रूपन्देहीको बेलहिया नाकामा सुरक्षा र स्वास्थ्य जाँचका लागि उपकरण र अन्य सामग्री अभाव
बेलहिया, रूपन्देही — भारतमा कोरोना संक्रमण उच्च भइरहेका बेला नाकामा भने स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन । बिहीबार रूपन्देहीको बेलहिया नाकामा पुग्दा अधिकांश सर्वसाधारणले मास्क लगाउन नै अटेर गरेको पाइएको छ भने सामाजिक दूरी कायम हुन सकेको देखिएन ।
सर्वसाधारणमा कोरोना संक्रमणबाट जोगिनेभन्दा छिटो नाका पार गर्ने चिन्ता थियो । भारतपट्टि सीमा सुरक्षा बल (एसएसबी) ले लाइन बसेका सर्वसाधारणसित सोधपुछ गर्दै आएका छन् । त्यहाँ शंकास्पद व्यक्तिलाई हेल्थ डेस्कमा पठाएर ज्वरो नाप्ने गरिएको छ । संक्रमण बढेको खबरपछि मुलुकतर्फ आउने सर्वसाधारणको ज्वरो नाप्ने र नामावली संकलन सुरु गरिएको छ ।
सीमामा खटिएका नेपाली प्रहरीले मास्क लगाउन अनिवार्य गरिरहेका थिए । केहीले आग्रह स्विकारेका थिए । तर, धेरै जना अटेर गर्दै यात्रा गरिरहेका थिए । प्रहरीले भनेपछि धेरैले गोजीमा राखेको मास्क निकालेर लगाउने गरेका थिए । बिहाबारीका लागि भारतबाट मुलुकतर्फ आउने हूल धेरै थिए । त्यस्तो समूहका धेरै महिलाले नाकामा आएपछि साडीको सप्कोले मुख छोपेर हिँडेका थिए । लाइन बस्न झन्झट मान्नेहरू चोर बाटोबाट सीमा पार गरिरहेका थिए । नेपाली बजारबाट छोकडा, नरिवललगायत भारत पुर्याउने र उताबाट टुथपेस्ट, अगरबत्ती, चिनी यहाँ ओसारेर बेच्ने समूहलाई रोकटोक थिएन ।
चर्को घाममा लाइन लाग्ने धेरै सीमावर्ती सुनौली बजारमा घरायसी सामान किनमेलका लागि गइरहेका थिए । सुनौलीबाट १/२ किलो चिनी र चियापत्ती खरिद गर्न जाने धेरै भेटिए । बिहीबार केही घण्टा नाकामा बसेर निगरानी गर्ने क्रममा भारतीय एसएसबीले जाँचका लागि कुकुर प्रयोग गरी नेपाल प्रवेश गर्नेका झोला जाँच गरिरहेका थिए । एसएसबीले नेपाली नागरिकतालगायत सरकारी कागजातबिना प्रवेशमा कडाइ गरिरहेका छन् । भारततर्फ गरिएको कडाइले नेपाल प्रहरीलाई राहत मिलेको छ । यहाँ प्रहरी र स्वास्थ्यकर्मीलाई सुरक्षा र स्वास्थ्य जाँचका लागि उपकरण र आवश्यक सामग्री अभाव छ ।
स्याङ्जाको पुतलीबजारका १८ वर्षीय विशाल मोची केही साथीसहित भारततर्फ जाँदै थिए । भारतीय सेनामा भर्ती हुने रहर भएकाले परीक्षा दिन गोरखपुर जान लागेको उनले बताए । ‘पैसा कमाउन पाए भयो,’ उनले भने, ‘कोरोना अहिलेसम्म लागेको छैन, नलाग्दासम्म डर पनि छैन ।’
यसअघि सञ्चालन भएको छनोट परीक्षा भारतको नौतनवाबाट उत्तीर्ण भइसकेको र अन्तिम परीक्षाका लागि गोरखपुर हिँडेको उनले बताए । स्याङ्जाकै शिव मानन्धर चार वर्षपछि बिदा मनाउन बेलहिया नाका हुँदै मुलुक प्रवेश गरे । पोखरा घर भई मुम्बईमा होटलमा काम गर्ने उनले भारतीय बजारमा मानिसले कोरोनाको डर मान्न छोडेको बताए । ‘उता त न कडाइ छ, न डर,’ उनले भने, ‘यही नाकामा देखें यत्तिको जाँच ।’ नाकामा मानिसको बाक्लो उपस्थिति र बिनामास्क आवतजावतले कोरोना महामारी पहिलेजस्तै फैलिन सक्ने उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका तीन कर्मचारी पालैपालो सीमामा खटिने गरेका छन् । उनीहरू ज्वरो नाप्छन् । सँगै बसेका प्रहरीले तथ्यांक संकलन गर्छन् । प्रहरीको तथ्यांकअनुसार नाका हुँदै अहिले दिनहुँ ६ हजारको संख्यामा ओहोरदोहोर गर्छन् । दैनिक ३ हजार ५ सयको ज्वरो परीक्षण गरी पठाउने गरेको सिद्धार्थनगर नगरपालिकाका अहेव अनिलकुमार यादवले बताए । ‘गत वर्षदेखि नाकामै छौं,’ उनले भने, ‘बीचमा सवारीसाधनका चालक र सहचालकको ज्वरो मात्र जाँच गरिन्थ्यो, १० दिन भयो, सबैको सुरु गरिएको छ ।’
उनका अनुसार नेपाल प्रवेश गर्ने ८० प्रतिशत भारतीय भैरहवास्थित रण अम्बिका आँखा अस्पतालमा आँखा जँचाउन आउने हुन्छन् । त्यस्तै, २० प्रतिशत बिदामा मुलुक आउने र चिनीलगायत उपभोग्य वस्तु किनेर फर्कनेहरू पनि त्यत्तिकै हुन्छन् । हेल्थ डेस्कमा जाँच गर्न बोलाउँदा नजिकैदेखि आएको र भर्खरै फर्किने हो भन्नेहरूको कमी नभएको यादवले बताए ।
भन्सार कार्यालयले सामग्री जाँच गर्ने भएकाले आफूहरूले केही गर्न नमिल्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । ‘प्रशासनले निर्देशन दिनेबित्तिकै हामीले कडाइ गर्न थालिहाल्छौं,’ उनले भने, ‘अहिले नियमित काम गरिरहेका छौं ।’ किनमेलका लागि पारि जानेलाई रोकेमा नागरिकको घुइँचोले २/३ घण्टामै विरोध गर्ने उनले बताए । सामान्य किनमेलका लागि स्थानीय पारि नगए जोखिम स्वतः कम हुने उनको भनाइ छ ।
सबै पालिका र सम्बन्धित निकायसँग कोरोनाको दोस्रो लहरबाट बच्न अपनाउनुपर्ने उपायका विषयमा बैठक बस्ने तयारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । ‘कार्यक्रम जुधेर बैठक रोकिएको छ,’ उनले भने, ‘शुक्रबार बस्नेछौं ।’ सीमावर्ती भारतीय बजारमा गएर घरायसी सामान किन्नेलाई पूर्ण रूपमा रोक लगाउन निर्देशन दिएको उनले दाबी गरे ।
हेल्थ डेस्कमा ज्वरो जाँच गर्ने, ज्वरो आएको खण्डमा अर्को हेल्थ डेस्कमा आरडीटी परीक्षण गरिने र कोरोना देखिएमा सिद्धार्थनगर नगरपालिकाले तयार गरेको आइसोलेसनमा राख्ने व्यवस्था मिलाइसकेको उनको भनाइ छ । घिमिरेका अनुसार परीक्षणमा नेगेटिभ आएकालाई सम्बन्धित पालिकासँग छलफल गरी १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने प्रावधान तयार गरी सूचना पठाइएको छ ।
