सिन्धुली — छोराको उपचारका लागि काठमाडौं जानैपर्ने भएपछि मरिण गाउँपालिका बाह्रबिसेकी आइती माझी बाटो त लागिन् तर सहज रूपमा सवारी पाइएन ।
निषेधाज्ञाकै बीच फाट्टफुट्ट मिलेका सवारीमा भाडा भने छोइनसक्नु थियो । उनले २० किलोमिटर पार गरेर सदरमुकाम सिन्धुलीमाढी आइपुग्न ८ सय रुपैयाँ खर्चिइन् । त्यहाँबाट ५ किमि उत्तर कमलामाई नगरपालिकाको चियाबारी पुग्न अटोरिक्सालाई ६ सय रुपैयाँ बुझाइन् । त्यहाँबाट राजधानी पुग्न आमाछोराका लागि थप २ हजार रुपैयाँ तिरिन् ।
यसअघि काठमाडौं पुग्न घरआँगनमै आइपुग्ने बसलाई एकतर्फी ५ सय रुपैयाँ तिर्दा हुन्थ्यो । चिकित्सकले पुनः जाँचका लागि दिएको समय एक महिना घर्किसकेकाले एकतर्फी मात्रै ३ हजार ४ सय रुपैयाँ खर्चेर उनी राजधानी त पुगिन् तर उनको सास्ती मेटिएको छैन । ‘आफ्नो भन्नु यही छोरो हो, नगई भएन,’ उनले दुखेसो पोखिन्, ‘महामारीका बेला झन् सहयोग हुनुपर्ने, उल्टै भएजति सबै रकम भाडामै जाने गरी गाडीवालाले असुल्छन् ।’ सर्वसाधारणलाई बढी भाडा तिर्न बाध्य पार्न र गाडीवालालाई यस्तो धन्दामा प्रेरित गर्ने काम राज्यबाटै भइरहको स्थानीय सुरज लामाले भने, ‘तोकिएको भाडामा अत्यावश्यक कामका लागि भनेर आउजाउ गर्न निश्चित सवारीसाधनको व्यवस्था भइदिएको भए यात्रु मर्कामा पर्ने नै थिएनन् ।’ यातायात व्यवसायी भने लामो समय सवारीसाधन थन्क्याएर राख्दा दैनिक गुजाराकै समस्या पर्न थालेपछि सडकमा निस्किएको बताउँछन् । ‘पूर्वी नेपाल र तराईका जिल्लाबाट आउनेहरू मिलेमतोमा प्रशासनको अनुमतिपत्र बनाएर आउँछन्, हामीलाई पनि धेरै ठाउँमा मिलाउनुपर्ने हुन्छ, त्यसैले धेरै लिनुपरेको हो,’ एक व्यवसायीले भने ।
बीपी राजमार्गअन्तर्गत काठमाडौं आउजाउ गर्दा सदरमुकामका दुई स्थानबाहेक, खनियाँखर्क, खुर्कोट, झाँगाझोली, रातमाटा, नेपालथोक, मंगलटार, भकुन्डेबेंसी, काभ्रेभन्ज्याङ र धुलिखेलमा प्रहरीले सवारी जाँच गर्छ । ‘यी सबै ठाउँमा मिलाएर आउजाउ गर्नुपर्ने हुन्छ, तपाईंहरूलाई थाहै छ नि,’ ती व्यवसायीले भने, ‘अझ बनेपाको ट्राफिक प्रहरीमा त कडा चेक हुन्छ ।’ पास नभएका साधनले ‘मिलान खर्च’ बापत राजधानी आउजाउ गर्दा एक हजारदेखि तीन हजार रुपैयाँसम्म तिर्ने गरेको उनले दाबी गरे ।
