लमजुङ — हिमाली जिल्ला मनाङको विकट नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँमा हेलिकप्टरमार्फत कोरोना संक्रमण विरुद्धको खोप पुर्याइएको छ ।
मनाङबाट निर्वाचित विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले काठमाडौंबाट राहत सामग्री बोकेर ल्याएको नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार खोप पुर्याइएको हो । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार यसअघि हिँडेर नै खोप पुर्याइने कार्यक्रम रहे पनि जेठ ३१ गते रातिदेखिको भारी वर्षाका कारण हेलिकप्टरमार्फत खोप लैजान बाध्य भएको हो ।
‘कोतोबाट नार्पाभूमितिर जाने एकमात्र झोलुंगे पुल मर्स्याङ्दीले बगाएको छ । माथिका पुलहरु पनि बगाएको छ भन्ने सुन्नमा आएको छ । बाटोमा बाढी पहिरो छ । हिँडेर जान २ दिन लाग्ने ठाउँमा अब कुनै उपाय भएन । नार र फू जाने एउटै माध्ययम हेलिकप्टरबाहेक विकल्प रहेन,’ उनले भने ।
उनका अनुसार ४ हजार २ सय ८५ मिटर उचाइमा रहेको नार गाउँ र ४ हजार १ सय मिटर उचाइमा रहेको फू गाउँमा कोरोनाविरुद्धको खोप पुर्याएको छ । १८ वर्ष उमेर माथिका सबैलाई खोप लगाउने व्यवस्था गरिएको आचार्यले बताए । पहिलो मात्राको खोप लगाएका र विभिन्न कारण दोस्रो मात्राको खोप लगाउन नपाएका १ सय ९० जना र पहिलो मात्रा नै नलगाएका १ सय ५० जनाले खोप लगाउन पाउने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नार्पाभूमि गाउँपालिकाको नारमा २८ भायल कोभिसिल्ड र फू मा ३ भायल कोभिसिल्ड र ६० भायल भेरोसेल हेलिकप्टरमार्फत पुर्याएको बताए । फू गाउँमा सोमबारबाटै खोप लगाउन थालिएको छ । नारमा भने मंगलबारबाट खोप लगाइने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
