सिरमको खोप निर्यातमा सरकारद्वारा अस्थायी रोक, भारतीय अधिकारीद्वारा खोप नदिएको विषयमा बोल्न अस्वीकार
नयाँदिल्ली — भारतले अग्रिम भुक्तानी बुझाइसकेको खोप कहिले पठाउँछ भन्ने अझै प्रस्ट हुन नपठाउँदा नेपालको खोप कार्यक्रम नै अवरुद्ध भएको छ । नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटलाई २० लाख डोजको ८० प्रतिशत रकम अग्रिम भुक्तानी गरेको थियो ।
तर, सिरमले हालसम्म १० लाख मात्रा पठाएको छ । बाँकी १० लाख कहिले पठाउने भन्नेमा अन्योल कायमै छ । नेपाल सरकारले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको र सिरमले उत्पादित कोभिसिल्डका लागि भुक्तानी दिएको हो । तर सिरमले प्रतिबद्धताअनुसार बाँकी खोप समयमै नपठाउँदा नेपालको खोप कार्यक्रम नै अवरुद्ध हुन पुगेको हो ।
नेपालमा माघ १४ देखि खोप कार्यक्रम सुरु गरिएको थियो । सरकारले पहिलो चरणमा फ्रन्ट लाइनर र दोस्रो चरणमा ६५ वर्षमाथिका उमेरका खोप लगाउने योजना बनाएको थियो । दोस्रो चरणअन्तर्गत १० दिनमा १७ लाख २२ हजारभन्दा बढीले खोप लगाए । त्यसपछि भने ५५ वर्षभन्दा माथि र ६४ वर्षसम्मका लागि लगाउने योजना थियो । सुरुको भारतबाट अनुदानमा प्राप्त १० लाख, सिरमबाट खरिद सम्झौता भएको २० लाख, विश्व स्वास्थ्य संगठनको कोभ्यास अनुदानअन्तर्गतको ३ लाख ४८ हजार मात्राका हिसाबले सरकारले खोप अभियान अघि सारेको थियो । तर, सिरमले दोस्रो खेप नपठाउँदा पूरै अभियान नै अवरुद्ध हुन पुगेको छ । अब पहिलो चरणमा खोप लगाएका करिब ४ लाख ७५ हजारका लागि चाहिने दोस्रो डोजका लागि मात्र खोप बाँकी छ ।
खोप पठाउन भएको ढिलाइको विषयमा नेपालको अधिकारीेले सिरम, भारतको स्वास्थ्यदेखि परराष्ट्र मन्त्रालयसम्म धेरैपटक छलफल गरिसकेका छन् । तर, कसैबाट पनि प्रस्ट जवाफ पाएका छैनन् । नेपाली पक्षले ताकेता गरेपछि सिरमले ३ मार्चमा बाँकी १० लाख डोज पनि समयमा दिन नसक्ने बरु पैसा नै फिर्ता गर्ने आशयसहितको पत्र पठायो । सिरमका तर्फबाट त्यस्तो पत्र आएपछि खोप कार्यक्रम नै अवरुद्ध हुने आंशका बढेर गयो ।
त्यसपछि स्वास्थ्य मन्त्रालयले सिरमका अधिकारीहरूसँगको छलफलमा यदि सम्झौताबमोजिम समयमा खोप नपठाए कम्पनीविरुद्ध मुद्दा हाल्ने र यसलाई दिइएको लाइसेन्स खारेज गर्ने चेतावनी दिए । त्यसपछि भने सिरमले फेरि दुई साताको भाका दियो । तर, उक्त भाका नाघेको समेत दुई साता बितिसकेको छ । यस विषयमा कान्तिपुरले सम्पर्क गर्दा सिरमका इन्टरनेसनल बिजनेस निर्देशक पराग देशमुखले केही बोल्न चाहेनन् । उनले आफूलाई बोल्ने अधिकार नभएको भन्दै पन्छिए । त्यसैगरी भारतको विदेश मन्त्रालयका अधिकारीहरूले पनि प्रतिक्रिया दिन अस्वीकार गरे ।
खोप आपूर्तिका लागि भन्दै नेपाली पक्षले धेरैपटक औपचारिक पत्रसमेत पठाइसकेको छ । २१ मार्चमा परराष्ट्र मन्त्रालयले विदेश मन्त्रालयलाई फेरि अर्को पत्र लेखेको थियो । जसमा सिरमलाई खोप आपूर्तिका लागि भनिदिन आग्रह गरिएको छ ।
यसैबीच, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतीय समकक्षी डा. हर्षबर्धनसँग पनि खोपकै विषयमै कुरा गरेका जनाइएको छ । हर्षबर्धनले प्राथमिकतामा राखेका छौं भन्ने बनिबनाउ जवाफ दिएको स्रोतको दाबी छ । दूतावास अधिकारीहरूले खोपका लागि सिरमसँग मात्र नभएर नीति आयोग, विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग पनि ताकेता गर्दै आएका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि सम्झौताअनुसार खोप आपूर्तिका लागि पहल भइरहेको बताउँछन् । ‘दूतावासका तर्फबाट हामीले पहल गरिरहेका छौं । खुला सीमा भएका कारण पनि खोप कार्यक्रम निरन्तरता पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ आचार्यले भने । उनले भारतीय पक्षबाट बाँकी खोप चाँडै आपूर्ति हुने आश्वासन पाएको बताए । नेपाली अधिकारीहरूले खोपबारे चासो राख्दा सिरमले आफू उत्पादक मात्र भएकाले भारत सरकारको निर्णयअुनसार चल्ने बताउने गरेको छ ।
यसैबीच, भारत सरकारले सिरमद्वारा उत्पादित कोभिसिल्ड खोप निर्यातमा अस्थायी रोक लगाएको छ । केही सातायता भातरमा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेकाले दुई महिनाका लागि निर्यातमा रोक लगाउने निर्णय लिइएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतले निर्यातमा रोक लगाएको खण्डमा नेपाल पठाउन बाँकी खोप पनि रोकिनेछ । तर राजदूत आचार्य पनि अरू मुलुकका लागि निर्यात रोकिए पनि नेपालका हकमा खुला रहने विश्वास व्यक्त गर्छन् ।
