थलियो होटल व्यवसाय

असार ७, २०७८

शंकर आचार्य

पर्सा — गत वर्षको लकडाउनले सुस्त भएको होटल व्यवसाय निषेधाज्ञाले झनै थिलथिलो भएको छ । यी दुई वर्ष सर्वाधिक खराब बनेको होटल तथा पर्यटन व्यवसायीको अनुभव छ ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका महासचिव माधव बस्नेत होटल व्यवसायमा यति ठूलो मन्दी आफ्नो व्यावसायिक जीवनमा कहिल्यै अनुभव नगरेको बताउँछन् । २०७२ सालको मधेस आन्दोलन र त्यससँगैको भारतीय नाकाबन्दीको समयमा पनि यस्तो जटिल अवस्था नदेखेको उनको भनाइ छ । ‘गत वर्षको लकडाउनपछि खुलेका यहाँका होटल बिस्तारै लयमा फर्किंदै थिए,’ उनले भने, ‘लय समात्न नपाउँदै फेरि निषेधाज्ञा आइलाग्यो, इतिहासमै हामीले यति ठूलो संकट व्यहोरेका थिएनौं ।’

कोभिड महामारीको सुरुवातदेखि शिथिल भएको यहाँको होटल त्यसपछि उँभो लाग्न सकेन । कोरोनाको दुवै लहरमा संक्रमण दर उच्च भएपछि भारतसँगको सीमा लामो समय बन्द भयो । आन्तरिकदेखि भारतीय पर्यटकसम्म ठप्प भए । वीरगन्जको होटल तथा पर्यटन व्यवसाय यहाँको औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले मात्र धान्दै आएका थिए । यहाँ तेस्रो मुलुकका पर्यटकको आगमन शून्य नै हुने गर्छ । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूमा काम विशेषले तथा भ्रमणका लागि आउने भारतीय नै प्रमुख ग्राहक हुन् । तर, वीरगन्ज कोरोना हटस्पट बनेपछि भारतीय पर्यटक ठप्प भएका हुन् ।

अधिकांश व्यवसायीले भाडामा घर लिई होटल सञ्चालन गरेकाले उनीहरू झनै मारमा परेको पन्त बताउँछन् । आफ्नै भवन भएका कतिपय होटल व्यवसायी पनि व्यवसायबाट पलायन भएर होटल नै बिक्री गर्ने मनस्थिति बनाइसकेको उनको भनाइ छ । त्यसैले अन्य व्यवसायसँगै होटल तथा पर्यटन व्यवसाय पनि खोल्न दिनुपर्ने अर्का होटल व्यवसायी आनन्द चौरसिया बताउँछन् । वीरगन्जका होटल तथा पर्यटन व्यवसायको ७० प्रतिशतसम्म ग्राहक भारतीय हुने उनले जानकारी दिए । ‘भारतमा कोभिड निरन्तर घटी रहेको छ, यो न्यूनतम बिन्दुमा पुग्नासाथ सबै सीमा नाकाबाट पर्यटकीय सवारीसाधनहरू स्वास्थ प्रोटोकल अपनाएर चल्न दिनुपर्छ,’ उनले भने ।

वीरगन्जमा साना ठूला गरी ४ दर्जनभन्दा बढी होटल छन् । पछिल्लो समय होटल दियालो लर्डस, क्लार्क्स रिसोर्ट आदि चार तारे होटल सञ्चालनमा आएका छन् । छिमेकी सहर सिमरामा अर्को चारतारे होटल इच्छा रहेको छ । वीरगन्जको आदर्शनगर क्षेत्रमा अत्याधुनिक रेस्टुराँहरू खुलेका छन् । तर अहिले सबै बन्द छन् ।

कर छुट र खोप माग

वीरगन्जका होटल व्यवसायीले कर छुट र कोरोनाविरुद्ध खोपको माग गरेका छन् । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई आइतबार होटल तथा पर्यटन व्यवसायी संघ पर्साले ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो ।

संघका अध्यक्ष हरि पन्त, महासचिव माधव बस्नेतसहितको व्यवसायीको टोलीले उक्त ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा, वीरगन्ज महानगरपालिकाभित्र रहेका सबै आवासिय होटल तथा पाटी प्यालेसले अर्जेको घर कर, बहाल कर, होटल व्यवसायको वार्षिक कर तथा सरसफाइ शुल्क एक आर्थिक वर्षका लागि पूर्णरूपमा मिनाहाको माग गरिएको छ ।

त्यसैगरी, होटल तथा पर्यटन व्यवसायका सञ्चालक तथा यस क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई यथाशीघ्र खोपको व्यवस्था गर्नुपर्न उनीहरूको भनाइ छ । 

‘पटकपटकको बन्दाबन्दी, निषेधाज्ञा तथा बोर्डर बन्दका कारण थलिएको होटल व्यवसायीहरू भौतिक पूर्वाधारमा भएका ऋणको ब्याज, किस्ता भाडामा रहेका होटलहरूको घरभाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन्,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘यस विकराल स्थितिलाई मध्यनजर गर्दै स्थानीय होटल तथा पर्यटन व्यवसायीहरूको सबैभन्दा निकट रहेको निकाय वीरगन्ज महानगरपालिकासँग सम्बन्धित रहेका यी विषयहरूको अविलम्ब समाधान हुनुपर्छ ।’

मेयर सरावगीले सरसफाइ शुल्कबाहेक माग गरिएका अन्य कर छुटको सम्बन्धमा आफू सकारात्मक रहेको र आसन्न नगर परिषद्बाटै त्यसको निर्णय गराउने गृहकार्य आफूले गर्ने प्रतिबद्धता जनाए ।

कोरोना भाइरस

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully