कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर प्रदेश र महाराष्ट्रमा संक्रमण तीव्र

एजेन्सी

नयाँदिल्ली — भारतको सीमावर्ती राज्य उत्तरप्रदेशमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । पछिल्ला दिनहरूमा उत्तर प्रदेशमा दैनिक संक्रमित हुनेको संख्या दुई हजारभन्दा बढी छ । 

उत्तर प्रदेश र महाराष्ट्रमा संक्रमण तीव्र

गएको एक दिनमा मात्रै २ हजार ४ सय २३ जना संक्रमित थपिएका छन् । यो सँगै त्यहाँ हालसम्म कुल संक्रमितको संख्या ६ लाख २५ हजार ९ सय २३ पुगेको छ । शनिबार संक्रमित हुनेको संख्या २ हजार ९ सय ५३ थियो । उत्तर प्रदेशसँग नेपालको ५ सय ५१ किलोमिटरभन्दा लामो सीमा जोडिएको छ ।

खुला सीमाबाट हुने मानिसहरूको अनियन्त्रित आउजाउका कारण उत्तर प्रदेशमा संक्रमण बढ्दा नेपालमा पनि जोखिम उत्तिकै बढेको छ । कोरोना संक्रमण तीव्र बनेपछि भारतको सीमावर्ती राज्य उत्तर प्रदेशमा त्यहाँको राज्य सरकारले २९ चैतसम्मका लागि सबै स्कुलहरू बन्द गर्ने निर्णय गरेको छ । नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शनिबार उच्च अधिकारीहरूसँगको भेटपछि त्यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विगत केही दिनयता उत्तर प्रदेशसँगै भारतका महाराष्ट्र, दिल्ली, गुजरात, आन्ध्र प्रदेश, मध्य प्रदेश, केरलालगायत राज्यमा संक्रमण तीव्र बनेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार ९३ हजार २ सय ४९ संक्रमित थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २४ लाख ८५ हजार ५ सय ९ पुगेको छ ।

त्यसमध्ये १ करोड १६ लाख २९ हजार निको भइसकेको जनाइएको छ । भाइरसको संक्रमणका कारण गएको चौबीस घण्टामा ५ सय १३ जनाको मृृत्यु भएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १ लाख ६४ हजार ६ सय २३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

विगत केही दिनयता विशेषगरी महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटक, तमिलनाडु, केरला, आन्ध्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेशलगायत राज्यमा संक्रमण तीव्र बनेको छ । संक्रमण फैलिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महारमारीबाट बच्न जनचेतना र सामुदायिक सक्रियता आवश्यक भएको बताएका छन् । त्यसका लागि सरकारले परीक्षण, ट्रेसिङ, उपचार, कोभिडमैत्री व्यवहार र खोप कार्यक्रमलाई प्रभावकारी पारिने बताएका छन् । पछिल्लो समय महाराष्ट्रमा संक्रमण उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ४९ हजार ४ सय ४७ संक्रमित थपिएका छन् । तीमध्ये ११ हजार ६ सय ४३ संक्रमित मुम्बईका छन् । योसँगै महाराष्ट्रमा संक्रमित संख्या २९ लाख ५३ हजार नाघेको छ । महाराष्ट्रमा २४ लाख ९५ हजारभन्दा बढी संक्रमित निको भइसकेको जनाइएको छ ।

महाराष्ट्र सरकारले साँझ ८ देखि बिहान ७ बजेसम्म एक साताका लागि लकडाउन घोषणा गरेको छ । यसअघि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले संक्रमण फैलने क्रम नरोकिए लकडाउन गर्ने चेतावनी दिएका थिए । संक्रमण बढेपछि उडिसाले पनि विभिन्न १० जिल्लामा राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ । महाराष्ट्र राज्यका मुम्बई, पुने, नासिकलगायत सहरी क्षेत्रमा नेपाली कामदारहरू बढी रहेको पाइन्छ । नेपाली कामदारहरू सबैभन्दा बढी रहेको राजधानी दिल्ली पनि बढ्दो संक्रमणबाट अछुतो छैन । आइतबार मात्रै दिल्लीमा ११ हजार ६० जना संक्रमित थपिएका छन् । हालसम्म दिल्लीमा ६ लाख ७२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

संक्रमण तीव्र बनेसँगै लकडाउन हुने त्रास बढेको छ । तर, दिल्ली सरकारले तत्काल लकडाउन गर्ने योजना नरहेको जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार स्वास्थ्य अधिकारीहरूसँगको छलफलपछि तत्काल लकडाउन गर्ने योजना नरहेको बताएका हुन् । ‘संक्रमण तीव्र रूपमा बढिरहेको छ तर आत्तिनु पर्दैन । सरकारले स्थितिलाई नजिकबाट हेरिरहेको छ । तत्काल लकडाउन गर्ने विचार गरेको छैन,’ केजरीवालले भनेका थिए ।

प्रकाशित : चैत्र २३, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?