कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोभिसिल्डको दोस्रो मात्रा लिन सीमापारि

वीरगन्ज — वीरगन्ज आदर्शनगरका एक व्यवसायीले सीमापारि भारतको रक्सौल पुगेर कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाए । उनले वृद्ध आमाबाबुलाई पनि लगेर खोपको दोस्रो मात्रा लगाएका छन् ।

कोभिसिल्डको दोस्रो मात्रा लिन सीमापारि

कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा वीरगन्जमै लगाएका उनीहरूले लामो प्रतीक्षा गर्दा पनि दोस्रो डोज नपाएपछि गत साता पारि पुगेर लगाएका हुन् । ‘यहाँ त लामो पर्खाइपछि पनि नपाइएलाजस्तो देखियो । सपरिवार पारि गएर दोस्रो डोज लगाउनुपर्‍यो,’ ती व्यवसायीले भने, ‘पहिलो डोज लगाएको १२ साताभन्दा बढी भइसक्यो । नेपालमै दोस्रो डोज पाइने सम्भावना देखिएन । थोरै प्रयासमा छिमेकी मुलुकबाट यो सुविधा पाइन्छ भने किन नलिने ।’

उनी मात्र नभई दुई सातायता वीरगन्जका थुप्रैले रक्सौल पुगेर कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् । रक्सौलका टेलिभिजन पत्रकार गणेश शंकरले वीरगन्जबाट थुप्रै संख्यामा नेपाली नागरिक भारतमा आएर खोप लगाएको दाबी गरे ।

वीरगन्जबाट खोप लगाउन रक्सौल पुग्नेहरूमध्ये केहीले कोभिसिल्डको पहिलो र धेरैले दोस्रो मात्रा लिएको उनले बताए । यसरी भारतीय नागरिकसरह सहजै उनीहरूले कोभिसिल्डको डोज लिन पाउनुमा उनीहरूको दोहोरो नागरिकता प्रमुख कारण रहेको शंकरको दाबी छ । ‘विदेशी नागरिकले भारतमा कोभिसिल्ड खोप पाउन सजिलो छैन,’ उनले भने, ‘उनीहरूसँग नेपालको नागरिकता र भारतको रासन कार्डसमेत भएकाले कोभिसिल्ड खोप लिन पाएका हुन् ।’

पर्सामा ४६ हजार ३ सय ९४ जनामध्ये ९ हजार २ सय ६४ जनाले मात्रै खोपको दुवै मात्रा लगाउन पाएका छन् । दोस्रो चरणमा प्राथमिकतामा परेका ज्येष्ठ नागरिकले कोभिसिल्डको पहिलो मात्रा झन्डै तीन महिनाअघि लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिलकुमार सिंहले ज्येष्ठ नागरिकका लागि कोभिसिल्डको दोस्रो मात्रा कहिलेसम्म आइपुग्ने भनेर भन्न सक्ने अवस्थामा नरहेको बताए । ‘देशव्यापी रूपमै ज्येष्ठ नागरिकले दोस्रो डोज लिन पाएका छैनन् । सरकार पनि खरिद प्रक्रियामै छ,’ उनले भने, ‘सरकारले युनिसेफमार्फत युरोपमा निर्मित अस्ट्राजेनेका नामक खोप ल्याउने तयारी गरिरहेको सुनेको छु ।’

अस्ट्राजेनेकामा पनि कोभिसिल्डकै कम्पोजिसन हुने भएकाले आइपुगेमा खोपको दोस्रो मात्रा पर्खिरहेकालाई सहज हुने उनले बताए ।

प्रकाशित : असार ८, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?