ताप्लेजुङ र पाँचथरमा एक साता निषेधाज्ञा थप

असार ७, २०७८

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ र पाँचथरमा केही खुकुलो प्रावधानसहित निषेधाज्ञा एकसाता थपिएको छ । छिमेकी दुवै जिल्लाले असार १४ गते राति १२ बजेसम्मका लागी थप गरेका हुन् ।

ताप्लेजुङमा बिहान ६ देखि १२ बजेसम्म खुल्दै आएको बजार १ बजेसम्मलाई बढाइएको छ । सरकारी कार्यालय आलोपालो गरेर सञ्चालन गर्न आदेशमा भनिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले थप गरेको निषेधाज्ञामा बैंकहरु बिहान १० देखि बेलुका ५ बजेसम्मै खोल्न निर्देशन गरिएको छ । शैक्षिक संस्था भने नखोल्न भनिएको छ । तर प्रशासन कार्यालयले फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका-१ मा मात्रै लागु हुनेछ । जिल्लामा वैशाख २० देखि निषेधाज्ञा लागू हुँदै आएको छ । 

पाँचथरले पनि बैंक पूर्णरुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । निर्माण सामग्री तथा खाद्यान्न ढुवानी र बिक्रीका लागि बिहान ५ देखि १० बजेसम्मको समय तोकिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले पाँचौं पटक निषेधाज्ञा थप गरेका हुन् । पाँचथरमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३६ रहेको छ भने ताप्लेजुङमा तीन सय ३९ जना रहेका छन् । 

कोरोना भाइरस

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully