सुरक्षित र प्रभावकारी प्रमाणित नभएसम्म कोरोना खोप प्रयोगमा ल्याउनु हुँदैन : डाक्टर फौची

चुनावी फाइदाका लागि ट्रम्पले अमेरिकी नागरिकको जीवन खतरामा पार्दैछन् : डेमोक्र्याटिक पार्टी
एजेन्सी

वासिङ्टन — अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले हतारमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउन नहुने बताएका छन् । कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी छ भन्ने कुराको सुनिश्चित नगरी प्रयोगमा ल्याउन नहुने उनले बताएका हुन् । 

सुरक्षित र प्रभावकारी प्रमाणित नभएसम्म कोरोना खोप प्रयोगमा ल्याउनु हुँदैन : डाक्टर फौची

समाचार संस्था रोयटर्ससँगको कुराकानीमा डाक्टर फौचीले परीक्षणको मापदण्ड र चरण पूरा नगरी खोप प्रयोगमा ल्याउँदा अन्य खोपको विकासमा यसले असर पुऱ्याउने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण रुपमा परीक्षण नहुँदै खोप प्रयोगमा ल्याउन दबाब दिएको बताइएको छ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावलाई मध्यनजर गर्दै ट्रम्पले अमेरिकी स्वास्थ्य अधिकारी र वैज्ञानिकहरुलाई छिटो खोप प्रयोगमा ल्याउन दबाब दिइरहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पले चुनावी फाइदाका लागि अमेरिकी नागरिकको जीवन नै खतरामा पार्ने कदम चालिरहेको डेमोक्र्याटिक पार्टीले आरोप लगाएको छ ।

शनिबार मात्र राष्ट्रपति ट्रम्पले खाद्य तथा औषधि प्रशासन(एफडीए) ले खोप विकास गरिरहेका कम्पनीलाई अप्ठेरोमा पारेको आरोप लगाएका थिए । फाइनान्सियल टाइम्सका अनुसार ट्रम्प प्रशासनले अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोप र एस्ट्राजेनेकाले बनाएको औषधिका लागि आपत्कालीन प्रयोगको अनुमति दिन हतार गरिरहेको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको जीवन बचाउनका लागि जतिसक्दो चाँडो खोप प्रयोगमा ल्याउनुपर्ने बताएका छन् ।

तर अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ् एलर्जी एन्ड इन्फेक्सियस डिजिजेज’ का प्रमुखसमेत रहेका डाक्टर फौची पूर्ण रुपमा सुरक्षित भएको प्रमाणित नभएसम्म कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउन नहुने बताएका छन् ।

‘खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित नहुँदै आपत्कालीन प्रयोगको अनुमति दिनु राम्रो कुरा होइन,’ उनले भने, ‘यदि तपाईँले पूर्ण परीक्षणबिना खोप प्रयोगमा ल्याउनु भयो भने यसले अरु खोप निर्माणमा असर पुग्छ । अरु खोपको परीक्षणमा मानिसहरुलाई सहभागी गराउन पनि समस्या हुनेछ ।’ उनले अगाडि भने, ‘खोप सुरक्षित र प्रभावकारी छ भन्ने कुराको सुनिश्चित गर्नु नै मेरा लागि सर्वोपरी कुरा हो ।’

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ५७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै कोरोनाबाट अमेरिकामा एक लाख ७७ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब २० लाख निको भएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ९, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?