रौतहट — कोरोना संक्रमितको संख्या घटेसँगै जिल्लाका विभिन्न स्थानीय तहमा बनाइएका आइसोलेसन रित्तिन थालेका छन् । पछिल्लो डेढ सातायता संक्रमितहरू निको भएर घर फर्कन थालेपछि आइसोलेसन खाली भएका हुन् ।
कोभिड–१९ का बिरामी राखिएको चन्द्रपुर–२ स्थित सहिदपार्कमा रहेको कोभिडको अस्थायी अस्पताल, गौर अस्पताल, गौर नर्सिङ, परोहा अस्पताल, डुमरिया हेल्थपोस्ट, चन्डिया हेल्थपोस्ट, धरहरी स्कुल आइसोलेसन, नगर अस्पताल भवन फुतवा विजयपुर र प्राथमिक स्वास्थ्य केन्द्र बौधीमाईको आइसोलेसन रित्तिएका छन् । यी आइसोलेसनमा उपचारका लागि बसेका एक सयभन्दा बढी संक्रमित निको भएर फर्किसकेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपराको आइसोलेसनमा एक जना संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘संक्रमण पुष्टि भई श्वासप्रश्वासमा समस्या आएपछि आइसोलेसन बसेका सबै निको भएर घर फर्किसकेका छन्,’ उनले भने, ‘अब आइसोलेसनहरू रित्तिन थालेका छन् । होम आइसोलेसनमा बस्ने मात्रै छन् ।’ प्रशासनको तथ्यांकअनुसार पछिल्लो एक सातायता गरुडा, मौलापुर, कटहरिया, बृन्दावन र माधवनारायण नगरपालिकाका संक्रमित निको भइसकेका छन् । यी नगरपालिकामा एक जना पनि संक्रमित छैनन् । शुक्रबारसम्म जिल्लामा संक्रमण पुष्टि भएका १ हजार ३ सय १८ जनामध्ये सक्रिय संक्रमित १ सय २३ जनामात्रै छन् । उनीहरूमध्ये एक जनाबाहेक सबै होम आइसोलेसनमा बसेका प्रजिअ यादबले बताए ।
घरमै बसेका संक्रमितको अवस्था सामान्य रहेको र उनीहरू चाँडै निको हुने स्वास्थ्य प्रमुख दीपेन्द्र यादवले बताए । ‘अधिकांश नगरपालिकाले संक्रमितको अवस्था बुझ्न घरमै स्वास्थ्यकर्मी पठाइरहेका छन्,’ उनले भने, ‘सबै स्वस्थ छन् । हामी निगरानी गरिरहेका छौं ।’ प्रशासनका अनुसार जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ । पछिल्लो एक सातायता जिल्लामा एक जनाको पनि मृत्यु भएको छैन ।
