कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बहराइनको खोपले राजदूत सुन्दास छानबिनमा

बहराइनका राजकुमार सम्मिलित टोलीले ल्याएको खोप अस्ट्राजेनेकाको भनेर दूतावासले विज्ञप्ति निकाले पनि सिनोफार्मको रहेको पाइयो ।

काठमाडौँ — सगरमाथा आरोहण गर्न १२ दिनअघि काठमाडौं उत्रिएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल–खालिफासहितको समूहले ल्याएको कोरोनाविरुद्धको खोपको ‘प्रमाणिकता’ विवादास्पद बनेपछि बहराइनस्थित नेपाली राजदूत पदम सुन्दास अनुसन्धानमा तानिएका छन् ।

बहराइनको खोपले राजदूत सुन्दास छानबिनमा

बहराइनको टोली नेपाल हिँडेपछि त्यहाँस्थित नेपाली दूतावासले आफ्नो वेबसाइट मार्फत जारी गरेको विज्ञप्तिमा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ मा रहेका जनताका लागि कोरोना प्रतिरोधी खोप लगाइने उल्लेख गरिएको छ । टोलीले २ हजार भाइल ‘अस्ट्राजेनेका’ खोप साथमा रहेको दूतावासले विज्ञप्ति जारी गरे पनि उक्त खोप तोकेबमोजिम नपाइएको अनुसन्धानमा भेटिएको छ ।

यो विज्ञप्ति अझै पनि बहराइनस्थित नेपाली दूतावासको वेबसाइटमा छ । ‘तर नेपाल ल्याइएको खोप चिनियाँ सिनोफार्म कम्पनीको भन्ने थाहा भएको छ,’ परराष्ट्रका एक अधिकारीले भने । थाहै नभएको विषयमा विज्ञता देखाउन वा हतारमा कूटनीतिक प्रभाव–पहुँच देखाउन म्यानमास्थित दूतावासले गलत सूचनाको विज्ञप्ति जारी गरेको आशंकामा राजदूत सुन्दास अनुसन्धानमा परेका हुन् ।

राजदूत सुन्दासले भने उड्ने अघिल्लो दिन (१३ मार्च) मा मात्रै नेपाल जान लागेको र साथमा कोरोना प्रतिरोधी खोप लैजान लागिएको जानकारी आएको बताए । ‘हामीले यसबारे १४ तारिखमा परराष्ट्र मन्त्रालयमा जानकारी गरायौं । त्यहाँबाट स्वास्थ्य मन्त्रालय हुँदै खोपबारे सूचना प्रवाह नहुँदा समस्या जन्मिएको हो,’ उनले कान्तिपुरलाई भने । राजनीतिक आधारमा तत्कालीन माओवादीका समर्थक सुन्दासको राजदूत पदावधि पूरा हुन अब ४ महिना मात्रै बाँकी छ ।

संवेदनशील र मानवीय गम्भीर स्वास्थ्य स्थितिमाझ प्रयोग गर्नुपर्ने खोपका विषयमा परराष्ट्र मन्त्रालयसहितको अनुमति लिनुपर्नेमा त्यसो नगरेको पनि पाइएको छ । ‘हाम्रो स्वीकृतिबिनै खोप आएपछि हामीले छानबिन थालेका थियौं, यो त सिनोफार्मको खोप पो रहेछ,’ औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भने, ‘खोपलाई निगरानीमा राखेका छौं ।’ खोप त्रिभुवन विमानस्थलको भण्डारण (कोल्डचेन) मा राखिएको स्रोतले जनाएको छ ।

विभागले अहिलेसम्म सिनोफार्म र कोभिसिल्डको खोप आयात गर्न अनुमति दिएको छ । त्यसमा पनि सिनोफार्म खोप अनुदानको मात्रै ल्याउन पाइन्छ । बहराइनका राजकुमारले अनुमतिबिनै खोप ल्याएको सूचना बाहिर चुहिएपछि मन्त्रालयले छानबिन गर्न विभागलाई निर्देशन दिएको थियो । विभागले छानबिन गरी मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको जनाएको छ । ‘खोप प्रयोग गर्ने/नगर्नेबारेमा कुनै निर्णय भएको छैन,’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

नेपाल र नेपालीको सहयोगका लागि कोरोनाविरुद्धको खोप लिएर काठमाडौं उत्रँदा विमानस्थलमा स्वास्थ्य सेवा विभाग, नेपाली सेनासहितका पदाधिकारी उपस्थित नभएको देखेर बहराइन राजपरिवार रुष्ट भएको ‘ब्रिफिङ’ परराष्ट्र मन्त्रालयमा पुगेपछि समस्या थप जटिल बनेको छ । ‘भ्याक्सिनबारेको यो विवाद किन उब्जियो ? हामीले नेपाली नियोगमा सूचना दिएकै थियौं त,’ राजपरिवारका सदस्यले यसरी जनाएको असन्तुष्टिबारे बहराइनको म्यानमास्थित नेपाली दूतावास पनि जानकार भइसकेको छ ।

प्रकाशित : चैत्र १३, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?