१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वास्थ्यकर्मीलाई ‘हलुको’

संक्रमण दर घटेसँगै काम गर्ने समय, जनशक्ति र अन्य बिरामीको रेखदेखका लागि स्वास्थ्यकर्मीलाई सहज

लुम्बिनी, नेपालगन्ज — रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा कार्यरत डा. सिद्धार्थ पाण्डे अहिले दंग छन् । केही दिनदेखि खाना खाने समय टुंगो लागेको छ । मानसिक बोझ पहिलेजस्तो छैन । बेलाबेला पानी पिउन पाएका छन् । २४ सै घण्टा अस्पतालमा खटिनुपर्थ्यो । अस्पतालमा रहेका २५ जना कोरोना संक्रमितको रेखदेखका लागि अहिले पर्याप्त समय छ ।

स्वास्थ्यकर्मीलाई ‘हलुको’

गत वैशाखबाट कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि उनको व्यस्तता थपिएको थियो । ‘दुई साताअघिसम्म दैनिक एक सय जनासम्म बिरामी हेर्नुपर्थ्यो,’ उनले भने, ‘अहिले सहज भएको छ ।’ आईसीयूमा रहेका बिरामीको अवस्था जटिल भए पनि ंसमय दिएर उपचार गर्न पाइरहेको उनले बताए । कोरोनाको दोस्रो लहर सुरु भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको थियो । ती बिरामीको संख्या सम्झिएर अहिले पनि आत्तिने गरेको उनले बताए । ‘एकपछि अर्को बिरामीको मृत्यु हेर्नुपर्थ्यो,’ डा. पाण्डेले भने, ‘त्यसबेलाजस्तो आँखा रसाए पनि आँसु लुकाउनुपर्ने बाध्यता अहिले कम भएको छ ।’

दुई वर्षको नाबालक छोरो छाडेर संक्रमितको उपचारमा खटिएकी अर्घाखाँचीकी नर्स इन्दिरा भुसाल अहिले घरबाटै अस्पताल आउजाउ गरिरहेकी छन् । अर्घाखाँचीस्थित जिल्ला अस्पतालमा रहेको १० एचडीयू बेड र १२ वटा इमर्जेन्सी बेडमा भर्ना भएका कोरोनाका बिरामीलाई उनले हेर्ने गरेकी छन् । बिरामीको चाप रहेका बेला छोरा सम्झेर रुने गरेको उनले सुनाइन् । ‘ठूलो छोरा १४ वर्षको पुग्यो,’ उनले भनिन्, ‘उसकै भरमा भाइ छोडेर ड्युटी गरें, बच्चाको यादले धेरै सतायो ।’ अहिले उनलाई त्यस्तो तनाव छैन । बिरामीको सेवा गरुन्जेल खानाको वास्ता नै नहुने गरेको उनले बताइन् । ‘अहिले खाना समयमै खाएका छौं,’ उनले भनिन् ।

१४ महिनादेखि दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा कार्यरत डा. कमल खड्काले संक्रमण र बिरामीको मृत्युदर कम हुँदा स्वास्थ्यकर्मीलाई ठूलो राहत मिलेको बताए । एक दिनमा सात जना संक्रमितको मृत्यु भएको देखेका उनी अहिले आँखालाई शान्त र सहज राख्न पाउँदा खुसी छन् । ‘पहिलेको तुलनामा अहिले एकतिहाइ मात्र बिरामी उपचाररत छन्,’ उनले भने, ‘उनीहरूका लागि हामीले पर्याप्त समय दिन पाएका छौं ।’ जिल्ला कोरोना हटस्पट बनेका बेला बिरामीको चिच्याहट सुनेर पनि प्रभावकारी उपचार गर्न नसकेको उनले बताए । ‘त्यो अवस्था नदोहोरियोस्,’ उनले भने, ‘बिरामी कम भएकाले अहिले मजाले गफ गरेरै हौसला दिने र औषधि चलाउने काम भइरहेको छ ।’ खड्काले चाप कम हुँदा उपचारमा परिवर्तन आएको र बिरामीहरू आत्मविश्वास बलियो बनाएर निको भइरहेको बताए ।

बुटवलकी स्टाफ नर्स जेनिशा रानाले केही समय अक्सिजन दिन सकेको भए बचाउन सकिने बिरामीको पनि बेड र अक्सिजन नपाउँदा मृत्यु भएका धेरै घटना देखेकी थिइन् । अक्सिजन नपाएर बिरामीको छटपटिँदै मृत्यु भएको देखिन् । अहिले बिरामीले बेड पाएको देख्दा आनन्द लाग्न थालेको छ । ‘एक महिनाअगाडिको जस्तो अवस्था कहिल्यै नदोहोरियोस्,’ उनको कामना छ । बुटवलस्थित कोरोना अस्पतालमा २०७६ चैतदेखि कार्यरत उनले अहिले बेड खाली हुँदा बिरामीलाई भर्ना लिन पाएकामा खुसी लाग्ने गरेको बताइन् ।

‘उपचार नपाई मृत्यु हुनु त ठूलो पीडा रहेछ,’ उनले भनिन्, ‘गेटमा आउँदाखेरि नै आत्तिएका बिरामीलाई उनीहरूका आफन्तले बोल्न पनि नपाई बिदा गर्नुपरेका जस्ता केसबाट अहिले मुक्ति पाइएको छ ।’ उनका अनुसार संक्रमण दर घटेसँगै काम गर्ने समय, जनशक्ति र अन्य बिरामीको रेखदेखका लागि स्वास्थ्यकर्मीलाई सहज भएको छ । रूपन्देहीलगायत कोरोना संक्रमितको उपचार भइरहेका अस्पतालमा अहिले पनि बिरामी छन् । तर पहिलेको जस्तो चाप नहुँदा बेड अभाव, अक्सिजनको अभाव खप्नुपरेको छैन ।

‘चेन’ नटुट्दा चिन्ता

संक्रमणको केन्द्र बनेको बाँकेमा निषेधाज्ञा हटाउनुपर्ने आवाज उठिरहेको छ । तर विज्ञले भने फेरि संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले संक्रमण घटेको देखिए पनि ‘चेन ब्रेक’ नभएको बताए । संक्रमण दर अझै पनि २५ देखि ३० प्रतिशतसम्म रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना संक्रमणको ‘चेन ब्रेक’ हुन संक्रमण दर ५ प्रतिशतमा झर्नुपर्छ । करिब दुई महिनादेखि लगातार निषेधाज्ञा लगाइए पनि संक्रमण दर ५ प्रतिशतमा झरेको छैन ।

‘करिब दुई महिनाको निषेधाज्ञाले बाँकेमा कोरोना संक्रमण नियन्त्रण भएकै हो । ८३ बाट २५ देखि ३० प्रतिशतमा झरेको छ । यो संक्रमण पनि बढी नै हो,’ भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले भने, ‘निषेधाज्ञाको समयमा त यस्तो अवस्था छ । तयारीबिना नै खोलिदिने हो भने संक्रमण समुदायमा फेरि पनि त्यसैगरी फैलिन सक्छ ।’ चिकित्सकहरूका अनुसार कोरोना नियन्त्रणको भरपर्दो उपाय भनेकै सामाजिक दूरी कायम गर्नु हो ।

तर यहाँ निषेधाज्ञामा पनि सामाजिक दूरी कायम गरिएको छैन । गाडी, रिक्सा चलेका छन् । पसल खुला छन् । भेरी अस्पतालका कन्सल्टेन्ट प्रमुख तथा फिजिसियन डा.राजन पाण्डेले पनि बाँकेमा कोरोना संक्रमण घटे पनि संक्रमण फैलिन सक्ने खतरा यथावत् रहेको बताए । डब्लूएचओको गाइड लाइनअनुसार संक्रमण दर नियन्त्रणमा नआएको उनको भनाइ छ ।

प्रकाशित : असार ८, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?