुरु गरेको भए पनि सर्वोच्च अदालतले उक्त निर्णय तर्कहीन भन्दै सबै उमेर समूहलाई खोप उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्णयसँगै १८ वर्षभन्दा बढी उमेरका सबैलाई खोप लगाउने अभियान सोमबारबाट सुरु भएको हो ।

भारत सरकारले सबै राज्यलाई ७५ प्रतिशत खोप केन्द्रबाटै उपलब्ध गराउने यसअघि नै जनाइसकेको छ । त्यसका लागि कम्पनीहरूसँग किन्न प्रक्रिया सुरु गरिएको जनाइएको छ । २५ प्रतिशत खोप भने राज्यहरूलाई आफैं उत्पादन गर्न भनिएको छ । भाइरसको संक्रमण फैलिएसँगै लगाइएको लकडाउन खुकुलो पारिएसँगै भारतका कतिपय राज्यले खोप अभियानलाई निकै तीव्रता दिएका छन् । हरियाणाले सोमबार एकै दिन २ लाख जनालाई खोप दिने लक्ष्य राखेको भए पनि एक लाखभन्दा बढीलाई दिन सफल भएको जनाएको छ । त्यस्तै, असमले आगामी १० दिसम्म दैनिक कम्तीमा ३ लाख जनालाई खोप दिने जनाएको छ । सोमबार असममा ३ लाख १९ हजारलाई खोप दिइएको थियो । त्यस्तै कर्णाटकले ७ लाखभन्द बढीलाई एकै दिन खोप दिएको छ । राज्यले दैनिक १० लाखलाई खोप दिइने जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार मध्यप्रदेशमा १६ लाख १ हजार ५ सय ४८, उत्तर प्रदेशमा ६ लाख ७४ हजार ५ सय ४६, राजस्थानमा ४ लाख ३० हजार ४ सय २९ तथा महाराष्ट्रमा ३ लाख ७८ हजार ९ सय ४५ जनाले खोप लगाएका छन् । त्यसैगरी, पश्चिम बंगालमा ३ लाख १७ हजार ९ सय ९१, पन्जाबमा ९० हजार ५ सय ३ र दिल्लीमा ७६ हजार २ सय १६ जनाले एकै दिन खोप लगाएका जनाइएको छ । भारतको केन्द्र सरकारले गत महिना विभिन्न राज्यहरूलाई ७ करोड ९० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यो महिना ११ करोड ७८ लाख मात्रा उपलब्ध गराइने जनाएको छ । सरकारले हाल ३ करोड ६ लाख मात्रा खोप मौज्दात रहेको समेत जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमणका कारण अस्तव्यस्त बनेको भारतमा पछिल्लो समय संक्रमण दर घट्दै गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार जनाभन्दा कम संक्रमित थपिएका छन् । उक्त संख्या ८८ दिनयताकै कम भएको जनाइएको छ । भारतमा हालसम्म २ करोड ९९ लाख ३५ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३ लाख ८८ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८८ लाख ४४ हजार १ सय ९९ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । ७ लाख २ हजार ८ सय ८७ सक्रिय संक्रमित छन् ।

प्रकाशित : असार ८, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?