बहराइनको खोपले राजदूत सुन्दास छानबिनमा

बहराइनका राजकुमार सम्मिलित टोलीले ल्याएको खोप अस्ट्राजेनेकाको भनेर दूतावासले विज्ञप्ति निकाले पनि सिनोफार्मको रहेको पाइयो ।

चैत्र १३, २०७७

मकर श्रेष्ठ, देवेन्द्र भट्टराई

काठमाडौँ — सगरमाथा आरोहण गर्न १२ दिनअघि काठमाडौं उत्रिएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल–खालिफासहितको समूहले ल्याएको कोरोनाविरुद्धको खोपको ‘प्रमाणिकता’ विवादास्पद बनेपछि बहराइनस्थित नेपाली राजदूत पदम सुन्दास अनुसन्धानमा तानिएका छन् ।

बहराइनको टोली नेपाल हिँडेपछि त्यहाँस्थित नेपाली दूतावासले आफ्नो वेबसाइट मार्फत जारी गरेको विज्ञप्तिमा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ मा रहेका जनताका लागि कोरोना प्रतिरोधी खोप लगाइने उल्लेख गरिएको छ । टोलीले २ हजार भाइल ‘अस्ट्राजेनेका’ खोप साथमा रहेको दूतावासले विज्ञप्ति जारी गरे पनि उक्त खोप तोकेबमोजिम नपाइएको अनुसन्धानमा भेटिएको छ ।

यो विज्ञप्ति अझै पनि बहराइनस्थित नेपाली दूतावासको वेबसाइटमा छ । ‘तर नेपाल ल्याइएको खोप चिनियाँ सिनोफार्म कम्पनीको भन्ने थाहा भएको छ,’ परराष्ट्रका एक अधिकारीले भने । थाहै नभएको विषयमा विज्ञता देखाउन वा हतारमा कूटनीतिक प्रभाव–पहुँच देखाउन म्यानमास्थित दूतावासले गलत सूचनाको विज्ञप्ति जारी गरेको आशंकामा राजदूत सुन्दास अनुसन्धानमा परेका हुन् । 

राजदूत सुन्दासले भने उड्ने अघिल्लो दिन (१३ मार्च) मा मात्रै नेपाल जान लागेको र साथमा कोरोना प्रतिरोधी खोप लैजान लागिएको जानकारी आएको बताए । ‘हामीले यसबारे १४ तारिखमा परराष्ट्र मन्त्रालयमा जानकारी गरायौं । त्यहाँबाट स्वास्थ्य मन्त्रालय हुँदै खोपबारे सूचना प्रवाह नहुँदा समस्या जन्मिएको हो,’ उनले कान्तिपुरलाई भने । राजनीतिक आधारमा तत्कालीन माओवादीका समर्थक सुन्दासको राजदूत पदावधि पूरा हुन अब ४ महिना मात्रै बाँकी छ ।

संवेदनशील र मानवीय गम्भीर स्वास्थ्य स्थितिमाझ प्रयोग गर्नुपर्ने खोपका विषयमा परराष्ट्र मन्त्रालयसहितको अनुमति लिनुपर्नेमा त्यसो नगरेको पनि पाइएको छ । ‘हाम्रो स्वीकृतिबिनै खोप आएपछि हामीले छानबिन थालेका थियौं, यो त सिनोफार्मको खोप पो रहेछ,’ औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भने, ‘खोपलाई निगरानीमा राखेका छौं ।’ खोप त्रिभुवन विमानस्थलको भण्डारण (कोल्डचेन) मा राखिएको स्रोतले जनाएको छ ।

विभागले अहिलेसम्म सिनोफार्म र कोभिसिल्डको खोप आयात गर्न अनुमति दिएको छ । त्यसमा पनि सिनोफार्म खोप अनुदानको मात्रै ल्याउन पाइन्छ । बहराइनका राजकुमारले अनुमतिबिनै खोप ल्याएको सूचना बाहिर चुहिएपछि मन्त्रालयले छानबिन गर्न विभागलाई निर्देशन दिएको थियो । विभागले छानबिन गरी मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको जनाएको छ । ‘खोप प्रयोग गर्ने/नगर्नेबारेमा कुनै निर्णय भएको छैन,’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

नेपाल र नेपालीको सहयोगका लागि कोरोनाविरुद्धको खोप लिएर काठमाडौं उत्रँदा विमानस्थलमा स्वास्थ्य सेवा विभाग, नेपाली सेनासहितका पदाधिकारी उपस्थित नभएको देखेर बहराइन राजपरिवार रुष्ट भएको ‘ब्रिफिङ’ परराष्ट्र मन्त्रालयमा पुगेपछि समस्या थप जटिल बनेको छ । ‘भ्याक्सिनबारेको यो विवाद किन उब्जियो ? हामीले नेपाली नियोगमा सूचना दिएकै थियौं त,’ राजपरिवारका सदस्यले यसरी जनाएको असन्तुष्टिबारे बहराइनको म्यानमास्थित नेपाली दूतावास पनि जानकार भइसकेको छ ।

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully