भरतपुर अस्पतालको आइसोलेसनबाट एक जना संक्रमित भागे

भाद्र ९, २०७७

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमित भइ भरतपुरको सरकारी अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा रहेका एकजना व्यक्ति अस्पतालबाट भागेका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आज मंगलबार बिहान सात बजे उनी भागेको जानकारी अस्पताललाई प्राप्त भएको थियो ।

भरतपुर ठेगना भएका १९ वर्षीय ती युवक संक्रमित प्रमाणित भएपछि भदौ ६ गते शनिबार अस्पताल आएका थिए ।

‘हामीले प्रहरीसँग समन्वय गरेर खोजी कार्य तीव्र बनाएका छौं । बिहान उनी नभएको खबर प्राप्त भएपछि खोजीमा प्रहरी जुटीसकेको छ’ सूचना अधिकारी पौडेलले भने । भरतपुर अस्पतालको आइसोलेसनमा हाल ६८ जना संक्रमितहरु रहेको पौडेलले बताए ।

चितवनमा सोमबार रातिसम्मको विवरणमा चितवनमा संक्रमितको संख्या ३८५ पुगेको छ । तीमध्ये १२६ जना मात्रै निको भएका छन् ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully