२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फोक्सो बलियो पार्न योग

कोभिडका बिरामीले लगातार १० मिनेट अनुलोम–विलोम गरेपछि कम्तीमा १० मिनेट आराम गर्दै यो क्रम शरीरले थेग्नेसम्म जारी राख्न सक्छन् ।
अतुल मिश्र

काठमाडौँ — वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. ध्रुव गैरे श्वासप्रश्वास प्रक्रियालाई बलियो बनाउन केही महिनायता दिनहुँ योग गर्छन् । कोरोना संक्रमण भएपछि उनी गत वर्ष १८ दिन आईसीयूमा बस्नुपर्‍यो । तीन महिनासम्म त अक्सिजनको सहारा लिए । नियमित योग गरेपछि हाल उनको श्वासप्रश्वास प्रणालीमा सुधार आएको छ ।

फोक्सो बलियो पार्न योग

४७ वर्षीय डा. गैरेको फोक्सोको अवस्थामा क्रमिक सुधार देखिए पनि फाइब्रोसिसले गर्दा अझै पूर्ण रूपमा निको भएको छैन । ‘श्वासप्रश्वास प्रणाली बलियो बनाउन योग जारी राखेको छु,’ उनले भने, ‘यसले फाइब्रोसिसले गर्दा फोक्सोमा उत्पन्न हुन सक्ने थप जटिलतालाई रोक्छ ।’ योगमा एउटा अभ्यास अनुलोम–विलोम र आधुनिक चिकित्सा पद्घतिको ‘ब्रेथ होल्डिङ एक्सरसाइज (लामो सास नाकबाट लिने छातीमा राख्ने अनि मुखबाट फाल्ने) प्रक्रिया लगभग मिल्छ । कोभिड भएकाहरूका लागि श्वासप्रश्वाससम्बन्धी व्यायाम फाइदाजनक भएको उनी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायका अनुसार संक्रमणका बेला र निको भइसकेपछि पनि धेरैजसोले योगाभ्यास अपनाएर स्वास्थ्य लाभ गरिरहेका छन् । कोभिड उपचारमा ‘होलिस्टिक एप्रोच’ समेत आवश्यक रहेको उनको भनाइ छ । ‘कुनै पनि चिकित्सा विधा आफैंमा पूर्ण सक्षम छैन,’ उनले भने ।‘यसैले हरेक विधाका प्रमाणित सही कुराको उपयोग गर्नुपर्छ । चिकित्सकले आयुर्वेद र योगको सकारात्मक पक्षलाई अपनाउन संकोच मान्नु हुन्न,’ उनले भने ।

संक्रमणले सबैभन्दा बढी फोक्सो र मनमस्तिष्कमा प्रभाव पार्ने चिकित्सकको भनाइ छ । स्वस्थ जीवनशैली र योग पनि कोभिडविरुद्धको लडाइँमा महत्त्वपूर्ण सावित भइसकेको जनाउँदै डा. उपाध्यायले फोक्सोको क्षमता तथा शारीरिक र मानसिक क्षमता बढाउन योग धेरै प्रभावकारी रहेको बताए । आधुनिक चिकित्सा विज्ञानमा फोक्सोको अधिकतम उपयोग गर्ने ‘डिप ब्रेदिङ एक्सरसाइज’, आयुर्वेदको प्राणायामअन्तर्गतको पूरक (श्वास तान्नु), कुम्भक (तानेको श्वासलाई फोक्सोभित्र राख्नु) र रेचक (फोक्सोमा राखेको श्वासलाई विस्तारै छोड्नु) ले फोक्सोको सकारात्मक क्षमतालाई बढाउँछ । प्राणायाम र ध्यानले फोक्सो सम्पूर्ण स्वस्थ मात्र नभई तनाव हटाएर माानसिक स्वास्थ्यमा समेत सकारात्मक परिवर्तन गर्ने डा. उपाध्यायले बताए ।

राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले कोभिडका बिरामी र निको भएकालाई फोक्सोमा हावाको बहाव बढाउने खालको व्यायाम (अनुलोम–विलोम, प्राणायाम) धेरै फाइदाजनक रहेको बताए । कोभिड संक्रमण निको भए पनि यसले लामो समयसम्म फोक्सोमा असर पार्छ । सास लिन समस्या, बढी थकाइ, अक्सिजन सेचुरेसनमा सुधार नहुनु, दम हुनु, सुक्खा खोकीलगायतका समस्या पनि देखिन्छन् । कतिपयलाई अस्पतालबाट घर फर्केपछि समेत अक्सिजनको आवश्यकता पर्छ । पल्मोनरी फाइब्रोसिस एवं पल्मोनरी एम्बोलिज्मका कारणले यस्तो समस्या हुने डा. शाहले बताए ।

‘पोस्ट पल्मोनरी फाइब्रोसिसको अवस्थामा फोक्सोको संवेदनशील खण्डमा नोक्सान पुग्छ र झिल्ली बन्छ । फोक्सो कम सक्रिय हुँदा अक्सिजन र कार्बनडाइअक्साइडको साटासाट हुनमा कमी आउँछ । सही रूपमा उपचार नभए जीवनभर फोक्सोसम्बन्धी समस्या रहिरहन्छ,’ उनले भने । उनका अनुसार निको भइसकेकामा ‘पल्मोनरी एम्बोलिज्म’ ले गर्दा फोक्सोको धमनीमा ‘ब्लकेज’ हुँदा फोक्सोसम्म रगतको सञ्चारमा बाधा उत्पन्न हुन्छ । रगतको नसामा समेत आक्रमण गरिरहेको कोरोना भाइरसले उत्पन्न गराउने ‘पल्मोनरी एम्बोलिज्म’ को घातक परिणाम हुन सक्छ ।

फोक्सोलाई बलियो बनाउन प्राणायाम आवश्यक रहेको पतन्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी एवं योगगुरु लवदेव मिश्रको भनाइ छ । कोभिड महामारीमा विश्वभरि नै फोक्सोसहित समग्र स्वास्थ्य र मानसिक स्वास्थ्यका लागि योग र ध्यानमा बढी समय दिन थालिएको उनले बताए । बिरामी र निको भइसकेकालाई भस्त्रिका प्राणायाम र अनुलोम–विलोम प्राणायाम उपयोगी हुने उनले सुझाए ।

भस्त्रिका प्राणायाम प्रायः बसेर गरिन्छ भने अनुलोम–विलोम सुतेरसमेत गर्न सकिन्छ । नाकको एउटा प्वालबाट धेरै श्वास लिएर पुनः विपरीत प्वालबाट सास छोड्ने र पुनः सास छोडेको प्वालबाट श्वास लिएर अर्को प्वालबाट छोड्ने प्रक्रिया अनुलोम–विलोम हो । दुवै नाकले लामो श्वास छातीभित्र लिएर बाहिर फाल्ने प्रक्रिया भस्त्रिका प्राणायाम हो । कोभिडका बिरामीले १० मिनेट अनुलोम–विलोम गरेपछि कम्तीमा १० मिनेट आराम गरी यो चक्रलाई शरीरले थेगेसम्म जारी राख्न सकिने मिश्रको भनाइ छ ।

प्रकाशित : असार ७, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?