निको भएकालाई पनि ‘गम्भीर लक्षण’

कोरोनामुक्त भएपछि शारीरिक मात्र नभएर मानसिक समस्या पनि पाइयो : चिकित्सक

असार ६, २०७८

सन्जु पौडेल

लुम्बिनी — दाङको घोराहीकी ६१ वर्षीया महिलालाई कोरोना संक्रमण निको भएको एक सातापछि उच्च रक्तचापको समस्या देखियो । उनी मधुमेहकी बिरामी हुन् । एक्कासि स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई अस्पताल पुर्‍यायो । उपचारका क्रममा मलद्वार नखुल्ने अर्को जटिलता थपियो ।

चिकित्सकले मलद्वारको समस्या हल गरे । अहिले कमजोरी, ढाड दुखाई र रुघाले उनलाई सताइरहेको छ । ‘कोरोना जितें भनेर खुसी हुनै नपाई बिरामले फेरि च्याप्यो,’ उनले भनिन्, ‘घर फर्किएपछि आरामले बसुँला, हिँडुलाभन्दा झन् थला परियो ।’ 

उनका ६४ वर्षका श्रीमान्लाई पनि संक्रमण भएको थियो । संक्रमण निको भएपछि हनहनी ज्वरो आउने, शरीर दुख्ने र पिसाब पोल्ने हुन थाल्यो । ‘किड्नीमा सानो पत्थरी थियो, त्यसमाथि कोरोना थपियो,’ उनले भने, ‘अहिले फेरि बिरामी परें । डेढ महिना हुन लाग्दा पनि निको भइयो भन्न पाइएन ।’ 

रूपन्देहीको तिलोत्तमा–१ की ३५ वर्षीया कविता पन्थीको कोरोना रिपोर्ट नेगेटिभ आएको १५ दिन भइसक्यो । उनी बिस्तारामै पल्टिरहने, केही काम गर्न नसक्ने अवस्थामा छिन् । संक्रमणका बेला भन्दा बढी कमजोर महसुस गरिरहेको उनले बताइन् । ‘होम आइसोलेसनमा कोरोना निको भएको थियो,’ उनले भनिन्, ‘अहिले ढाड दुखेर न उठ्न मिल्छ, न आँखाले सजिलो गरेर हेर्न ।’ खान मन नलाग्ने, सुतिरहन मात्र मन लाग्ने गरेको उनले बताइन् । 

कोरोनाको दोस्रो लहरमा संक्रमणको केन्द्र बनेको लुम्बिनी प्रदेशमा ‘पोस्ट कोभिड’ संक्रमणको समस्या देखिन थालेको छ । संक्रमणबाट मुक्त भएका व्यक्तिमा जाँगर नचल्ने, थकान हुने, स्याँस्याँ हुने, जीउ तातो हुने, लामो समय खोकी लाग्ने लक्षण देखा परिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. सुदर्शन थापाले बताए । उनका अनुसार कोरोनाको पहिलो लहरमा यस्तो समस्या देखिएको थियो । त्यसबेला यसलाई ‘पोस्ट कोभिड सिम्टम’ भनिएको थिएन । अहिले संक्रमण निको भएपछि देखिएका जटिलतालाई पोस्ट कोभिड सिम्टम भनिएको उनले बताए । ‘यी कोरोना संक्रमणबाट मुक्त भएपछि देखिने लक्षण तथा समस्या हुन्,’ उनले भने, ‘उचित स्वास्थ्य परामर्श नपुगेकाले धेरै व्यक्तिमा यी लक्षण देखिएका छन् ।’ 

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना निको भएपछि पुनः बिरामी परेका ६ जनाको अहिले उपचार भइरहेको छ । उनीहरूमा अक्सिजनको कमी, निद्रा नपर्ने, स्याँस्याँ हुने गरेको अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए । पोस्ट कोभिड अवस्थामा दुई प्रकारका समस्या देखिएको उनको भनाइ छ । उनका अनुसार लङ कोभिड र लङ फाइबरसिस नामक समस्याले बिरामीलाई डिप्रेसनतर्फ डोर्‍याइरहेको छ । ‘यस्ता बिरामीलाई काउन्सिलिङले निको पार्न सकिन्छ,’ उनले भने, ‘फाइबरसिसका बिरामीलाई अक्सिजन चाहिरहने, फोक्सोको दाग नमेटिँदा बिरामी आत्तिनेजस्तो लक्षण देखा पर्ने भएकाले यो स्थितिमा अस्पतालमै राखेरै उपचार जारी राख्नुपर्छ ।’ 

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully