कञ्‍चनपुरमा आइसोलेसन अभाव

चैत्र २३, २०७७

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरमा शुक्रबार ९ जनामा कोरोना संक्रमण पुष्टि भयो । शनिबार र आइतबार पनि एक/एक जना नयाँ संक्रमित थपिएका छन् । भारतबाट घर फर्किनेको संख्या बढेसँगै जिल्लामा नयाँ संक्रमित थपिने क्रम पनि बढेको छ ।

भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि रोजगारीमा गएकाहरू घर फर्किन थालेका हुन्, जसका कारण संक्रमणको जोखिम थपिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । आइतबार मात्रै गड्डाचौकी नाकाबाट करिब ७ सय जना भित्रिए । यो नाकाबाट दिनहुँ ६/७ सयको संख्यामा नेपाली फर्किरहेका छन् । गड्डाचौकी नाकामा गरिएको एन्टिजिन परीक्षणमा हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको छ । भारतको दिल्ली, महाराष्ट्र, गुजरात र पञ्जाबलगायत क्षेत्रबाट आउनेहरूको एन्टिजिन परीक्षण भइरहेको छ । 

दैनिक एक/डेढ सय जनाको एन्टिजिन परीक्षण गर्दा एक/दुई जनामा संक्रमण पुष्टि भइरहेको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले बताए । उनका अनुसार कोरोना पोजिटिभ देखिएकाहरूसँगै आएकालाई १० दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने गरिएको छ । कञ्चनपुरमा हालसम्म १६ हजार ५ सय १७ जनामा नमुना परीक्षण गरिएकामध्ये १७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमित थपिए पनि जिल्लामा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनमा भने चासो पुगेको छैन । महाकाली अस्पतालमा ५० बेडको आइसोलेसन मात्रै छ । जिल्लामा क्वारेन्टाइन कतै छैन । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले भारतबाट सर्वसाधारण फर्किने क्रम बढेपछि जोखिम पनि बढेको बताए । उनका अनुसार अहिले जिल्लामा १७ जना सक्रिय संक्रमित छन् । दुई जना महाकाली अस्पतालको आइसोलेसनमा र अन्य होम आइसोलेसनमा छन् । 

यही क्रममा संक्रमित थपिए आइसोलेसन र क्वारेन्टाइनको अभाव हुने देखिएको छ । ‘केन्द्रबाट कुनै निर्देशन आएको छैन, अब संक्रमित बढ्न थालेपछि यसतर्फ सोच्छौं,’ जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘पालिकाहरूले बनाएका आइसोलेसनहरू पनि अन्य प्रयोजनमा प्रयोग भइरहेका छन् ।’ 

कोरोना खोपकोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully