भारतमा पहिलो पटक एकैदिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा पहिलो पटक एकैदिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण

महाराष्ट्रमा आइतबार साँझ ८ देखि बिहान ७ बजेसम्म एक साताका लागि लकडाउन
इकान्तिपुर डेस्क

काठमाडौँ — भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।

भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक लाख नाघेको यो पहिलो पटक हो । यसअघि गत सेप्टेम्बर १६ मा एकैदिन ९७ हजार ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ ।

पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, दिल्लीलगायतका राज्यमा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको छ ।

महाराष्ट्र सरकारले आइतबार साँझ ८ देखि बिहान ७ बजेसम्म एक साताका लागि लकडाउन घोषणा गरेको छ । यसअघि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले संक्रमण फैलने क्रम नरोकिए लकडाउन गर्ने चेतावनी दिएका थिए ।

संक्रमण बढेपछि उडिसाले पनि विभिन्न १० जिल्लामा राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ । महाराष्ट्र राज्यका मुम्बई, पुने, नासिकलगायत सहरी क्षेत्रमा नेपाली कामदारहरू बढी रहेको पाइन्छ ।

प्रकाशित : चैत्र २३, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

गुराँस टिप्‍नेलाई पाँच हजार जरिवाना

रासस

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । 

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई पाँच हजार जरिवाना तिराउने निर्णय भएको जानकारी दिए । 'गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ,' उनले भने, 'राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो ।' गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बीउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए ।

घोडेपानीको जंगलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रताजिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् ।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ । वसन्त ऋतृसँगै घोडेपानी क्षेत्रको गुराँसको जंगल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जंगल निकै मनमोहक र आकर्षक बनेको छ । गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताए ।

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आउने गरेका छन् । दैनिक १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका बताइएको छ । पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

प्रकाशित : चैत्र २३, २०७७ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×