पर्सा — कोरोनाको दोस्रो लहरमा पनि हटस्पट बनेको पर्सामा पछिल्लो समय संक्रमण दर घटेको छ । जेठदेखि संक्रमितको संख्या घट्न थालेको हो । असारमा त यो संख्या अत्यन्त न्यून छ ।
नारायणी अस्पतालको असार १ यताको प्रयोगशाला परीक्षण रिपोर्टअनुसार जिल्लामा संक्रमण दर न्यून छ । असार १ गते ६७ जनाको स्वाब परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये पर्साका २ जना मात्र थिए । असार २ गते ५३ जनाको स्वाब परीक्षण गर्दा बाहिरी जिल्लाका १ जनामा संक्रमण देखिएको थियो । असार ३ गते ६३ जनाको परीक्षण गर्दा ७ जनामा, असार ४ गते ५५ जनामध्ये २ जनामा संक्रमण पुष्टि भयो । तीमध्ये पर्साको संक्रमित शून्य छन् ।
पर्साका अस्पतालहरूमा कोरोना संक्रमित भर्ना हुने दर र मृत्युदरसमेत घटेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार हाल जिल्लामा ५५ सक्रिय कोरोना संक्रमित छन् । जिल्लास्थित १७ अस्पताल र आइसोलेसनमा गरी हाल ३१ जना मात्र भर्ना छन् । जिल्लाको १ हजार १ सय २ अक्सिजन सिलिन्डरमध्ये २ सय ५९ वटा मात्र प्रयोगमा छन् ।
पर्साका अस्पतालहरूका शय्या खाली हुन थालेका छन् । जिल्लाका अस्पताल र आइसोलेसनहरूमा गरी कुल ५ सय ७५ शय्यामध्ये ५ सय २१ वटा खाली छन् । असार १ गतेयता नारायणी अस्पतालमा संक्रमणबाट १ जनाको मात्र मृत्यु भएको छ । संक्रमण उच्च बिन्दुमा पुग्दा जिल्लामा दैनिक १ दर्जनसम्म संक्रमितको मृत्यु हुने गर्थ्यो ।
कोरोनाको दोस्रो लहरमा जिल्लाका १ सय ३७ संक्रमितको मृत्यु भएको छ । यसबाहेक अन्य जिल्लामा घर भई यस जिल्लामा मृत्यु हुनेको संख्या १ सय ९१ पुगेको छ । तीमध्ये अधिकांश वीरगन्जका अस्पतालहरूमा उपचार गराउन आएका हुन् । कोरोनाको चेन ब्रेक गर्न जिल्लामा निषेधाज्ञा जारी गरिएको एक महिनाभन्दा बढी भइसकेको छ ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंह पछिल्लो समय अस्पतालहरूमा नयाँ संक्रमित भर्ना दर ह्वात्तै घटेको बताउँछन् । ‘अस्पतालहरूमा बिरामी भर्नादर मात्र घटेको छैन, चिकित्सकका निजी क्लिनिकमा पनि ज्वरो, टाइफाइडका बिरामी आउने क्रम घटेको छ,’ उनले भने, ‘पीसीआर परीक्षण नतिजाहरूले पनि त्यस्तै देखाएको छ ।’
